मलमा बढी मूल्य लिने व्यापारी पक्राउ

मलमा बढी मूल्य लिने व्यापारी पक्राउ


मदखादको अभाव रहेको मौका छोपी तोकिएको दरभन्दा बढी मुनाफा लिई मलखादको बिक्री गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिकाबाट एक व्यापारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–७ थानाचोकस्थित लक्ष्मी खाद्य भण्डार पसलका सञ्चालक ३५ वर्षीय मुकेशप्रसाद गुप्ता रहेको प्रहरीले जनाएको छ । मलको कालोबजारी गरिरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गुप्तालाई पक्राउ गरेको हो ।

डिएपी मल प्रतिबोरा रु. दुई हजार तीन सयमा बिक्री गर्नुपर्नेमा सञ्चालक गुप्ताले प्रतिबोरा रु दुई हजार पाँच सयका दरले बिक्री गरिरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधव रिमालले जानकारी दिए ।

गुप्तामाथि कालोबजार ऐनअन्तर्गत म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको छ ।