भोटेकोसी– ५ का मात्रै १६१ महिला इराकमा !

भोटेकोसी– ५ का मात्रै १६१ महिला इराकमा !


सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चारजनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ ।

नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक गएका छन् । इराक जानेमा १६१ महिला रहेको माइती नेपालको जिल्ला संयोजक पवित्रा घिमिरेले बताइन् । माइती नेपालले प्रत्येक घरमा गएर हालै सर्वेक्षण गरेको थियो ।

गाउँपालिकाको सो वडामध्ये साविक मार्मिङ गाविस– ४ का छ्यादी, पाखरे र गोल्ची गाउँबाट ५२ महिला र ३० पुरुष इराक गएका छन् । यहाँ तामाङ र शेर्पा समुदायको बसोबास रहेको छ । सो गाउँमा बालबालिका र वृद्धवृद्धा मात्र घर रुँघेर बसेका छन् ।

एउटै घरबाट नन्द, भाउजू, देवरलगायत चारजनासम्म वैदेशिक रोजगारीमा गएका छन् । बुबाआमा वैदेशिक रोजगारीमा जाँदा बालबालिका खिन्न भएका पाइएको संयोजक घिमिरेले बताइन् । उक्त वडाबाट गत आवमा महिला र पुरुष गरी कुल ६९१ जना वैदेशिक रोजगारीमा गएका छन् ।

माइती नेपालका अनुसार वैदेशिक रोजगारीमा गएका आठजना समस्यामा परेका छन् । उनीहरू इराक, कुवेत, जापान, अस्ट्रेलिया र अमेरिकामा समस्यामा परेका हुन् । ०७२ मा भूकम्पका कारण तातोपानी नाका बन्द हुनुअधि त्यहाँका महिलाको प्रमुख गन्तव्य खासा रहेको थियो । आव ०७४–७५ मा जिल्लाबाट चार हजार ३१७ तथा जिल्लाको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट चार हजार ७४७ जनाले राहदानी पाएका थिए । राहदानी पाउनेमध्ये वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी मेलम्ची नगरपालिकाका एक हजार २३५ तथा सबैभन्दा कम त्रिपुरासुन्दरी गाउँपालिकाका ४०५ जना रहेका छन् ।

जिल्लामा सबैभन्दा बढी भोटेकोसी गाउँपालिकाबाट ५०३ महिला वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ । विगत वर्षदेखि देशका विभिन्न भागबाट खासामा मानव तस्करी हुन थालेपछि रोकथामका लागि तोतोपानी नाकामा माइती नेपालले कार्यालय स्थापना गरेको हो ।

राम केसी (रासस)