भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको निधन भएको छ । कवि, पत्रकार एवम् प्रखर वक्ताको समेत पहिचान बनाएका वाजपेयीको ९३ वर्षको उमेरमा आज (१६ अगष्ट, २०१८) नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको हो । करिव अढाई महिनादेखि एम्समा उनको उपचार चलिरहेको थियो ।
तीन पटक भारतका प्रधानमन्त्री बनेका वाजपेयीको जन्म २५ डिसेम्बर १९२४ मा मध्यप्रदेशको ग्वालियर शहरमा भएको थियो ।
भारतीय जनता पार्टीका संस्थापक एवम् पूर्वअध्यक्ष रहेका बाजपेयीले बीजेपीलाई सत्ताको शिखरसम्म पुर्याउन अहम् भूमिका निर्वाह गरेका थिए । गैरकंग्रेस प्रधानमन्त्रीको रूपमा पाँच वर्ष कार्यकाल पूरा गर्ने उनी भारतका प्रथम प्रधानमन्त्री पनि हुन् ।
आजीवन अविवाहित रहेका बाजपेयी राजनेता त थिए नै, विपक्षीहरूले समेत जननेताकै रूपमा उनको प्रशंसा गर्दथे ।
ज्ञात रहोस्, सन् २००२ मा नेपालका माओवादी नेता प्रचण्ड र बाबुरामले भारतका तत्कालीन प्रधानमन्त्री अटलविहारी वाजपेयीसमक्ष आत्मरक्षाको गुहार लगाएका थिए । भारतविरुद्ध कुनै कदम नचाल्ने विश्वास दिलाउँदै बाजपेयीसमक्ष प्रचण्ड–बाबुरामले व्यक्तिगत एवम् माओवादी आन्दोलनको रक्षा गरिदिन आग्रह गरेपछि नेपाली राजनीतिले फरक ‘कोर्स’ लिएको चर्चा राजनीतिक वृत्तमा चल्दै आएको छ ।

प्रतिक्रिया