प्रहरीद्वारा बाग्लुङमा दुई सय रोपनी गाँजा फँडानी

प्रहरीद्वारा बाग्लुङमा दुई सय रोपनी गाँजा फँडानी


अवैध लागूऔषध बनाउन प्रयोग गरेको भन्दै प्रहरीले बाग्लुङस्थित ताराखोला गाउँपालिका–४ र ५ मा लगाइएको गाँजा (लेकाली भाँगो) फँडानी गरेको छ । इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले शनिबार नागी, औलासी, ठूलो हिले, सीप, भिरकुनालगायतको करिब दुई सय रोपनी क्षेत्रफलमा लगाइएको भाँगोका बोट नष्ट गरेको हो ।

वडा नं. १, २ र ३ मा पनि गाँजा फँडानी गरिने कार्यालयका प्रहरी नायव निरीक्षक सानुकाजी विष्टले जानकारी दिए । ‘बाँकी ठाउँको गाँजाखेती आइतबार र सोमबार नष्ट गर्ने तयारी छ,’ उनले भने । व्यावसायिक भाँगो खेतीको नाममा गाँजा बनाउन प्रयोग गरेपछि फँडानी गर्नुपरेको प्रहरीले जनाएको छ ।

वर्षेनी फँडानी गर्दा र सचेतना दिँदा पनि स्थानीयवासीले गाँजा बनाउने उद्देश्यका लागि ठूलो मात्रामा भाँगो खेती गर्न छाडेका छैनन् । कतिपय ठाउँमा अझै प्रहरी प्रशासन पुग्न सकेको छैन । जिल्लाको विशेषगरी पश्चिम क्षेत्रमा गाँजाको अवैध उत्पादन, बेचबिखन र ओसारपसार हुने गरेको छ ।

यता, गाँजा या भाँगो जे भनिए पनि अवैध लागूऔषध बनाउन प्रयोग गरिएकाले कानुनविपरीत भएको प्रहरीको दाबी छ । भाँगोकै फल र बोटबाट निस्कने चोप र अन्य पदार्थबाट गाँजा, चरेसजस्ता लागूऔषध बनाउने गरिएको प्रहरीको भनाइ छ ।