व्यवसायीको समस्या समाधानका लागि सरकार तयार : मन्त्री बाँस्कोटा

व्यवसायीको समस्या समाधानका लागि सरकार तयार : मन्त्री बाँस्कोटा


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यवसायीको समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रेपलाञ्चोकको आज धुलिखेलमा आयोजित चौथो वार्षिक साधारणसभामा उनले व्यवसायीको माग बमोजिम नियम, कानून, विनियम जे बनाउनुपर्ने हो, त्यसका लागि सरकार तयार छ भने ।

मन्त्री बाँस्कोटाले उत्पादन र उत्पादकत्व वृद्धि गर्नु अहिलेको आवश्यकता हो भन्दै त्यसका लागि व्यवसाय, प्रविधि, कलालगायत सबै क्षेत्रमा सहयोग गर्न सरकार तयार रहेको बताए ।

समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर सरकार अगाडि बढेको र यसलाई मूर्तरुप दिन सबै नेपाली अग्रसर हुनुपर्ने बताउँदै उनले मुलुकको विकास र समृद्धिका लागि
खानीको सम्भाव्यता अध्ययन, उत्खनन र बजारीकरणमा पनि लाग्न व्यवसायीलाई आग्रह गरे ।

मन्त्री बाँस्कोटाले हरेक पेशा सम्मानित र पारदर्शी हुनुपर्नेमा जोड दिदैं मुलुकलाई समृद्ध बनाउने दिशामा सरकार अग्रसर भएकाले यसमा सहयोग गर्न सबैमा आग्रह गरे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले विदेशी कालिगढ निर्यात गरी काम गर्नुपर्ने अवस्थालाई निरुत्साहित गरी स्वदेशी कालिगढ उत्पादन र क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले गुणस्तर, ज्याला, समिश्रण र जर्दिमा व्यवसायी र उपभोक्त कसैसँग सम्झौता गर्न नसकिने बताए ।

नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष दानकाजी शाक्यले जिल्लाको आर्थिक विकासमा संघले महत्वपूर्ण योगदान पु¥याइरहेको चर्चा गर्दै नेपाली सीप र कलाको संरक्षण र विकास जोड दिनुपर्छ भने ।