कर्णालीका कानुनमन्त्री जाजरकोटको पहिरो निरीक्षणमा

कर्णालीका कानुनमन्त्री जाजरकोटको पहिरो निरीक्षणमा


जाजरकोटमा नौजनाको ज्यान जाने गरी हिजो (आइतबार) गएको पहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली आज पहिरो प्रभावित क्षेत्रमा गएको छ ।

आइतबार प्रदेशसभाको बैठकमा सभा सदस्यले जाजरकोट पहिरोको घटनाबाट पुगेको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका थिए । प्रभावित क्षेत्र भेरी नगरपालिका–३ जाजरकोट पुगेर आजै प्रतिपरिवार रु. २५ हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरिने मन्त्री भण्डारीले जानकारी दिए । ‘प्राविधिकसहितको टोली लिएर घटनास्थल जाजरकोट जाँदैछौँ, त्यहाँ पुगेर घटनाको विस्तृत अध्ययन गर्छौँ र पीडित परिवारका लागि राख्न लायकको ठाउँको छनोट गरी तत्काल बस्ने व्यवस्था मिलाउँछौँ,’ भण्डारीले भने । त्यसका साथै जोखिमस्थलको अनुगमन गरी त्यस क्षेत्रका घरपरिवारलाई पनि वैकल्पिक व्यवस्था मिलाइने कानुनमन्त्री भण्डारीले बताए ।

प्रभावित क्षेत्रको निरीक्षणमा जाने टोलीमा मन्त्री भण्डारीसहित जाजरकोटबाट निर्वाचित प्रदेश सभा सदस्यत्रय गणेशप्रसाद सिंह, कृष्णा शाह र कौशिलावती खत्री पनि रहेका छन् ।