काङ्ग्रेस : गौरवपूर्ण इतिहास चुनौतीयुक्त भविष्य

काङ्ग्रेस : गौरवपूर्ण इतिहास चुनौतीयुक्त भविष्य


bichar– युवराज बस्ताकोटी
नेपाली राजनीतिलाई जनताको तहमा ल्याउने नेपालको सर्वाधिक पुरानो ऐतिहासिक, क्रान्तिको विरासत प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेस मात्र हो । स्वभावैले यस पार्टीभित्र ०७ सालको क्रान्तिको नेतृत्वदायी भूमिका खेलेका, ०१५ सालको आमनिर्वाचनमा काङ्ग्रेसलाई दुईतिहाई प्राप्त गराउन मिहिनेत गरेका, पञ्चायतका कालकोठरीमा प्रजातन्त्र पुन: प्राप्तिका लागि सङ्घर्ष गरेका, जेलनेल खाएका, प्रजातन्त्रको रक्षार्थ क्रियाशील, दु:खमा साथ दिएका क्रान्तिपुरुषहरूको अद्यापि राजनीतिमा क्रियाशीलता बाँकी छ ।
त्यसैगरी ०४६ को जनआन्दोलनबाट स्थापित, माओवादी विद्रोहकालमा ज्यान गुमाएका परिवार, विस्थापित तथा अङ्गभङ्ग भएका कैयौँ मानिस काङ्ग्रेस पार्टीमा छन् । महामानव विश्वेश्वरप्रसाद कोइरालाको एउटा विज्ञप्तिमा ज्यानको बाजी लगाएर क्रान्तिमा होमिएका कैयौँ शहीदहरूप्रति हामी नतमस्तक हुनैपर्छ । तिनै महामानव तथा शहीदहरूको रगतपसिनाले सिञ्चित यो पार्टी हाम्रो देशजस्तै चार जात छत्तीस वर्णको साझा पूmलबारी हो ।
नेपाली काङ्ग्रेसको इतिहास गौरवपूर्ण छ तर वर्तमान र भविष्यको सन्दर्भमा समय परिवर्तित तथा प्रतिस्पर्धी छ । मानिसका आकाङ्क्षा र आवश्यकता बढेका छन् । विश्व एउटा सानो गाउँ बन्दै गइरहेको छ । संसारका सुखसुविधा र तिनका प्रयोगको दृष्टिले मानिसहरू उपभोक्तावादमा विश्वास गर्न थालेका छन् । ‘मानिस ब्रेडले होइन ब्रेनले बाँच्दछ’ भन्ने बीपी कोइरालाको भनाइलाई आजका नवजवानहरूले नपत्याइदेलान् भन्ने डर छ । वास्तविकता एउटा भएर पनि नवउपभोक्तावादका कारण मानिस धनी बन्ने चाहनाले उचाइ लिएको छ । धनीकै पछि लाग्ने चलन बढ्दो छ ।
आखिर राजनीतिक दल विचारले निर्देशित हुनुपर्ने हो दीर्घजीवनका लागि । यसका लागि अबको केही वर्ष ज्यादै कस्टकर बन्न सक्छ । तथापि यही नेपाली काङ्ग्रेस पार्टीले आफ्नो भविष्यसँग नेपालको भविष्य जोडिएकाले जोगाउनुपर्नेछ ।
पहिलो संविधानसभाले संविधान निर्माण गर्न सकेन । राजनीतिक नेतृत्वको अनिच्छा भने पनि अक्षमता भने पनि पाइयो तर सत्य त्यति मात्र होइन । प्रजातन्त्रको रक्षार्थ यसका आधारभूत पक्षमा काङ्ग्रेसले सम्झौता गर्न सक्दैन । विपक्षी विध्वंशावादको बाहुल्य भएको सभामा प्रजातन्त्रप्रेमीहरूको स्वर मलिन हुन पुग्यो । यसको अनुभवले यो पनि बताउँछ । कतिपय सन्दर्भमा प्रजातन्त्रले हार्न खोज्यो पनि । प्रजातान्त्रिक पार्टीकै माननीयहरू पनि एनजीओ, आईएनजीओ तथा विपक्ष पार्टीको ललिपपमा फस्न पुगे समितिहरूमा । ककस, महिला सञ्जाल, मधेसी मोर्चा, कम्युनिस्ट मोर्चा आदिका नाममा विभिन्न दलका सभासद् दलित मान्यताविपरीत गोलबन्द हुन पुगे र सभा असफल भयो ।
पटक–पटक गल्ती गर्नु राष्ट्रको हितमा हुन सक्दैन । यतिबेला भावी सभासद् छनोट गर्ने बेला आएको छ । क्रान्तिकारी बन्ने नाउँमा राजनीति नबुझेका, अशिक्षित र गैरराजनीतिक चरित्र भएका मानिसलाई सभासद् बनाइयो भने फेरि पनि असफलता मात्र प्राप्त हुनेछ । बौद्धिक वर्गको आफ्नो धर्म–संस्कृतिका विरुद्ध अरूसँग पैसामा बिकेर लम्पसार पर्छन्, ती झनै घातक हुनेछन् राष्ट्रियताको संरक्षणका सन्दर्भमा ।
माथि नै व्याख्या गरिसकियो– ०४ सालदेखि आजका मितिसम्म नेपाली राजनीतिमा अग्रस्थानमा रहँदै आएको यस विशाल छाती भएको पार्टीमा उमेर, अनुभव, त्याग, समर्पण, लगानी र योगदानका दृष्टिले हजाराँै मानिस हाम्राअगाडि हुनुहुन्छ । त्यसरी नै विभिन्न पदीय दायित्व प्राप्त गरिसकेका र गरिरहेका पदवाहक विभिन्न तहतप्का, भ्रातृ तथा शुभेच्छुक संस्थाका महान् व्यक्तिहरूको खडेरी पनि काङ्ग्रेस पार्टीमा छैन । दु:ख पाएका हजाराँै नेता–कार्यकर्ता ‘जयनेपाल’को विशेष सम्मानका पात्र हुनुहुन्छ । इतिहासमा उहाँहरूका योगदान गौरवपूर्ण सुनौला अक्षरले लेखिएका छन् र लेखिनेछन् । उहाँहरूकै त्यागको परिणाम आजको नेपाली काङ्ग्रेस नेपाली जनताको आशाको केन्द्र बनेको छ ।
नेकाको इतिहास जति गौरवपूर्ण छ भविष्य त्यति नै चुनौतीपूर्ण पनि छ । बीपीबाबुले भनेजस्तो पार्टी सुकिलामुकिलाले कब्जा गर्ने र गरिब किसान किनाराको साक्षी बन्ने सम्भावना बढेर गएको छ । सुविधासम्पन्न सामग्री उपहार संस्कृति र उपभोक्तावादी सोचको विकास हुँदै जाँदा पार्टीभित्रको विचार मर्न गई प्रा.लि. कम्पनीको सेयर र लाभांश लिएजस्तो हुनसक्छ पार्टीका विभिन्न पद र प्रतिष्ठाहरू ।
तसर्थ, आजका हाम्रा नेताहरूको राष्ट्रप्रतिको इमानदारी, बीपीप्रतिको आस्था, समर्पण र नेपाली काङ्ग्रेसको विचारप्रतिको प्रतिबद्धताको नाप लिने बेला आएको छ । उनीहरूबाट हचुवाको भरमा उमेर हिसाब गरेर काम गर्ने अवसर दिइनेछ वा आवश्यकताको सिद्धान्तअनुसार भविष्यको निरन्तरताका लागि नेतृत्व विकासको प्रक्रियालाई अगाडि बढाइनेछन्, हेर्नैपर्ने भएको छ ।
विश्वका हरेक क्षेत्रमा प्रतिस्पर्धा बढ्दो छ । राजनीतिमा पनि विपक्षी दलहरूलाई तर्कद्वारा प्रजातन्त्रको मूलधारमा समाहित गर्नुपर्ने चुनौती या प्रतिस्पर्धा जारी छ । नेकाको भविष्य नै हाम्रो पुस्तापछिका सन्ततीको भविष्य हो भन्ने आजको सचेत युवा काङ्ग्रेस पुस्ताको बुझाइ छ । यही यथार्थ महसुस गर्दै नेपाली काङ्ग्रेसलाई युगौँतक जोगाइराख्न यस्ता नवयुवा पुस्तालाई पार्टीतर्फ आकर्षित गर्नु आजको आवश्यकता हो । जाँड र भाँडजस्ता विकृति नभई बीपी र नेका बुझेका युवापुस्तालाई आफूमा समाहित गरी क्षमताअनुसारको जिम्मेवारी प्रदान गर्दै पार्टी अघि बढ्नु अपरिहार्य छ । यसले मात्र काङ्ग्रेसको विरासत वर्षौंवर्ष निरन्तर धानिँदै जानेछ र पार्टी आफ्नो लक्ष्य या उद्देश्यप्राप्तिमा सफल पनि बन्नेछ ।