अब मोबाइल एप्सबाट संसारभर रेडियो नेपाल सुन्न सकिने

अब मोबाइल एप्सबाट संसारभर रेडियो नेपाल सुन्न सकिने


रेडियो नेपाल अब मोबाइल एप्सबाट पनि विश्वभर सुन्न सकिने भएको छ ।

एन्ड्रोइड भर्सनको मोबाइलमा उपयोग गर्न सकिने एप्स आज रेडियो नेपालमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरे ।

सरकारको आधिकारिक विषय सार्वजनिक गर्न रेडियो नेपालको मोबाइल एप्स सहयोगी साबित हुने विश्वास पनि मन्त्री बास्कोटाले व्यक्त गरे । ‘रेडियो नेपालले सकारात्मक कुरा पठाउनुपर्छ, नकारात्मक कुरा होइन, दिग्भ्रमित गर्ने विषयको आयु छोटो हुन्छ, यो संस्थाले राष्ट्रको प्रतिनिधित्व गर्छ, यसैले रेडियो नेपालले सरकारको मात्र नभई सबैको सही सूचना सम्प्रेषण गर्नुपर्र्छ,’ मन्त्री बाँस्कोटाले भने ।

सो अवसरमा रेडियो नेपालमा स्वर परीक्षा नलिई समाचार वाचन र कार्यक्रम चलाउन नदिन पनि उनले निर्देशन दिए । महँगो पर्ने भए पनि गुणस्तरीय प्रविधि ल्याएर काम गर्नुपर्नेमा उनको जोड थियो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले प्रसारण पहुँच नपुगेका स्थानमा मोबाइल एप्स प्रयोग गरी इन्टरनेट र वाइफाइका माध्यमबाट सुन्न सकिने बताए । एप्सबाट तीन वर्षअघिदेखिको अडियो सुन्न सकिने जनाइएको छ । हाल २१ भाषामा प्रसारण भइरहेको रेडियो नेपालमा केही प्रदेशबाट भाषा थपका लागि माग आएको छ ।

नायब कार्यकारी निर्देशक अशोक बाँस्कोटाले रु. पाँच लाखको लागतमा मोबाइल एप्स तयार भएको जानकारी दिए । रेडियो नेपालले कतिले सुन्छन् भन्ने वास्तविक तथ्य पत्ता लगाउन प्राविधिक सर्वेक्षणसमेत गर्ने तयारी गरिरहेको जानकारी पनि उनले गराए ।
०५२ देखि अनलाइनमा गएको रेडियो छिट्टै डिजिटल प्रविधिमा जाने सो अवसरमा जानकारी दिइयो । आइफोन चलाउनेका लागि छिट्टै आइओएस प्रविधिको अर्को एप्स ल्याइने तयारी छ । इष्ट लिंक डेभलपर कम्पनीले मोबाइल एप्स निर्माण गरेको हो ।