नेपालगञ्जलाई महानगरपालिका बनाउन अध्ययन शुरु

नेपालगञ्जलाई महानगरपालिका बनाउन अध्ययन शुरु


नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन थालिएको छ ।

‘महानगरपालिका बनाउन के–कस्ता पूर्वाधार आवश्यक पर्छन्, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसंख्या कति हुनुपर्छ, भौतिक पूर्वाधारको विस्तारलगायतका सम्भावनाबारे छलफल चलाएका छौँ,’ नगर प्रमुख डा. धवलशमशेर राणाले भने ।

महानगरपालिका बनाउन यसअघि बसेको नगरसभाबाट प्रस्ताव पारित भएको र सम्भाव्यता अध्ययनका लागि रु. २५ लाखसमेत छुट्याइएको छ । प्रदेश ५ सरकारले यस प्रदेशमा तीन महानगरपालिका बनाउन योजना अगाडि सारेको छ । सोही अवधारणाअनुसार नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सम्भाव्यता अध्ययन थालिएको हो । प्रदेश ५ सरकारले बुटवल र भैरहवा, तुलसीपुर र घोराही तथा नेपालगञ्ज, कोहलपुर र खजुरालाई मिलाएर तीन महानगरपालिका बनाउने अवधारणा अघि सारेको छ ।

‘अबको स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाइसक्ने गरी पूर्वाधार जुटाइसक्छौँ,’ राणाले भने । बाँकेको कोहलपुर, जमुनहा, मानखोला र राप्ती नदीवारिसम्मको क्षेत्रलाई समेटेर महानगरपालिका बनाउन सकिने आधारमा अध्ययन थालिएको हो । महानगरपालिका बनाउन कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी र डुडुवा गाउँपालिकालाई गाभ्ने योजना छ ।