भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरी शनिबार ड्रोन आक्रमण भएको छ । सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उनलाई लक्षित गर्दै आक्रमण भएको थियो ।
सरकारले उक्त आक्रमणबाट राष्ट्रपति जोगिएको जनाउँदै आक्रमणमा परी सातजना सैन्य अधिकारीहरू घाइते भएको जनाएको छ । ‘यो राष्ट्रपति निकोलस मडुरोविरुद्धको आक्रमण हो,’ भेनेजुएलाका सञ्चारमन्त्री जर्ज रोड्रिगेजले भने ।
घटना हुँदा उक्त सैनिक कार्यक्रमको एक टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको थियो । राज्य–सञ्चालित टेलिभिजनले प्रसारण गरेको दृश्यमा विस्फोटको ठूलो आवाज सुनिएपछि राष्ट्रपति मडुरो त्रसित भएको र सैनिकहरूले उनलाई घेरा हालेका थिए भने भाषण सुनिरहेका सैनिक टुकडी तितरबितर भएका थिए ।
सञ्चारमन्त्री जर्जका अनुसार राष्ट्रपति बोलिरको मञ्चको छेउमै विस्फोट भएको थियो, र यस्ता विस्फोट त्यहीँनजिक अरू पनि भएका थिए । यसैबीच राष्ट्रपति मडुरोले कोलम्बियाका राष्ट्रपति हुआँ म्यानुअल सान्तोसले सो आक्रमण गर्न लगाएको आरोप लगाएका छन् ।
उनले भन्नुभएको छ, ‘यसमा मलाई कुनै द्विविधा छैन, यो घटना हुनुका पछाडि कोलम्बियाका राष्ट्रपतिको हात छ ।’ तर, कोलम्बिया सरकारले मडुरोको उक्त आरोपको खण्डन गरेको छ । आक्रमणपछि अहिले भेनेजुएलामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएको छ ।
प्रतिक्रिया