जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने

जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने


ललितपुरको जावलाखेलस्थित खेल मैदानमा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ यही कात्तिक ८ देखि ११ गतेसम्म १७औँ प्रतियोगितात्मक गोदावरी फूलको प्रदर्शनी हुनेभएको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालले प्रदर्शनीमा व्यावसायिक ६८, प्रतियोगितात्मक दुई, कार्यालय चार र तस्बिर पारखीका लागि सेल्फी एकसमेत गरी ७५ प्रदर्शनी कक्ष रहने जनाएको छ ।

प्रतियोगितामा सहभागी नर्सरी/फर्महरुले उत्पादन गरेका मिनियचर, स्पाइडर, रिफलेक्स, इन्कर्भर र गोदावरी कट प्रजातिका गोदावारी फूलको प्रतिस्पर्धा गराइने एशोसिएशन तदर्थ समितिका अध्यक्ष सुरेशभक्त श्रेष्ठले जानकारी दिए ।

प्रदर्शनीमा भने मौसमी फूल्ने सयपत्री, मखमली र अन्य फूल तथा विरुवा पनि समावेश गरिनेछ । पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर आगन तथा बगैँचा सजाउन चाहने, फूल बिरुवाप्रति अभिरुची राख्ने, यससम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैका निम्ति प्रदर्शनी उपयोगी हुने आयोजक संस्थाको भनाइ छ ।

उक्त पुष्प मेलामा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने र रु एक करोड रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ ।