कपुरधारामा किरियापुत्री भवन निर्माण

कपुरधारामा किरियापुत्री भवन निर्माण


काठमाडौँ महानगरपालिका—२६ स्थित कपुरधारामा किरियापुत्री भवन निर्माण गरिएको छ ।

रु १४ लाख लागतमा सो भवन निर्माण गरिएको जनाएको छ । काठमाडौँ क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले सांसद विकास कोषबाट दिएको रकम र स्थानीय बासिन्दाबाट संकलन गरिएको रकमबाट दुईकोठे भवन निर्माण गरिएको हो ।

भवनको आज उद्घाटन गर्दै सांसद प्रधानले काठमाडौँभित्र रहेका सांस्कृतिक सम्पदा मासिन थालेकोमा चिन्ता व्यक्त गरे ।

आफ्नो संस्कृतिलाई बचाउन सबै लाग्नुपर्छ, उनले भने, “काठमाडौँ क्षेत्र नं ६ को विकास र विस्तारका लागि म निरन्तर लाग्नेछु, यसमा तपाईंहरुको सहयोग आवश्यक छ ।”

बर्दिया क्षेत्र नं २ का सांसद सञ्जय गौतमले किरियापुत्री भवन बनाएर राम्रो काम भएको बताउँदै आफूले पनि यस्ता सामाजिक कामलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले किरियापुत्री भवन समाजका लागि महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै स्थानीय तहको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कामनपा वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले सामाखुशी, गोँगबु र ठमेल क्षेत्रभित्रको बाटोघाटो, पुल, मठमन्दिर, धारा निर्माणलगायतका काममा महानगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ भने ।