मन्त्री पण्डित भन्छन्– पुस मसान्तसम्म तीनै तहमा कर्मचारी समायोजन हुन्छ

मन्त्री पण्डित भन्छन्– पुस मसान्तसम्म तीनै तहमा कर्मचारी समायोजन हुन्छ


संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पुस मसान्तसम्म संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुने बताएका छन् । आज (बुधबार) मन्त्रीनिवास ललितपुरमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री पण्डितले तीनै तहको स्वीकृत दरबन्दीअनुसार पुस मसान्तसम्म कर्मचारी समायोजन हुने बताएका हुन् ।

संघीय निजामती सेवा ऐन मन्त्रिपरिषद्बाट चाँडै लगेर संसदबाट पारित गराएपछि समायोजनको काम शुरु हुने उनले बताए । ‘संसदबाट हामी चाँडै नै पास गराउने तयारीमा रहेका छौँ,’ उनले भने, ‘यही संसदबाट पारित गराउन ढिलाइ भएर संसद् नबसेको खण्डमा अध्यादेशमार्फत पनि ल्याउँछौँ ।’

मन्त्री पण्डितले प्रशासनमा सुधार गर्न आफू प्रतिबद्ध रहेको भन्दै अवकाशको उमेर पुग्न थालेको कर्मचारीको राजीनामा स्वीकृत नगरिने स्पष्ट पारे । ‘केही कर्मचारी आर्थिक लोभले अवकाशको समय पुग्न लाग्दा एक दिन पहिले राजीनामा दिने प्रचलन रहेको छ,’ उनले भने, ‘अब यस्तो व्यवस्थालाई निरुत्साहित गराइनेछ ।’

स्थानीय तहमा पनि चाँडै नै सबै कर्मचारी पुग्ने भन्दै उनले शारीरिक रूपमा अशक्त र विशेष परिस्थितिका कर्मचारीलाई पायक पर्ने ठाउँमा सरुवा गरिने उल्लेख गरे । मन्त्री पण्डितले सङ्घको सेवा घटाउँदै प्रदेश र स्थानीय तहलाई बढी जिम्मेवारसमेत बनाइने बताए ।

मन्त्री पण्डितले कर्मचारीतन्त्रमा काम नगर्ने प्रवृत्ति रहेको भन्दै त्यस्ता कर्मचारीलाई कारबाही गरिने जानकारी गराए । उनले निजामती कर्मचारीको एक मात्र आधिकारिक ट्रेड युनियन मात्र रहने भन्दै अन्य ट्रेड युनियन खारेज गरिनेसमेत बताए ।