चुनावका लागि लडाकु ?– बबिता बस्नेत

चुनावका लागि लडाकु ?– बबिता बस्नेत


nisedhमतदान शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने दाबीसहित राजनीतिक दलहरूले मतदान केन्द्रहरूमा पार्टीका तर्फबाट लडाकु तथा लड्न सक्ने युवाहरू खटाउने घोषणा गरेका छन् । दलहरूको यसप्रकारको घोषणा सुन्दा लाग्छ– हामीकहाँ निर्वाचन होइन भिडन्त हुन गइरहेको छ । चुनावलाई लक्षित गरेर अहिले भइरहेका घोषणापत्र निर्माण, उम्मेदवारका लागि नाम सिफारिसजस्तै गरेर लडाकु दस्ताको घोषणा पालैपालो गर्नुले भिडन्तको सङ्केत मात्र गरेको छैन दलहरूको मानसिकतासमेत उजागर गरेको छ । निर्वाचन प्रजातन्त्रको खम्बा हो, जनताले भयरहित अवस्थामा आफ्नो प्रतिनिधि चुन्न पाउने भएकाले नै निर्वाचनको महत्व भएको हो । चुनावमा त स्वतन्त्र प्रतिस्पर्धा हुन्छ न कि लडाकु राखेर डर त्रासबीच कुस्ती । जनताले भयरहित भएर बिनाहिच्किचाहट आफूले चाहेको व्यक्ति या राजनीतिक दललाई भोट हाल्ने भएकाले निर्वाचनलाई विश्वकै उत्कृष्ट प्रणाली मानिन्छ, जनप्रतिनिधि चयनको उत्कृष्ट प्रणाली । कुनै पनि प्रजातान्त्रिक मुलुकमा निर्वाचनलाई विचारको लडाइका रूपमा लिइन्छ । सिद्धान्त र विचारहरूको प्रतिस्पर्धा हुने भएकाले निर्वाचनमा प्राय: वैचारिक र सैद्धान्तिक लडाइँ नै हुने गर्छ । तर, हामीकहाँ भने चुनाव भनेको दलहरूको विचार नभएर शक्ति प्रदर्शनका रूपमा रहने गरेको छ । कसका कति लडाकु छन्, कसले कति धम्क्याउन सक्छन्, कसले बढी त्रासपूर्ण वातावरणको सिर्जना गर्न सक्छन् तिनीहरूनै बहादुरझैं ठहरिने गरेका छन् । कम्युनिस्टहरूका लागि निर्वाचन सङ्घर्ष हो, सङ्घर्षको अर्थ जसरी भए पनि आफ्नो पक्षमा पार्नु भन्ने पनि हुन्छ । प्रजातान्त्रिक विचारधारा मान्नेहरूका लागि निर्वाचन अभ्यास हो भने कम्युनिस्टका लागि सङ्घर्ष । शायद हाम्रो मुलुकमा कम्युनिस्ट जोडिएका दल धेरै भएका कारणले चुनावकै लागि भनेर लडाकु दस्ताहरूको तयारी दलहरूले गरेका होलान् । साथी–सङ्गातीको असर परेर हुनसक्छ, नेपाली काङ्ग्रेसले समेत यसप्रकारका जत्थाको अवधारणा ल्याएको छ । आफ्नो काम र सिर्जनामा व्यस्त हुनुपर्ने युवाहरू रोजगारीको अभावमा दलहरूले जे–जे भन्यो त्यही मान्ने अवस्थामा छन् । एमाले, एमाओवादी, काङ्ग्रेस, मधेसवादी जस–जसले प्रयोग गरे पनि हामीकहाँ चुनावको नाममा युवाहरूको गलत प्रयोग हुन लागेको छ । निर्वाचनका नाममा विभिन्न लडाकु समूह खडा गरेर युवा शक्तिको गलत प्रयोग एकातिर गरिँदै छ भने अर्कोतिर चुनाव नै हुन नदिनका लागि पनि युवाहरूकै प्रयोग गरिँदै छ ।
विगतमा औपचारिक रूपमा युवा दस्ता गठन नगर्दा पनि ‘मनी’ र ‘मसल’को प्रयोग व्यापक रूपमा हुने गरेको थियो । यसअघिको संविधानसभा निर्वाचनमा पैसा र बलसँगै त्रासको व्यापार पनि राम्रैसँग गरियो । छोराछोरी वैदेशिक रोजगारमा हुने बाबुआमालाई ‘हामीलाई भोट हालेनौँ भने तिम्रा छोराछोरीलाई यो देशमै छिर्न दिइने छैन’ भन्नेदेखि लिएर यही मुलुकमा हुनेहरूलाई ‘छोराछोरीलाई जीवित नै रहेको हेर्न चाहन्छौ भने’ भन्नेसम्मका त्रास देखाइयो । गाउँका सोझासाझालाई तिमीहरूले कसलाई भोट दियौ भन्ने कुरा कम्प्युटरबाट हामीले देख्नेछौँ भनेर पनि भोट आफ्नो पक्षमा पारियो । अहिले जनतालाई त्यति धेरै झुक्याउन सक्ने परिस्थिति नभए पनि भयरहित वातावरण पनि छैन । अचम्म त के छ भने पूर्वराजाले बाढीपीडितलाई लुगाफाटा र खानेकुरा बाँड्दा निर्वाचन आचारसंहिता लगाउने निर्वाचन आयोग यस्ता विषयमा भने मौन छ । आचारसंहिता लागू भयो भनेर भाषण गर्ने नेताहरू आफ्ना दस्ताप्रति भने दंगदास छन् । अब आफ्नै दलभित्र पनि कुन गुटले बढीभन्दा बढी यसप्रकारका दस्ता प्रयोग गर्ने भन्नेबारे प्रतिस्पर्धा हुनेछ र कुनै बेला दलभित्रै यिनलाई लिएर वादविवाद नहोला भन्न सकिन्न तर उक्त वादविवाद चुनावका बेला लडाकुको प्रयोग गलत हो भनेर हुने छैन, आफूले किन प्रयोग गर्न पाइनँ अरूले किन ग-यो भन्नेबारेमा हुनेछ ।
चुनावका बेला यसप्रकारका लडाकु दस्ताको प्रयोगले सबैभन्दा घाटाचाहिँ महिला उम्मेदवारलाई पर्ने देखिन्छ । पैसाको चलखेलदेखि लिएर चुनावी अभियानमा युवाहरूको उपस्थिति पनि प्राय: पुरुष उम्मेदवारहरूकै अघि पछि रहने गर्छ । यसका केही कारण छन्, सबैभन्दा प्रमुख कारण त महिला उम्मेदवारले पुरुषले झैं (सबै पुरुष त होइन तर अधिकांश) निर्वाचन खर्च उठाउन सक्दैनन्, पैसा नभएपछि विचारको मात्रै पछि लाग्ने मान्छेको सङ्ख्या कम हुने नै भयो । अर्को कुरा खानपिनमा पनि फरक पर्छ । त्यसो त नेताहरूसँगका अनौपचारिक सत्रहरूले महिला र पुरुषबीच टिकट सिफारिसमै फरक पारिसकेको छ । प्रत्यक्ष र समानुपातिक दुवैमा ज्यादै कम मात्रामा महिला नेताहरू सिफारिसमा परेका छन् । अरू त अरू गिरिजाप्रसादपुत्री सुजातासमेत यसपटक मोरङबाट सिफारिसमा परिनन् । यसबाट दुईवटा कुराको सन्देश जनमानसमा गएको छ, एक अब पितापुर्खाका नामबाट राजनीति गर्ने समय गयो र अर्को आखिर सबै कुरा राजनीतिमै सुम्पिएर पनि के हुँदोरहेछ त मानिसले एक पुस्तासम्मलाई पनि नसम्झिने रहेछन् । कोइराला परिवारले जतिसुकै त्याग गरेको भए पनि के भयो त ? आखिर बाबु बितेपछि छोरीले टिकट त के टिकटका लागि सिफारिससमेत पाइनन् । अरू देशमा भए शायद एक पुस्तासम्मलाई चाहिँ हेरिन्थ्यो कि जस्तो लाग्छ । यद्यपि निर्वाचनमा मनी, मसल र मनिपुलेसनको कुरा गर्दा सुजाता यी तिनै कुरा गर्न सक्ने महिला हुन् । ज्यादै कम महिलाले मात्रै उनले जस्तो युवाहरू अघिपछि लगाएर हिँड्न सक्छन् । टिकटमा सिफारिसदेखि टिकट लिनेसम्म र टिकट लिएपछि चुनाव लड्नेसम्ममा अनौपचारिक सत्रहरूको भूमिका ठूलो हुन्छ । प्राय: पुरुष नेताहरू बिहानको तातो चिया सत्रदेखि बेलुकाको चिसो चिया सत्रसम्म ‘शीर्षस्थ’ नेताहरूको वरिपरि हुन्छन् । नेताहरूका पनि आँखा त्यहीँ पर्छन् जसलाई अगाडि देखिन्छ । मान्छे नै अगाडि नदेखिएपछि योगदान खोज्दै हिँड्ने जमाना नै कहाँ रह्यो र ? त्यसैले राजनीतिमा पनि प्राय: अवसर त्यस्तैले पाउँछन् जो नेताहरूका वरिपरि हुन्छन् । आ…मैले आफ्नो ठाउँबाट काम गरेकै छु, देखे देख्छन् नदेखे देख्दैनन् भनेर दाजु जयनेपाल या लालसलाम कामरेड भन्दै पछि लाग्न नचाहने या समय नपाउने वा अप्ठ्यारो मान्नेहरू हिजो पनि पछाडि थिए, आज पनि छन् र भोलि पनि रहनेछन् । यसरी पछि पर्नेमा प्राय: त्यस्ता महिलाहरू हुन्छन् जो आत्मसम्मानपूर्वक केही गर्न चाहन्छन्, विशेषगरी राजनीतिमा छक्कापञ्जा बढी नै लागू हुने गरेको छ । निर्वाचनका लागि भनेर अहिले गठन भएका र बन्दै गरेका लडाकुको प्रयोग सबै दलले गर्न थाले भने सबैभन्दा ठूलो असर महिला उम्मेदवारलाई पर्ने देखिन्छ चाहे ती जुनसुकै दलका किन नहुन् । वातावरण त्रसित भएमा घाटा निश्चित उम्मेदवार, गुट या दललाई मात्र नभएर अन्तत: फेरि पनि मुलुकलाई नै हुनेछ ।