बाबुरामकै नेतृत्वमा सरकार बन्नुपर्छ- देवेन्द्र पौडेल सुनील

बाबुरामकै नेतृत्वमा सरकार बन्नुपर्छ- देवेन्द्र पौडेल सुनील


देवेन्द्र पौडेल सुनील एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य हुनुहुन्छ । प्रस्ट विचार राख्ने माओवादीभित्रका इमानदार नेताको रूपमा परिचित नेता पौडेल उपाध्यक्ष डा. बाबुराम भट्टर्राईका निकट मानिनुहुन्छ । राष्ट्रिय सरकारको पक्षधर उहाँ उपाध्यक्ष भट्टर्राईको नेतृत्वमा सहमतिको सरकार बन्नुपर्ने धारणा राख्नुहुन्छ । उहाँसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीको मुख्य अंशः
यसपटकको पोलिटब्युरो बैठकको मुख्य एजेण्डा के हो ?
मुख्य एजेण्डा दुई-तीन महिनाको बीचमा हामीले जुन कार्यनीति र कार्यदिशा बनायौँ त्यो कति सफल र असफल भयो भन्ने समीक्षा, यो पोलिटब्युरो बैठकमा हुनेछ । त्यसको साथसाथै तत्काल के गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।
तत्काल के निर्णय गर्ने भन्नेमा पार्टी पुगेको छ ?
तत्काल शान्ति, संविधानसहितको यो कोर्सलाई पूरा गर्नुबाहेकको अरू विकल्प छैन । हामीबाट सो विषयमा तत्काल पहल हुन सकेन भने देशमा अर्ढाई सय वर्षदेखि नेपाली जनताले सङ्घर्षबाट प्राप्त गरेको उपलब्धि गुम्ने खतरा छ । त्यसका लागि शान्ति र संविधानको बाटोबाट अगाडि बढ्नु नै अहिलेका लागि उपयुक्त कार्यनीति हुन सक्छ ।
खतरा रोक्न के छ तपाईंसँग सूत्र ?
जनताको तर्फबाट आन्दोलनकारी शक्तिहरूबीच बृहत् एउटा संयुक्त मोर्चा बनाउँदै राष्ट्रिय सहमति कायम गरेर, सबै पक्षलाई मिलाएर खासगरी ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका एजेण्डाहरू सम्बोधन हुनेगरी नयाँ सरकार निर्माण गर्नु र त्यो सरकारले कोर्सलाई पूरा गर्ने गरी पहल लिनु नै उपयुक्त र विश्वसनीय बाटो हुन्छ ।
भनेपछि संविधानसभाको म्याद थप्ने पक्षमा जानुहुन्छ तपाईंहरू ?
अहिले नै भनिनहालौँ, तर यो प्रक्रियालाई अवरुद्ध हुन दिनुहुँदैन । खासगरी संविधानसभा र यी प्रक्रिया अवरुद्ध भए भने प्राप्त उपलब्धिहरू गुम्नेछन् । देशको सार्वभौमसत्ता, राष्ट्रियता खतरामा पर्नेछ । त्यसैले उलब्धिको रक्षा गर्नका निम्ति संविधानसभा पनि एउटा महत्त्वपूर्ण अवयव हुन सक्छ । उपलब्धि गुम्न नदिनु परिपक्व बाटो हुनेछ ।
प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारको औचित्य सकिएको हो ?
यसै त भनिनहालौँ, तर जुन स्पिरिट र उद्देश्यका साथ झलनाथ खनालको नेतृत्वमा केही नयाँ प्रकारको सुरुवात हुन्छ कि भनेर हामीले पछाडि हटेर समर्थन गरेका थियौँ त्यो परिणाम उहाँले देखाउन सक्नुभएको छैन । यस्तो अवस्था कायम रहँदा सरकारको सफलता नदेखिएकोले विकल्प सोच्न सकिन्छ । खनाल सरकारको गतिविधिले औचित्य सकिएको सङ्केत गरेको छ ।
त्यसो भए सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिन्छ ?
उहाँले जे देश र जनताको पक्षमा निर्वाह गर्न सक्नुपर्दथ्यो । उहाँको तर्फबाट त्यो पहल हुन सकेन र यो क्याबिनेटले त्यो भूमिका निर्वाह गर्न सकेन भने विकल्प सोच्नु मात्रै होइन पहल लिनुपर्छ । देश र जनताका लागि भूमिका निर्वाह गर्न पनि तयार हुनुपर्छ ।
नयाँ गठबन्धन बनाउनतिर लाग्नुभएको हो ?
निश्चित रूपमा नयाँ गठबन्धनतर्फ पनि जानुपर्छ । यो सरकारले केही काम गरेन भने विकल्प सोच्नुपर्छ । त्यो बाटोमा जानुबाहेक पार्टीसँग अर्को विकल्प छैन ।
त्यो पहलको नेतृत्व कसले गर्छ ?
त्यो पहलको नेतृत्व पार्टीहरूमा सहमतिको आधारमा विश्वसनीय व्यक्तित्व जसलाई अगाडि बढाउँदाखेरि सबै समुदायबाट कृतज्ञतापूर्वक समर्थन पनि प्राप्त हुनसक्छ, त्यस्तो व्यक्तिलाई अगाडि बढाउनुपर्छ ।
त्यो व्यक्तित्व बाबुराम भट्टर्राईलाई भन्न खोज्नुभएको हो ?
बाबुरामजीले पनि त्यो कोर्स पूरा गर्ने र तत्कालका लागि पहल लिन सक्ने ठाउँमा रहेकोले त्यस्तो व्यक्तित्वको रूपमा लिन सकिन्छ । उहाँकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्छ ।
बाबुराम भट्टर्राईको नेतृत्वमा सरकार बनाएर अगाडि बढ्नु अहिलेका लागि उपयुक्त हुन सक्छ र ?
नेपाली जनता, अन्तर्राष्ट्रिय समुदाय र धेरै मैले बुझेअनुसार सबैको मत त्यतातर्फ रहेकोले देशले, देशको राजनीतिक दलहरू, नागरिक समाज र बौद्धिक समुदायले त्यो मतको सम्बोधन गर्नु नै सबैको निमित्त उपयुक्त विकल्प हुन सक्छ । धेरैले बाबुरामजीप्रति अपेक्षा गरेको र उहाँले परिपक्व ढङ्गले अहिलेको अध्यायमा अरू नेताभन्दा बढी भूमिका निर्वाह गरेकोले त्यो माग हुनु उपयुक्त हो । बाबुरामजीकै नेतृत्वमा सहमतिको सरकार बन्नुपर्छ भन्ने माग सबैतिरबाट उठेको छ । यद्यपि पार्टीका समस्याहरूको त सबैतिरबाट एजेण्डाहरू उठेको छ । त्यो माग हुनु जनताले त्यो अपेक्षा गर्नु न्यायसङ्गत हो ।
पार्टीभित्र आन्तरिक द्वन्द्व छ नि, कसरी मिलाउनुहुन्छ ?
होइन, यो पनि हामी मिलाउनेतिर पहल लिनका निम्ति छलफलहरू चलिरहेका छन् र पोलिटब्युरोको बैठक पनि बस्दै छ । सकेसम्म हामी चाहन्छौँ पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वमा सबै समस्या हल होस् । सबै प्रक्रियाको ‘ल्यान्डिङ’ गरेर एउटा च्याम्पियनको भूमिका निर्वाह गर्नु नै अहिलेको निम्ति परिपक्व र सकुशल बाटो हुन्छ । तर, स्थिति त्यो बनेन भने विकल्प सोच्न सक्नु पनि परिपक्वता हो, क्रान्तिकारिता हो । प्रचण्डको विकल्प बाबुरामलाई अगाडि सारेर पनि जान सक्नुपर्छ ।
प्रचण्डले आफ्नो नेतृत्वमा भएन भने बाबुराम भट्टर्राईलाई समर्थन गर्नुभन्दा अर्को विकल्प छ ?
सकेसम्म पार्टी लिडर भएकोले उहाँले नै नेतृत्व गर्नु उपयुक्त हुन्छ । पार्टीभित्र र बाहिरको समस्या कन्ट्रोल गर्नको निम्ति, नभए विकल्प सोच्न सक्नु सामूहिकताको केन्द्रीकृत अभिव्यक्ति हो कम्युनिस्ट पार्टीको । पार्टीको नेतृत्व प्रचण्डले गर्नुभएको छ । सरकारको नेतृत्व जनताले बाबुरामजीलाई अपेक्षा गरेका छन् । अहिले पार्टीभित्र रहेको क्षमता र योग्यताको अधिकतम उपभोग गरेर अगाडि बढ्नु नै उपयुक्त विकल्प हुन्छ ।