सातौँ एसियाली ओसिएनिया स्पोर्टस् च्यानबारा च्याम्पियनसिपका पदकविजेता खेलाडीलाई च्यानबारा स्पोर्टस् एसोसिएसन नेपालले सम्मान गरेको छ । भारतको हैदराबादमा भएको उक्त च्याम्पियनसिपमा नेपालले १४ स्वर्ण, सात रजत र सात कास्य जित्दै टिम उपविजेता भएको थियो । उक्त प्रतियोगितामा कृषला घिसिङले चार, रितेश गुरुङले तीन, विकेल अधिकारी र रूपा विकले दुई–दुई तथा करन नेपाल, भीमसेन रावल र प्रतिमा कार्कीले एक–एक स्वर्ण जितेका थिए ।
त्यस्तै अभिषेक चौधरी, करन नेपाल, सुशील थापामगर, केशवराज अधिकारी, रामकुमार लामा र देवराज थापाले एक–एक रजत हात पारेका थिए । अभिषेक चौधरीले दुई तथा कृषला घिसिङ, प्रदीप थापा, सुशील थापामगर र सङ्गीता मगरले एक–एक कास्य प्राप्त गरेका थिए । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, कोषाध्यक्ष इन्द्रबहादुर थिङ र च्यानबारा अध्यक्ष देवकुमार लामाले टोलीलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए । उक्त अवसरमा टोली प्रशिक्षक, व्यवस्थापक र अफिसियललाई पनि सम्मान गरिएको थियो ।
आमाघरका तेक्वान्दो खेलाडीको ग्रेडिङ
नेपाल पारा तेक्वान्दो डोजाङले आमाघरका तेक्वान्दो खेलाडीको ग्रेडिङ गरेको छ । ग्रेडिङमा आठ वर्षदेखि १३ वर्षमुनिका २८ तेक्वान्दो खेलाडीले सहभागिता जनाएका थिए । खेलाडीको खेलस्तर बढाउन आयोजना गरेको ग्रेडिङमा आमाघरका खेलाडीले तेक्वान्दो खेलको प्रदर्शन गरेका थिए । सो अवसरमा ग्रेडिङमा पास हुनेलाई ‘एलो’ र उत्कृष्ट हुनेले ‘एलो ग्रिन’ बेल्ट प्रदान गरिएको थियो । ग्रेडिङ राष्ट्रिय तेक्वान्दो खेलाडी सङ्गीता राउतले लिएकी थिइन् ।
आमाघरमा संरक्षित द्वन्द्वपीडित बालबालिकालाई डोजाङले विगत पाँच महिनादेखि तेक्वान्दोको प्रशिक्षण दिँदै आएको छ । ती बालबालिकालार्ई पारा ओलम्पिकमा कास्य पदकविजेता यादव कुँवरको संयोजकमा प्रशिक्षक कल्याण कुँवरले प्रशिक्षण दिँदै आएका छन् । ग्रेडिङमा सहभागी २८ जना खेलाडीलाई यशोदा श्रेष्ठले ड्रेस प्रदान गरेकी थिइन् ।
ग्रेडिङ कार्यक्रमकी मुख्य अतिथि आमाघरकी आमा दिलशोभा श्रेष्ठले आयोजकलाई धन्यवाद ज्ञापन गर्दै आफ्ना छोराछोरीको अनुहारमा खुसी छचल्किएको देख्दा निकै आनन्दको महसुस भएको बताएकी थिइन् । श्रेष्ठले सहयोगी हातहरू बढेकोमा प्रसन्नता व्यक्त गर्दै खेलाडीलाई मिहिनेतसाथ प्रशिक्षण गर्न अह्राइन् । सो ग्रेडिङमा नेपाल पारा तेक्वान्दोका उपाध्यक्ष मोहनकुमार कार्की, भीम केसी र वरिष्ठ खेलकुद पत्रकार श्रीविक्रम भण्डारीको उपस्थिति रहेको थियो ।
आर्चरी अध्यक्ष श्रेष्ठको निधन
नेपाल आर्चरी सङ्घका अध्यक्ष लक्ष्मण श्रेष्ठको आइतबार ४७ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कको नसासम्बन्धी रोगबाट पीडित श्रेष्ठलाई शुक्रबार माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । सोही अस्पतालमा करिब २ बजेर १० मिनेटमा उनलाई मृत घोषणा गरिएको बताइएको छ । स्व. श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य, नेपाल ओलम्पिक कमिटीका सदस्य, नेपाल खेलकुद महासङ्घका प्रथम उपाध्यक्ष र सिन क्योकुसिन करातेका संस्थापकसमेत हुन् । श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न त्रिपुरेश्वरस्थित राखेप हातामा राखिएको थियो ।
राखेप उपाध्यक्ष पीताम्बर तिम्सिना, सदस्यसचिव युवराज लामा, कोषाध्यक्ष इन्द्रबहादुर थिङ र अन्य पदाधिकारी, नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठ र पदाधिकारी, विभिन्न राष्ट्रिय खेल सङ्घका अध्यक्ष र पदाधिकारी, कर्मचारी, प्रशिक्षक, खेलाडी, शुभचिन्तक, सञ्चारकर्मी, परिवारजनलगायतले श्रेष्ठको पार्थिव शरीरमा पुष्पगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । स्व. श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।
प्रतिक्रिया