दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान


कञ्चनपुरको लालझाडी गाउँपालिका-४ डाँगाजाईंकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ ।

रानाको परिवारका सदस्यले दोदाकै बगरमा तरकारीखेती गरी उत्पादित तरकारी बिक्री गरेर घरखर्च जुटाउँदै आएका छन् । ‘दोदाले सबै जमिन लग्यो । अहिले बगरमा खेती गर्छु । सुरुमा घरपरिवमारका लागि मात्र खेती गर्थेँ, आकर्षक आम्दानी हुनथालेपछि व्यावसायिक रूपमा तरकारीखेतीमा लाग्यौँ । सिजनमा दुई लाखभन्दा बढी आम्दानी हुने गरेको छ’, मन्तोरा भन्छिन् । उनका श्रीमान् गोरुगाडामा तरकारी राखेर बेच्न गाउँगाउँ डुल्ने गर्छन् ।

दोदामा उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ । बर्सेनि कटान र डुबान समस्या झेल्ने तटीय क्षेत्रका स्थानीय गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन् । डाँगाजाईंका ४८ वर्षीय मोलसिंह रानाले डेढ दशकअघिको दोदा नदीमा आएको बाढी बिर्सिएका छैनन् । त्यसबेला बाढीले उनको करिब तीन बिघा जमिन बगायो । दोदाको कटान अझै रोकिएको छैन । प्रत्येक वर्ष आउने बाढीले जमिन कटान गरिरहेको छ । मोलसिंह भन्छन्, ‘बर्खामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिएको छ ।’

डाँगाजाईंका किसान नन्दराम रानाले दोदाको बगरमा तरकारीखेती गर्न थालेको दशक बितिसक्यो । वि.सं. २०६४ मा आएको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि त्यहीँ बगरमा तरकारीखेती गर्दै आएको उनी बताउँछन् । ‘बर्खामा दोदाको बाढीले सास्ती गर्छ । उर्लेर आउने बाढीले कुन बेला के हुन्छ डराइडराइ बस्नुपर्छ, उनले भने बर्खामा बाढी आउँदा कोही नदी तर्न सक्दैन । उठीबास लगाएको दोदामै दुःख बिर्सिएर जीविकोपार्जनको आशमा खेती गरेका छौँ ।’

दोदा नदीमा करिब पाँच सयभन्दा बढी परिवारले बगरखेती गरेका छन् । बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ । माघदेखि बगरमा खेतीका लागि तयारी गर्ने गरिन्छ । स्थानीय घुम्नी रानाका अनुसार चैत अन्तिम साता बाली तयार भएपछि बिक्री गर्ने गरिएको छ । वर्षौंदेखि बगरमा खेती गर्दै आइएको छ, माघदेखि जेठसम्म बगरमा खेती गरेर अरु समयमा मजदुरी गरिन्छ, जङ्गली जनावर र चोरीबाट उत्पादन जोगाउन बगरमा बनाइएको छाप्रोमा बास बस्ने गरिउको छ ।

तस्बिर : रासस