बंगलादेशमा आन्दोलन निस्तेज पार्न मोबाइल इन्टरनेट बन्द !

बंगलादेशमा आन्दोलन निस्तेज पार्न मोबाइल इन्टरनेट बन्द !


बंगलादेशमा भइरहेको विद्यार्थीको व्यापक प्रदर्शनले हिंसात्मक रूप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरूले जनाएका छन् ।

तीव्र गतिको एउटा सवारीसाधनको ठक्करबाट आफ्ना दुई साथीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै बंगलादेशको राजधानी ढाकाका कतिपय ठाउँमा विद्यार्थीले आन्दोलन चर्काइरहेका छन् ।

ढाकानजिकैको जिगाताला भन्ने ठाउँमा शनिबार भएको प्रदर्शनले उग्ररूप लिएपछि कम्तीमा सयजना घाइते भएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको थियो । घाइतेलाई उपचारका लागि नजिकका अस्पताल भर्ना गरिएको थियो ।

देशको सबैभन्दा बढी बिक्री हुने अखबार प्रोथोम आलोले पनि प्रदर्शनहरू हिंसात्मक भएसँगै शनिबार अबेरदेखि इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ ।