उपाध्यक्षको राजीनामा माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि अनशनमा

उपाध्यक्षको राजीनामा माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि अनशनमा


पर्वतको पैंयुँ गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङको राजीनामा माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधि आजदेखि अनिश्चितकालीन अनशन बसेका छन् ।

गाउँपालिका– ४ हुवासमा जनप्रतिनिधिले अनशन शुरु गरेका हुन् । वडाध्यक्ष महेन्द्र श्रेष्ठलाई बिनाकारण स्पष्टीकरण सोध्ने र पद रिक्त गराउने कोसिस गरेको भन्दै उपाध्यक्ष गुरुङको राजीनामा माग गरिएको हो ।

वडाध्यक्ष श्रेष्ठ परिवारलाई भेट्न जापान गएको बेला गाउँपालिकाका कार्यकाहक अध्यक्ष गुरुङले ‘लगातार तीनवटा बैठकमा बिनाजानकारी अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था भएको’ व्यहोरासहित सातदिने स्पष्टीकरण सोधेपछि विवाद भएको हो । कार्यबाहक अध्यक्ष गुरुङले साउन ८ गतेको मितिमा श्रेष्ठलाई सात दिनभित्र स्वयम् उपस्थित भएर स्पष्टीकरण दिने पत्र पठाएकी थिइन् ।

वडाध्यक्ष श्रेष्ठ गएको जेठ २९ गते वडा सदस्य मोतीलाल न्यौपानेलाई कार्यबाहक दिएर जापान गएका थिए । कार्यबाहक दिएकोबारे श्रेष्ठले गाउँपालिकामा लिखितपत्रसमेत दर्ता गराएका थिए । ‘मैले कार्यबाहक दिएर परिवारका सदस्य भेट्न जाँदा पदबाट हटाउने षड्यन्त्र भयो,’ श्रेष्ठले भने, ‘षड्यन्त्रपूर्वक गरिएको यस्तो कामका लागि उपाध्यक्षले राजीनामा दिनुपर्छ ।’

सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले अध्यक्ष र उपाध्यक्षलाई कार्यबाहक दिएको जानकारी नगराएका कारण समस्या भएको गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले बताए । कार्यबाहक अध्यक्षको हैसियतमा सदस्य न्यौपानेले कार्यपालिकाको बैठकमा समेत भाग लिँदै आएका थिए । ‘हाम्रो नियत पद खारेज गराउने होइन, सचेत मात्रै गराउने थियो,’ उनले भने, ‘कार्यबाहक दिएर गाउँपालिकामा जानकारी गराएर गएको कुरा कार्यकारीले नभन्दा समस्या भएको हो, समाधान खोज्ने प्रयासमा छौँ ।’

उपाध्यक्ष गुरुङले पत्र पठाएपछि नेकपाबाट विजयी श्रेष्ठ जापानबाट नेपाल फर्किएका थिए । श्रेष्ठ नेपाल फर्केपछि सोमबार गाउँपालिकाका अध्यक्ष तिवारी र उपाध्यक्ष गुरुङलाई भित्र थुनेर गाउँपालिका कार्यालयमा नेकपाका कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिले तालाबन्दीसमेत गरेका थिए । प्रहरीले ताला फोडेर दुवैजनालाई बाहिर निकालेको थियो । नेकपाका प्रतिनिधि उपाध्यक्ष गुरुङले राजीनामा दिनुपर्ने अडानमा छन् भने नेपाली कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधि भने उपाध्यक्षलाई माफी माग्न लगाएर समस्याको निकास निकाल्ने पक्षमा छन् ।