बाग्लुङमा ट्राफिक कारबाहीबाट ५१ लाख राजस्व संकलन

बाग्लुङमा ट्राफिक कारबाहीबाट ५१ लाख राजस्व संकलन


जिल्ला ट्राफिक प्रहरी कार्यालय बाग्लुङले आर्थिक वर्ष ०७४–७५ मा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनका चालकलाई कारबाही गरी रु. ५१ लाख ४२ हजार राजस्व संकलन गरेको छ ।

ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका सात हजार ८ सय २४ चालकलाई कारबाही गरिएको थियो । यस क्रममा ६ सय १५ ट्रक चालक, ६४१ बसचालक, तीन हजार २ सय ८९ कार–जीपचालक, दुई हजार १ सय ६१ मोटरसाइकल–स्कुटर चालक, एक हजार ९८ ट्याक्टरचालक तथा अन्य सवारीसाधनका २० चालक कारबाहीमा परेका हुन् । सवारीदर्ता, नामसारी, सवारीचालक अनुमतिपत्र नभएका तथा अनुमतिपत्र नवीकरण नगर्ने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख छबबहादुर घर्तीले जानकारी दिए ।

ट्राफिक नियम पालनमा कडाइ गर्न थालेपछि राजस्व बढ्दै गएको घर्तीले बताए । आव ०७३–७४ मा सवारीसाधनका चालकलाई कारबाही गरी रु. ५१ लाख १० हजार राजस्व संकलन गरिएको थियो । ‘सवारी नियम उल्लंघन गर्ने चालकलाई अझै कडाइ गर्छौं,’ उनले भने ।