पत्रकारितामा स्वर्गीय खतिवडाको योगदानको चर्चा

पत्रकारितामा स्वर्गीय खतिवडाको योगदानको चर्चा


राजविराज । सवारी दुर्घटनामा परी मृत्यु भएका नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक सदस्य रामप्रसाद खतिवडाको १३औं दिनको पूण्य तिथिमा प्रेस संगठन नेपाल सप्तरीले राजविराजमा सोमबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले पत्रकारितामा कुनै आकर्षण नरहेको बेला निरंकुश पञ्चायतकालको कोपभाजनमा परेका खतिवडाले आर्जन गरेको जनविश्वास र पत्रकारितामा पुरयाएको योगदानको चर्चा गरे । स्वर्गीय खतिवडाको स्मृतिलाई चिरस्थायी बनाउन गठन हुने कोषका लागि तत्काल १० हजार दिने घोषणा समेत उनले गरे ।

नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष शिवहरि भट्टराईले पत्रकारिता गर्दा निकै संर्घषशील र मिलनसार भावनाका खतिवडा महासंघ सप्तरीको संस्थापक भएपनि सम्मान गर्न महासंघ चुकेको टिप्पणी गरे ।

महासंघ सप्तरीका पूर्वअध्यक्ष विष्णु मण्डलले पत्रकारको संख्या बढेसँगै पत्रकारिता विकृत बनेकोमा चिन्ता प्रकट गर्दै इमान्दार पत्रकार खतिवडाको निधनले आदर्श पत्रकारको अभाव सधै खट्किने बताए । प्रहरी, प्रशासकलाई सम्मान गर्ने महासंघ सप्तरीले आफ्नै संस्थापकलाई सम्मान गर्न नसकेकोमा उनले आक्रोश समेत प्रकट गरे ।

कार्यक्रममा महासंघ सप्तरीका पूर्व अध्यक्षहरु बैद्यनाथ झा, धिरेन्द्रप्रसाद साह, उपाध्यक्ष श्यामसुन्दर यादव, पूर्वउपाध्यक्ष गणेशलाल देव, सप्तरी उद्योग बाणिज्य संघका पूर्व महासचिव सुरेश सिंह, प्रेस संगठनका केन्द्रीय सदस्य राजु विश्वकर्मा, जनजाति पत्रकार महासंघ सप्तरीकी अध्यक्ष प्रियासिंह थारु, पत्रकारहरु सतिश दत्त, हेमशंकर सिंह, शिव आचार्य, दिनानाथ यादवलगायतले खतिवडाको व्यक्तित्वको चर्चा गर्दै आफुसँगका सम्झना सुनाएका थिए ।

कार्यक्रमका अध्यक्ष खगेन्द्र कार्कीले खतिवडाको सम्मानमा हरेक वर्ष कार्यक्रम गरिने बताउदै असमायिक निधनले पत्रकारहरुले अभिभावक गुमाएको बताए । निधन भएका अग्रज पत्रकारहरुको स्मरणलाई स्थायी बनाउन प्रेस संगठनको नयाँ संरचना बनेसँगै अक्षय कोष स्थापना गरिने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्षहरु भट्टराई, मण्डल, झा, साहलगायतकाले खतिवडाको स्मरणलाई ताजा बनाउन गरिने कामका लागि आफ्नो तर्फबाट नगद रकम सहयोग गर्ने घोषणा गरेका थिए ।

चार दशकअघि मातृभूमि साप्ताहिकमा आवद्ध भएर पञ्चायत कालदेखिनै पत्रकारिता गर्दै आएका अग्रज पत्रकार खतिवडा नेपाल पत्रकार महासंघ सप्तरी एवं प्रेस चौतारी सप्तरीका संस्थापक हुन् ।

विराटनगरबाट राजविराज आउँदै गरेका पत्रकार खतिवडा सवार को १ ज २१४९ नम्बरको माइक्रोबस र विपरीत दिशामा जाँदै गरेको ना.५ ख ६१० नम्बरको बस आपसमा ठोक्किएर राजविराज नगरपालिका १५ स्थित देउरी भरुवामा साउन ९ गते दुर्घटना हुँदा ७२ वर्षीय खतिवडाको मृत्यु भएको थियो ।