तेस्रो नजर

तेस्रो नजर


pathakmanchतेस्रोलिङ्गीलाई यसरी ठगे ठूला दलले
राजनीति फोहोरी खेल रहेछ । गुलिया आश्वासन दिने र पिसाबको न्यानो तुल्याइदिने राजनीतिको चरित्र रहेछ । आफूलाई मै हुँ भन्ने राजनीतिक दलका नेताहरूलाई यो भनाइ तीतो लाग्न सक्छ, तर वास्तविकता यही नै भइदियो । एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेले दोस्रोपटक हुन लागेको संविधानसभा चुनावमा समलिङ्गी–तेस्रोलिङ्गीको प्रतिनिधित्व गराउने आश्वासन दिए, तर प्रत्यक्षतर्फको दुई सय ४० निर्वाचन क्षेत्र र समानुपातिकतर्फको तीन सय ३५ सदस्यीय बन्दसूचीमा एकजना पनि समलिङ्गी–तेस्रोलिङ्गीको नाम राख्न सकेनन् ।
अब आफूहरूको मुद्दा राजनीतिक हुनुपर्ने भन्दै राजनीतिक दललाई साथ–सहयोग गर्दै आएका समलिङ्गी–तेस्रोलिङ्गीलार्ई मुख्य भनिएका दलले आफ्नो अधिकार लेख्ने संविधानसभामा प्रतिनिधित्व गराउनु महत्वको कुरा ठानेनन् । यो देशमा रहेका अल्पसङ्ख्यक समुदाय समलिङ्गी–तेस्रोलिङ्गीलाई ठूला भनिएका राजनीतिक दलले प्रतिनिधित्व नगराउनु दु:खद् हो । नेपालमा दोस्रोपटक आफ्नो संविधान आफँै लेख्नका लागि हुन लागेको चुनावमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व हुनुपर्छ । वर्षांैदेखि अधिकारप्राप्तिको अभियान सञ्चालन गर्दै आएका समलिङ्गी–तेस्रोलिङ्गीलाई राजनीतिक दलले खेलौना बनाउने काम गर्नुहुँदैन । राजनीतिक दलले अहिले पनि भन्न सक्छन् कि समलिङ्गी–तेस्रोलिङ्गीलाई मन्त्रिपरिषद्ले मनोनीत गर्ने २६ जनामा पार्छांै भनेर । तर, मुखले बोलेर मात्रै हुँदैन, समलिङ्गी–तेस्रोलिङ्गीलाई मन्त्रिपरिषद्बाट मनोनीत गर्ने लिखित प्रतिबद्धता मुख्य दलहरूले सार्वजनिक गर्नैपर्छ । होइन भने समलिङ्गी–तेस्रोलिङ्गीले राजनीतिक दललाई यसअघि भएका चुनावमा आफ्नो प्रतिनिधित्व नखोजी मतदान गर्दै आए पनि अब त्यो अवस्था कायम रहिरहन्छ भन्न सकिँदैन ।
अहिलेसम्म प्रत्यक्षतर्फ नवलपरासीबाट गीता सैथवारको उम्मेदवारी परेको छ भने समानुपातिकमा बाँकेबाट सद्भावना गजेन्द्रवादी पार्टीले रज्जव अलीको नाम समावेश गरेको छ । कैलालीबाट राप्रपा नेपालले मनोज शाही ‘मोनिका’को नाम समानुपातिकमा राखेको छ । तर, मुख्य तीन दल एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूचीमा एकजना पनि समलिङ्गी–तेस्रोलिङ्गीलाई प्रतिनिधित्व नगराउनु घोर विडम्बनाको कुरा हो ।
– शिल्पा चौधरी, हाल : काठमाडौं

हरिवंश हुन पाएपछि चिना किन चाहियो ?
अति लोकप्रिय कलाकार हरिवंश आचार्यद्वारा लिखित तथा प्रकाशित पुस्तक ‘चिना हराएको मान्छे’ बजारमा र फुटपाथका पत्रपत्रिका पसलहरूमा पाइन्छ । जम्मा २९४ पेज भएको किताबलाई पुस्तक पसलेले ४ सय ५० रुपैयाँ लियो । किताब खोलेर हेर्दा किताबको मूल्य लेखिएको छैन, ‘सर्वाधिकार हरिवंश आचार्य’ मात्र उल्लेख छ । पुस्तकमा मूल्य र विषयसूची उल्लेख हुनुपर्ने हो । उहाँ बहुप्रतिष्ठित व्यक्ति भएकाले होला सबै विधि पु-याउनु नपरेकोजस्तो लाग्यो । किताब पढ्दा कुनै बालक, वृद्धहरूले राष्ट्रका लागि यो काम गर्नुपर्छ भन्ने खालको कुनै सन्देश पाउन सकिनँ । बरु दाजु हरिवंशज्यू, यो किताबभन्दा तपाईंका टेलिभिजन कार्यक्रमहरू नै अति लोकप्रिय छन् । हामीजस्ताले त तपाईंलाई बोलाई कार्यक्रम गर्न सक्ने क्षमता छैन । तपाईं साक्षात हरि नै भएर टाउकोमा हात राखिदिनुभएछ भने त्यसपछि नै थाहा होला । तर, तपाईंको किताबअनुसार र पेपरको गुणस्तरअनुसार २ सय ९४ पेजको रु. ४५० का दरले एक पेजको १ रुपैया ५३ पैसा पर्छ भने तपाईंलाई नै बोलाइ एक घन्टाको कार्यक्रम गर्नुपर्दा कति मूल्य पर्ला ? र, तपाईंसँग के छैन र चिना हरायो ? हाम्रोजस्तो देशमा जन्म लिएर तपाईंजस्तो मान्छे हुन पाएपछि किन चाहियो चिना ? तपाईंलाई भनौँ– म शैलेस आचार्यदेखि रमेश पाण्डेजस्ताका घरमा भान्छे काम गर्थें, आज पनि कसैकोमा गर्दै छु, यदि मिलाएर लेख्ने मान्छे पाएमा मेरो पनि ६०० पेजको किताब बन्छ । तर, मैले त्यो गर्नु त निरर्थक हुन्छ ।
दाजु हरिवंश आचार्यज्यू, तपाईंका आफन्त भन्ने नै नेपाली जनता हुन्, तपाईंले आजसम्म हिसाब गर्ने हो भने कतिलाई हँसाएर गुन लगाउनुभयो, कतिलाई भावपूर्ण व्यङ्ग्य गरेर रुवाउनु पनि भयो होला, यसको के हिसाब ? तपाईंले जति पाउनुभएको छ– त्यो मिराबाट पनि पाउनुभयो र रमिलाबाट पनि त्यो भन्दा धेरै पाउनुहुनेछ । छोराहरू सबैका त्यही हुन्, कर्तव्य तपाईंले पालना गर्नैपर्दछ । बढी बोलेको भए क्षमा पाऊँ ।
– दामोदर पौडेल, थप्रेक–२, तनहुँ, हाल : टिचिङ अस्पताल, महाराजगञ्ज

यसरी गरिएको चुनाउले सफलता पाउला र ?
देश चुनावमा होमिएको छ । तर, सरकारले चुनाव हुने दाबी गरे पनि जनताको बुझाइमा चुनाव भए तापनि त्यसले पूर्णता पाउँदैन किनकि राजनीतिक विश्लेषकहरूको भनाइअनुसार र अधिवक्ता डा. भीमार्जुनको भनाइअनुसार ३३ दललाई बाहिर राखेर गरिएको चुनावले ३३ दलबिना संविधान बन्न सक्दैन । असफल नेताहरूको कारणले हुन लागेको चुनाव नजिक आउँदा सबै चुनाव प्रचारको एकै स्वर छ– हाम्रो पार्टीलाई अत्यधिक मत दिई विजय गराए संविधान बन्छ ।
तर, त्यो स्थिति छैन, बाहिरको प्रतिक्रिया र चुनावको प्रतिक्रिया हेर्दा, ठूला पार्टी हुन पुगेको माओवादी फुट्दा प्रचण्डको माओवादीलाई, ड्यास किरण माओवादीले चुनाव बहिष्कार गरी आन्दोलनमा उत्रेको अवस्था छ, आफ्नो अस्तित्व जोगाउन उसले जे पनि गर्न सक्छ, त्यसको तारो प्रचण्डको माओवादी पार्टीलाई जसरी भए पनि हराउने र प्रचण्डको तेजोबध गर्ने जुन शक्ति हिजो प्रचण्डको थियो त्यो आज छैन उसले आजसम्म गर्दै आएको राजनीतिक विश्लेषण गर्दा असफल हुन पुगेका छन् । जनताका माझमा पनि पार्टीलाई जिताउन जस्तोसुकै प्रचारप्रसार र हथकण्डा लगाउँदा पनि जित्ने अवस्था नदेखे आफू पराजित हुनुभन्दा चुनाव हुन नदिन नै बेस सम्झी वाईसीएल र आफ्ना पूर्वलडाकुलाई ड्यास माओवादीमा घुसाई चुनाव हुन नदिन लागे भने अचम्म मान्नुपर्दैन । प्रचण्डको राजनीति नै यस्तै छ । अन्तमा यस्तै सङ्केत देखिँदै छ नेपालभित्रको चुनावी परिदृश्य हेर्दा र जिल्लाजिल्लामा हुन गइरहेका चुनावी अशान्ति हेर्दा । यदि चुनाव निष्पक्ष हुन पुगेन भने सात अर्ब बेमौसममा खर्च हुन पुगे विश्वमा हाम्रा नेताहरूको छाप कस्तो हुन पुग्ला ? विचारणीय छ ।
– भरत अधिकारी
काँडाघारी, गोठाटार