प्योङयाङ र वासिङटनबीच पुनः तनाव बढ्दै !

प्योङयाङ र वासिङटनबीच पुनः तनाव बढ्दै !


आणविक हतियारको निशस्त्रीकरणका सम्बन्धमा अमेरिकाले दबाबजन्य व्यवहार दर्शाएको भन्दै उक्त ‘अधैर्य व्यवहार’को उत्तर कोरियाले आलोचना गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको उत्तर कोरियाविरुद्ध पूर्ण आर्थिक नाकावन्दीका लागि दबाब कायम राख्नुपर्ने भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि उत्तर कोरियाको उक्त भनाई आएको हो ।

दक्षिणपूर्वी एसियाली मुलुकहरूको संगठन (आसियन)को सिङ्गापुरमा आयोजित सुरक्षा मञ्चमा उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो ले निशस्त्रीकरण योजनामा अमेरिकाको अधैर्य व्यवहार देखिएको बताएका हुन् ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा प्योङयाङले आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई जारी राखेको र जहाजबाट जहाजमा तेलको आपूर्ति गरी प्रतिबन्धलाई छल्न खोजेको आरोपबारे विवादास्पद भनाइ आएपछि प्योङयाङको यो भनाइ आएको एएफपीको भनाई छ ।

गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ऐतिहासिक वार्तापछि उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपलाई आणविक रूपले निशस्त्रीकरण गर्ने जटिल सम्झौता पालना गर्ने प्रतिवद्धता जनाएका थिए । अमेरिकाले राख्दै आएको पूर्ण, प्रमाणित हुने र फिर्ता नहुने गरी निशस्त्रीकरणको मागप्रति उत्तर कोरिया एक्कासी सकारात्मक बनेको थियो भने सम्झौताप्रति अमेरिकी अधिकारीहरूले सार्वजनिक वृत्तमै प्योङयाङ सम्झौताप्रति आवश्यक तयारीमा लागेको आशावादी विचारहरू प्रकट गर्न थालिसकेका थिए ।

तर केही राष्ट्रसंघका सदस्यहरूले नाकाबन्धीलाई लचिलो बनाएको र यसबाट उत्तर कोरियालाई निशस्त्रीकरणका लागि आवश्यक दबाब नपर्ने भन्दै वासिङ्टनले चासो व्यक्त गरेको थियो ।

कोरियाली विदेशमन्त्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, आफ्ना नेताहरूको सोचबाट टाढा रहेका बिषयलाई अमेरिकी पक्षबाट शङ्का गर्नु र आग्रहपूर्ण व्यवहारहरू आउनु दुभाग्यपूर्ण भएको छ । यो रोकिनु जरुरी छ । जुनमा भएको सम्झौतापछि प्योङयाङले आणविक तथा क्षेप्यास्त्र परीक्षणलाई रोकेको र आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्नेजस्ता ‘हार्दिकताका उपायहरू’ अवलम्वन गरेको उनको भनाइ थियो ।

तर अमेरिकाले यसप्रति सकारात्मक प्रतिक्रिया दिनुको सट्टा उत्तर कोरियाविरुद्धको प्रतिवन्ध कडा पार्नुपर्ने आवाजलाई वुलन्द पार्न थालेको आभास मिलेको छ । यसपहिले सोही मञ्चमा बोल्नुहुँदै अमेरिकी विदेशमन्त्री पोम्पेओले आफूहरूले उत्तर कोरियाविरुद्धको कुटनीतिक तथा आर्थिक दवावलाई कायम राख्नु महत्वपूर्ण भएको बताएका थिए ।

शनिबारको बैठकमा अमेरिकी प्रतिनिधिमण्डलले नेता किमलाई ट्रम्पले पठाएको चिठी विदेशमन्त्री रीलाई हस्तान्तरण गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । सम्मेलनका समय अमेरिकी विदेशमन्त्री पोम्पेओले रुसप्रति सङ्केत गर्दै प्रतिवन्धलाई तोड्दै उत्तर कोरियाली श्रमिकलाई मस्कोले काममा लगाएको पनि बताएका थिए ।