जग्गा बाँझो राख्नेलाई कर तिराइने : मुख्यमन्त्री गुरुङ

जग्गा बाँझो राख्नेलाई कर तिराइने : मुख्यमन्त्री गुरुङ


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रगतिशील कर नीति अवलम्बन गर्नुपर्ने बताएका छन् ।

बेनी नगरपालिकाले बिहीबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले सन्तुलित विकास र समाजवादउन्मुख राष्ट्र निर्माण गर्न प्रगतिशील कर नीति आवश्यक रहेको बताए ।

स्थानीय, प्रदेश र संघीय सरकारले एकै शीर्षकमा कर लिन थालेको भनेर भ्रम फैलाइएको मुख्यमन्त्री गुरुङको भनाइ छ । ‘हामीले राज्य सञ्चालनका लागि स्रोतको पहिचान र व्यवस्थापन गरेर जनतालाई विकास र सेवा दिन खोजेका हाँै । प्रगतिशील कर नीति अपनाउँछौँ । करको विषयमा फैलिएको भ्रमबाट मुक्त हुन अनुरोध गर्दछु,’ मुख्यमन्त्री गुरुङले भने ।

कर संकलन, अधिकार क्षेत्रका विषयमा भएका कानुनी अस्पष्टता र अन्योल हटाउन स्थानीय, प्रदेश र संघीय सरकारले प्राथमिकताका साथ छलफल अघि बढाउनुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ थियो । उनले प्रदेश सरकारले जग्गा बाँझो राखेबापत कर तिराउने र खेतीयोग्य जमिनको उपभोग गर्नेलाई प्रोत्साहन गर्ने नीति लिने बताए ।

आगामी पाँच वर्षभित्रमा सबै स्थानीय तहको केन्द्रसम्म ग्राभेल सडक, प्रदेशका सबै बस्तीमा विद्युत र खानेपानी सुविधा विस्तार गर्न प्राथमिकतासाथ बजेट विनियोजन गरेर कार्यान्वयनका लागि विस्तृत अध्ययन शुरु गरेको मुख्यमन्त्री गुरुङले बताए ।