प्रचण्ड–सकसमा क. प्रचण्ड

प्रचण्ड–सकसमा क. प्रचण्ड


bichar– जीवी आचार्य
मङ्सिर ४ का लागि घोषणा भएको संविधानसभा निर्वाचनको मिति नजिकिँदै जाँदा आज मुलुकमा सबैभन्दा बढी चुनावी हुटहुटी कसैलाई लागेको छ भने त्यो एनेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई हो । प्रचण्ड चुनावी माहौल बनाउन देशको सार्वभौमिकताको रक्षा गर्न र लोकतन्त्रलाई मजबुत बनाउन तातेका होइनन् । प्रचण्डको प्रचण्डपीडा बेग्लै छ । लोकतान्त्रिक विधिमा चुनाव एउटा नियमित प्रक्रिया हो । जुन निश्चित समयावधिमा भइरहन्छ । एउटाले जित्छ, बाँकीले हार्छन्, तर प्रचण्डजस्ता बहुरूपी मानिसका लागि चुनाव जीवनमरणको सवाल बनिदिन्छ । प्रचण्ड आफूलाई अझै कम्युनिस्ट ठान्छन्, वर्गीय मुक्तिको सर्वहारा क्रान्तिको गुड्डी हाँक्छन् । साम्यवादको हौवा देखाउँछन् अनि त्यसको साधनचाहिँ संसदीय व्यवस्थालाई स्वीकार्छन् र प्रचण्डको अहिलेको सबैभन्दा ठूलो सकस यही हो । प्रचण्ड मात्र होइन संसारभरिकै संशोधनवादीहरूले आफूलाई बढी क्रान्तिकारी देखाएर जनतालाई भ्रमित पार्न गर्ने कुतर्क एउटै छ । माक्र्सवादको नवीनतम् प्रयोग । तर, माक्र्सवादको नवीनतम् प्रयोग भनेको माक्र्सवादका लागि हो कि माक्र्सवादको निषेधका लागि हो ? संसारभरकै संशोधनवादी गद्दारहरूझैं प्रचण्ड पनि अब माक्र्सवादमा कुनै बहस गर्न सक्दैनन् । माक्र्सवादबिनाको माक्र्सवादी हुनु प्रचण्डको पहिलो सकस हो ।
प्रचण्डमा रहेको व्यक्तिकेन्द्रित मनोवृत्ति, जुन प्रचण्डको कमजोरी नभई उनको अभ्यास हो, पनि प्रचण्डको राजनीति हो । छलछाम प्रचण्डको विशेषता हो । धोका प्रचण्डको सिद्धान्त हो । भनिन्छ सबैलाई एकपटक मूर्ख बनाउन सकिन्छ, एकजनालाई सधैं मूर्ख बनाउन सकिन्छ तर, सबैलाई सधैँ मूर्ख बनाउन सकिँदैन । तर, प्रचण्डका सम्पूर्ण हर्कतहरू झुट, फरेव र धोखापूर्ण छन् । प्रचण्डले सर्वप्रथम पन्ध्र हजार शहीदहरूलाई धोका दिए, ती शहीदहरू जो प्रचण्डको एउटा पाखण्डपूर्ण आह्वानमा लामबद्ध भएर प्राणको आहुति दिए । के तिनको बलिदानको अभीष्ट आजको जति सीमित राजनीतिक परिवर्तन मात्र थियो त ? लाखौँ घाइते, बेपत्ता र युद्धपीडितहरू प्रचण्डको धोखापूर्ण राजनीतिका अर्का सिकार हुन् । शहीदको रगतजस्तै प्रदीप्त राता अक्षरहरूले लेखिएका भित्ताका नाराहरू के थिए ? पार्टीको स्कुलिङ के थियो ? आजको जस्तो सीमित बुर्जुवा राजनीतिक परिवर्तनका लागि त्यति ठूलो बलिदान र त्याग आवश्यक थियो त ? थिएन । आजको जति सीमित राजनीतिक परिवर्तन त १९ दिने आन्दोलनजस्तो आन्दोलनले नै प्राप्त गर्न सकिन्थ्यो । यसर्थ, यो घाटाको राजनीतिको सूत्रधार प्रचण्डले त्याग, बलिदान र उत्सर्गको बहीखाता जनतालाई बुझाउनैपर्छ । प्रचण्डको अर्को सकस हो यो ।
मानिस सैद्धान्तिक हिसाबले टाट पल्टिएपछि उसका कथनी र करणीमा एकरूपता रहँदैन । प्रचण्ड के बोल्दै छन् र के गर्दै छन् स्वयम् उनलाई समेत थाहा नभएझैं गर्दै छन् । प्रचण्डलाई प्रचण्ड बनाएको राजनीतिले हो । उनी हिजो जहाँ थिए त्यहाँ पुगेको संगठन र सङ्गठनको नीतिले हो । तर, आज प्रचण्ड जहाँ छन् त्यहाँ उनीसँग राजनीति छैन, उनीसँग कुनै विचार, सिद्धान्त र नीति छैन । विचार, सिद्धान्त र नीतिबिनाको पार्टीको हबिगत हेर्न टाढा जानै पर्दैन, नेकपा एमाले नामधारी पार्टीलाई हेरे पुग्छ । नेकपा एमालेको ०४६ सालदेखि ०७० सम्मको इतिहास हेरे पुग्छ । उसले त्यो अवधिमा खेलेको राजनीतिक भूमिका मात्र हेरे पनि ध्वंसात्मक प्रतिपक्ष त्योभन्दा लज्जित उदाहरण अन्त कतै नपाइन सक्छ । नेपाली राजनीतिलाई अर्को एमाले चरित्रको आवश्यकता छैन । नेपाली राजनीतिलाई सधैँ अस्थिर बनाउन एउटा एमाले पर्याप्त छ, तर स्वयम् प्रचण्ड यतिबेला वैचारिक अकर्मण्यताको जुन खाडलमा छन् त्यसलाई उनले अर्को मदन भण्डारीजत्तिकै संशोधनवादी र उनको पार्टीलाई एमालेजस्तै ढुलमुले बनाउने निश्चित छ, तर उनी यो यथार्थलाई स्वीकार गर्ने पक्षमा छैनन् ।
भनिन्छ, नेतृत्वले सुदूरभविष्य आँकलन, संश्लेषण र विश्लेषण गर्न सक्नुपर्छ । तर, नेपालको सन्दर्भमा कुनै पनि राजनीतिक पार्टीको नेतृत्वमा त्यस्तो दूरदृष्टि पाइँदैन । राजनीति त त्यागको पर्याय हो । तर, नेपाली राजनेताहरूको कार्यशैली हेर्दा उनीहरूमा त केवल आत्मतुष्टि मात्र छ । कुनै पनि हालतमा जित्नुपर्छ भन्ने हठी भावनाले उनीहरूले जितको वास्तविक अवसर गुमाएका छन् । प्रचण्ड यस मानेमा सबैभन्दा अग्रपङ्क्तिमा छन् । प्रचण्ड नेपाली राजनीतिका सर्वाधिक पराजित खेलाडी हुन् । तर, उनी हारको यो अविराम शृङ्खलामा पनि विजयी भएकै आत्मश्लाघामा रमाइरहेका छन् । सत्यलाई आत्मसात् गर्न नसक्नु प्रचण्डको अर्को सकस हो । राजनीतिक सङ्क्रमण लामो समयसम्म कायम रहँदा मुलुकको अन्य सम्पूर्ण प्रक्रिया अवरुद्धझैं भएको छ । स्थानीय निकायहरू एक दशकदेखि जनप्रतिनिधिविहीन छन्, विकासको गति ठप्प छ । रोजगारीको अवसर घटेको छ, उत्पादकत्व गिर्दो छ । देशबाट युवा वर्ग पलायन हुने क्रम बढेको छ । व्यापारघाटा बढेर अर्बौ पुगिसक्यो । यस्तो अवस्थामा केवल गणतन्त्र प्राप्तिको रुमानी सफलतामा नेतृत्व अल्झिरहँदा देशमा समग्र राजनीतिक पार्टीहरूप्रति जनाधार घटेको छ । नेतृत्वप्रति विकर्षण बढ्दो छ । नेताहरूले आफ्नो पोलिटिकल हाइट घटेको महसुस गरेकै होलान् र यथार्थमा उनीहरूको व्यक्तित्व खस्कँदो छ । यसरी व्यक्तित्व गुमाउने नेताको अग्रपङ्क्तिमा पर्छन् प्रचण्ड । सार्वजनिक सभा–समारोहमा बढी नै उत्तेजित हुन्छन् प्रचण्ड, त्यसैले नेपाली जनता प्रचण्डलाई ‘बोलीको ठेगान नभएको नेता’ भन्छन् । अब बोलीको ठेगान नभएको यस्तो वाचाल नेतालाई नेपाली जनताले पत्याउने छैनन् । प्रचण्डको अर्को सकस हो यो ।
आज हरेक पार्टी आन्तरिक समस्यामा जेलिन पुगेका छन् । गुट–उपगुटले पार्टीभित्रको पद्धतिलाई चकनाचुर बनाएको छ । यसो हुनुमा मुलुकको सङ्क्रमणकाल पनि जिम्मेवार होला, तर प्रधान चुनौती भनेको पार्टीभित्र हुर्केको संरक्षणवाद, कृपावाद, नातावाद र अलोकतान्त्रिक पद्धति नै हो । तर, यो समस्या सबैभन्दा बढी एनेकपा माओवादीमा देखिएको छ । हिजोका इमानदार, सिद्धान्तनिष्ठ, त्यागी र जुझारू कार्यकर्ता बाहिरिएपछि प्रचण्डले नौरंगी नेता कार्यकर्तालाई आफ्नो पार्टीमा भिœयाएका छन् । कतिपय आपराधिक चरित्र र अपराधमा संलग्न आज प्रचण्डका क्रान्तिकारी सहयोगी बनेका छन् । जबर्जस्ती चन्दा असुलेर कुम्ल्याउने र बुथ कब्जा गरेर चुनाव जित्ने प्रचण्डको प्रचण्ड चाहना तिनले पूरा गर्न सक्नेमा प्रचुर संयय छ । प्रचण्डको चुनावी धोकाधडीविरुद्ध काङ्गे्रस, एमालेलगायतका दलले समेत शक्ति परिचालन गरे भने, चुनावमा धाँधलीरहित वातावरण बन्यो भने यसपटक चुनावमा प्रचण्ड र उनको पार्टी प्रचण्ड मतान्तरले हार्नेछ । त्यसो भयो भने प्रचण्ड के गर्लान् ? प्रचण्डको अर्को गहिरो सकस हो यो ।
प्रचण्डको टाउको दुखाइ हो उनकै पार्टी फुटेर बनेको अर्को माओवादी । राजनीतिक सहमतिका नाममा प्रचण्डले गरेका तमाम विसङ्गतिपूर्ण सम्झौतामा साक्षी बस्न अस्वीकार गरेको यो पार्टी, चुनावमा आए प्रचण्डको भोट काट्छ, यदि चुनाव बाहिर बस्यो भने यसले प्रचण्डलाई सैद्धान्तिक र नीतिगत आक्रमण गरेर प्रचण्डलाई नाङ्गेझार पार्छ । प्रचण्डलाई सैद्धान्तिक रूपले नाङ्गेझार पा-यो भने त्यसले काङ्गे्रस र एमालेलाई तत्काल फाइदा पुगे पनि नेपाली कम्युनिस्ट आन्दोलनको विरासत वैद्य माओवादीले धान्न सक्यो भने, संसदीय राजनीति काङ्गे्रस र एमाले र दर्शन र सिद्धान्तको राजनीति नेकपा–माओवादीले गर्न थाले भने प्रचण्डले के राजनीति गर्लान् ? प्रचण्डको राजनीति कहाँ पुग्ला ? राजसी सोख पाल्ने प्रचण्डको पाटीको बास भयो भने ?! प्रचण्डको वास्तविक र व्यावहारिक सकस हो यो ।
त्यसो त धोकाधडी, खुराफात र षड्यन्त्रकारी प्रचण्डले चुनाव हुन नदिन अर्को षड्यन्त्र गर्न सक्छन् । किनभने क्रान्तिलाई बीचबाटोमै अलपत्र पारेर आफ्नो स्वार्थ सिद्ध गर्न संसदीय भासमा हाम फालेका प्रचण्डलाई संसदीय राजनीति फाप्लाजस्तो छैन । त्यसो त उनले आर्जन गरेको तागत संंसदीय प्रणालीको वफादारीको निमित्त थिएन र होइन । उनले आफ्नो सारा सामथ्र्य त्यो कामका लागि खर्च गरे जुन उनको लक्ष्यबाहिरको थियो । उनले सबैलाई धोका दिए र सबैभन्दा बढी आफूलाई धोका दिए । अब हेर्न बाँकी छ, त्यति धेरै सकसका बीचमा उनले आफूलाई कसरी जनतासामु प्रभावित गर्छन् ।