नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद् बैठक अर्को साता मात्र

नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद् बैठक अर्को साता मात्र


नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आगामी साता मात्रै बस्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि विदेश जान लागेकाले परिषद् बैठकको मिति पर सरेको हो । बैठक आजका लागि तय भएको थियो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले परिषद् बैठक अर्को साता मात्रै बस्ने जानकारी दिए ।

राष्ट्रिय सभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री ढकालले भने, ‘प्रतिपक्ष दलका नेता उपचारका लागि सात दिनका लागि बाहिर जाने कुरा प्रधानमन्त्रीलाई जानकारी गराएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भएको हो ।’

नेपाली कांग्र्रेसका सभापति देउवा स्वदेश फर्केपछि मात्रै अब परिषद् बैठक बस्नेछ । मन्त्री ढकालले भने, ‘केही संवैधानिक निकायका प्रमुख नभए पनि कायममुकायमले काम गरिरहनुभएको छ । संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्र पठाइसक्नुभएको छ, प्रतिपक्ष दलको नेता स्वास्थ्योपचारका लागि विदेश जाने हुनाले सात दिन प्रतीक्षा गर्नुपर्ने भएको छ ।’

मन्त्री ढकालले मौलिक हकसँग सम्बन्धित विषयका विधेयक संसदमा आउने क्रम आरम्भ भइसकेको जानकारी दिँदै भने, ‘चार विधेयक दर्ता भइसकेका छन्, क्रमशः दिनानुदिन प्रक्रियामा लगेर आगामी असोज ३ गतेसम्ममा मौलिक हकसँग सम्बन्धित कानुन निर्माण भइसक्छ ।’

उनले तोकिएको समयभित्रै मौलिक हकसम्बन्धी कानुन बन्छन् कि बन्दैनन् भन्ने आशंका नगर्न आग्रह गरे । उनले भने, ‘हामी युद्धस्तरमा नै मौलिक हकसम्बन्धी कानुन निर्माणमा जुटेका छौँ, तोकिएको अवधिभित्रै सम्पन्न गर्छौँ । त्यसमा सबैको साथ र सहकार्य जरुरी हुन्छ ।’