पाकिस्तानको तेहरिक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानलाई भोलि (सोमबार) औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने भएको छ ।
पार्टीका प्रवक्ता फवाद चौधरीले दिएको जानकारीअनुसार सोमबार बस्ने पार्टीको संसदीय दलको बैठकले खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्नेछ । पार्टीको संसदीय दलको बैठक सोमबार इस्लामाबादमा बोलाइएको छ ।
‘पार्टीका तर्फबाट निर्वाचित सबै नेतालाई सोमबारको बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ,’ उनले भने । उनले खानको नेतृत्वमा केन्द्रीय सरकार बनाउन आवश्यक पर्ने सांसदहरूको संख्या पुग्ने दाबी पनि गरे ।
पीटीआइका सांसद र स्वतन्त्र सांसद गरी संघीय संसदमा १२५ जना सांसद आफ्नो पक्षमा रहेको चौधरीको भनाइ छ । तर, संघीय संसदमा आफ्नो पार्टी, स्वतन्त्र र गठबन्धनमा रहेका पार्टीका गरी १७४ जना सांसद खानको पक्षमा रहेको पनि उनले जानकारी दिए । बलुचिस्तान नेसनल पार्टीका तीन सांसदले पनि खानको पक्षमा मतदान गर्नेछन् ।
पाकिस्तानमा गत जुलाई २५ मा भएको निर्वाचनबाट खानको पार्टी पीटीआइ सबैभन्दा ठूलो पार्टी भएपछि उनको नेतृत्वमा सरकार गठन गर्ने तयारी भएको हो । खानले मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया