गृहमन्त्री भन्छन्– मानव तस्करीलाई नेपालले गम्भीर रूपमा लिएको छ

गृहमन्त्री भन्छन्– मानव तस्करीलाई नेपालले गम्भीर रूपमा लिएको छ


गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीर रूपमा लिएको बताएका छन् ।

इन्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरूले गम्भीर रूपमा लिएको बताए ।

उनले दिगो मानव विकास, कानुनी शासन र नागरिक सुरक्षाका लागि मानव तस्करी र बेचबिखन बाधकका रूपमा देखा परिरहेको टिप्पणी गरे । गृहमन्त्री थापाले मानव तस्करी, बेचबिखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा राष्ट्रहरूबीच सूचना आदानप्रदान र कानुन कार्यान्वयन गर्ने निकायबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

गृहमन्त्री थापाले विभिन्न देशमा रहेका आप्रवासी कामदारको हितका लागि समेत यो सम्मेलनले दिशानिर्देश गर्ने आशा व्यक्त गरे । आज सम्पन्न हुने सातौँ मन्त्रिस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारी सहभागी रहेका छन् । सन् २००२ मा बाली प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न शुरु गरिएको हो ।

नेपालसहित चीन, भारत, अस्ट्रेलियालगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सी आईओएम, यूएनएचसीआर र यूएनओडीसी सम्मेलनको सदस्यका रूपमा छन् । गृह मन्त्रालयको चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा गत आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए । उनी भोलि नेपाल फर्कने कार्यक्रम छ ।