प्रदेश ५ मा तीन विधेयक सर्वसम्मत पारित

प्रदेश ५ मा तीन विधेयक सर्वसम्मत पारित


प्रदेश ५ मा आज बसेको प्रदेश सभाको बैठकले तीन विधेयक सर्वसम्मतले पारित गरेको छ ।

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक, प्रदेश ५ अन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ संशोधन गर्न बनेको विधेयक र प्रदेश ५ अन्तर्गतका गाउँसभा र नगरसभाको कानुन निर्माण प्रक्रियासम्बन्धी ऐन २०७५ संशोधन गर्न बनेको विधेयक सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको घोषणा गरे ।

यसअघि तीनवटै विधेयक प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभामा पेस गरेका थिए । विधेयकका विषयमा प्रदेश सभाका सदस्य चेतनारायण आचार्य, रमा अर्याल, कमलराज श्रेष्ठ, कुलप्रसाद पोखरेललगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रदेश सभाका सदस्यले राखेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थानीय तहमा रहेका कानुन निर्माणको अपूर्णतालाई पूर्णता दिइएको बताए ।