राजनीतिलाई ‘मौसमी व्यापार’ ठान्नेले किन लगाए जुलुसको ‘उर्दी’ ?

राजनीतिलाई ‘मौसमी व्यापार’ ठान्नेले किन लगाए जुलुसको ‘उर्दी’ ?


राजनीतिलाई ‘मौसमी व्यापार’जस्तो ठान्ने रविले आफूलाई फौजदारी अभियोग लागेपछि ‘पानीबाट बालुवा’मा पछारेको माछाजस्तो भएर अराजक र अराजनीतिक शैलीमा उत्रेको देखियो । आफ्नो पक्राउविरूद्ध ‘भक्तजन’हरूलाई देशभरबाट पोखरा आउन भनियो । पोखरेली जनतालाई घरघरबाट निस्केर सरकारको विरोधमा उत्रन ‘उर्दी’ जारी गरियो । अदालत परिसरबाट रविले त्यस्तो अराजकता देखाए । जननिर्वाचित प्रधानमन्त्री ओलीलाई नै उल्टो अन्टसन्ट आरोप लगाएर भ्रष्टचारीसम्म भन्न भ्याए । विधिको शासन, स्वतन्त्र न्यायालय, शक्तिपृथकीकरण र लोकतान्त्रिक मूल्य एवम् मान्यता उनले पटक्कै बुझेको देखिएन ।

आफूमाथि अदालतबाट पक्राउ पुर्जी जारी भइ अनुसन्धान अधिकारीको थुनामा पुग्दापनि उल्टो राज्यको छानबिनको लागि सहयोग गर्छु भन्नुको सट्टा राज्यको प्रणालीलाई नै प्रभावित पार्न जुलुस लगाउन ‘उर्दी’ जारी गर्नु रवि लामिछानेको ‘केटाकेटीपना’ तथा पूरै ‘कट्मेरो’ प्रवृत्ति हो । केवल चर्का स्वरमा अरुलाई आक्षेप र गाली गरेको भरमा राजनीतिमा आएका रविसँग कुनै पनि ‘भिजन’ नभएको कुरा उनकै आफ्नै दाइ हरिशरण लामिछानेले घोषणा गरेका छन् । सफल नेता र विचार त त्यो हो जसले आफ्नो राजनीतिक तथा वैचारिक नीति, दृष्टिकोण, दर्शन, मूल्य, कार्यक्रम र कार्ययोजनासहित राजनीतिमा आउने गर्दछ । रवि लामिछाने धानमा उम्रेका ‘सामा’ जस्ता मात्र भए । कहिलेकाहीँ सामा धानभन्दा पनि ठूलो बोटको हुन्छ, देखिन्छ । तर सामामा धान फल्दैन । त्यस्तै, ठूलो बोट देखिने तर फलचाहिँ नलाग्ने सामाजस्तो भयो नेपाली राजनीतिमा रविको उत्थान र पतनको चक्र ।

‘बकम्फुस्से’ तथा ‘पानीफोके’ चर्का ठूला कुरा गरेर राजनीतिमा आएका रविलाई जनताले भुलभुलैयामा परेर विश्वास गरेपनि उनले न्यूनतम लोकतान्त्रिक चरित्र पनि देखाउन सकेनन् । केवल चटकेले ‘रत्नपार्कमा औषधी बेच्न बाँदर नचाएजस्तो’ सस्तो ठगाहा प्रवृत्ति देखियो । न्यायिक निकायले पक्राउ पुर्जी जारी गरेलगत्तै उनले आफ्नो सार्वजनिक पदबाट राजीनामा दिन सक्नुपर्दथ्यो । उनको समूह राजनीतिक पार्टीमा रुपान्तरण हुन लागेको थियो भने रविको स्थानमा अर्काेलाई कार्यवाहक अध्यक्ष (सभापति) बनाउन सक्नुपर्दथ्यो । त्यो केही पनि गरिएन । बरु उल्टो पूरै शक्ति लगाएर रविको बचाउमा पोखरामा जुुलुस लगाउने ‘उर्दी’ जारी गर्नु सोह्रैआना केटाकेटीपना भयो । आखिर रविले किन त्यस्तो उर्दी जारी गरे ? किन न्यूनतम लोकतान्त्रिक संस्कार र चरित्र रविमा देखिएन ? यसको उत्तर सजिलो छ- रवि राजनीतिमा केटाकेटी हुन् । उनले नेपाली राजनीति र सामाजिक जीवनमा केहीपनि योगदान दिएका छैनन् । अर्काे व्यक्ति वा संस्थालाई आरोप र आक्षेप लगाएको भरमा ‘पानीमाथिको ओभानो’ भइटोपल्ने बाहेक केही नगरेको मान्छे रवि हो । त्यस्तो मान्छे ‘इम्याच्युअर’ नै हुन्छ । ‘मौसमी व्यापार’को रूपमा राजनीतिलाई बुझ्ने, सोच्ने र सोहीअनुसार व्यवहार गर्दै आएका रविबाट आशा राख्नु नै नेपाली जनताको ठूलो भूल भयो ।

खासमा राजनीतिक पार्टी हाँक्ने नेताबाट समाजले सिक्नु सक्नुपर्नेमा रविबाट नेपाली नागरिकले अनेकौँ अपराधकर्म गर्न पो प्रेरित गरेको जस्तो देखियो । न्यूनतम लोकतान्त्रिक चरित्र, संस्कार, संस्कृति र मूल्यलाई रविले ‘पाताल’ पुऱ्याए । जबकि लोकतन्त्रमा त्यसको महत्वपूर्ण अर्थ र सामाजिक मान्यता हुन्छ । अर्काेलाई गाली गर्ने र आरोप लगाउने नाममा जस्तोसुकै प्रकृतिका जायज–नाजायज आरोप लगाइने अलोकतान्त्रिक प्रवृत्ति रवि र रविजस्ता नयाँ भनिएका समूह एवम् मान्छेले गर्दै आए । जसले राजनीतिक संस्कृति भताभुङ्ग बन्दैछ । लोकतन्त्रमा राजनीतिक संस्कृति र संस्कार बच्न सकेन भने गणतान्त्रिक व्यवस्था ‘विहारी गणतन्त्र’ बन्दछ । बदनाम ‘बिहारी राजनीतिक संस्कृति’ जस्तो लोकतन्त्रले समाजलाई प्रदूषित मात्र बनउने हो । यसैले राजनीतिमा केवल गाली, आरोप र आक्षेप मात्र लगाउने कुराले राजनीतिक संस्कृति बिग्रने सिवाय केही हुने होइन । राजनीतिमा लोकतान्त्रिक संस्कार र संस्कृतिको विषय धेरै नै अर्थपूर्ण कुरा हो । त्यो बचाउन सकियो भने एउटा चुनावमा कम सिट जितेर पनि जनमत तथा सामाजिक हैसियत कायम रहने हुन्छ । भक्तपुरमा मात्र प्रभाव रहेको नेपाल मजदुर किसान पार्टी सानो भए पनि उसले मूल्यको राजनीति थेगेर बसेको छ । भ्रष्टाचार, अलोकतान्त्रिक गाली, ठगी, आर्थिक अपचलन र गलत संस्कृतिबाट त्यसका अध्यक्ष बिजुक्छे टाढा रहेका छन् । आफूलाई नयाँ र ठूला पार्टीले गरेनन् भन्ने नाराको भ्रम छर्दै राजनीतिमा उदाएका रविमा त्यस्तो कुनै पनि असल प्रवृत्ति र सोच देखिएन । रविबाट ‘पहिलो गाँसमै ढुङ्गा’ पाए जनताले । उल्टो ठगीखाने, लुटीहिँड्ने, भाड्ने, भ्रम छर्ने, अलोकतान्त्रिक प्रवृत्ति देखाउने र राजनीतिलाई केवल ‘मौसमी व्यापार’ मात्र ठानेर ठग्ने भाँडो बनाउने सोचशैली रविमा प्रस्ट देखियो ।

ठगी र फौजदारी आरोपमा थुनिएका रवि न पहिलो व्यक्ति हुन् न त अन्तिम व्यक्ति हुन् । पहिले पनि अनेकौँ मान्छेले न्यायिक, कानुनी र सामाजिक कारबाही भोगेका छन् । अहिले पनि भोग्दैछन् । भोलिका दिनमा पनि अपराध हुने नै छ । यहीकारण स्थायी संस्थाका रूपमा प्रहरी-प्रशासन, अदालत, प्रेस, राजनीतिक दल, संसद, सरकार, सचेत नागरिक समाज र विभिन्न निकाय राखिएका/स्विकार गरिएका हुन् । समाज रहेसम्म अपराध हुन्छ, हुन्छ । आपराधिक नियत र सोचको मान्छेले सोचेरै अपराध कर्म गर्दछ । अपराधी र ठगको कुनै छुट्टै जात, धर्म र पार्टी हुँदैन । अपराधी केवल अपराधी हो । अपराधीलाई पार्टी वा अन्य कुनै हिसाबले हेर्नु पर्दैन । अपराधीलाई कसैले काँध थापेर जोगाउनु हुँदैन । जो भए पनि अपराधकर्ममा लाग्नेलाई कानुनबमोजिम सजाय हुन्छ, हुनुपर्दछ । अपराधीलाई सजाय भएको पनि छ ।

जुनसुकै पार्टी वा व्यक्तिलाई पनि सजाय हुन्छ, हुनुपर्छ । यही मुुलुकमा तीन जना प्रहरीका आइजिपी जेल गए । काङ्ग्रेसका गृहमन्त्री भएका नेताहरू जेल परेका छन् । एमालेका पनि जेल परेका छन् । अब रविले आफूले गरेको गल्तीको लागि उनी दोषी छन्, दोषी हुन्छन् । रविले गल्ती गरेका छन् भने सजाय भोग्दछन् । तथ्य, प्रमाण देखिएन भने दोषमुक्त पनि हुन सक्दछन् । त्यसो भएर रविमाथिको छानबिनबाट आत्तिएर, तर्सिएर त्यसबाट नेपाली जनताको ध्यान मोडेर मान्छेलाई ‘उल्लु’ बनाउने र ‘भेँडाको शैली’मा ‘जयघन्टी’ भन्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न मात्र रविले जुलुसको उर्दी लगाएको प्रस्ट हुन्छ । ‘कालो खानेले कालो निकाल्छ’ भनेजस्तो रविबाट गल्ती भएको र फौजदारी प्रकृतिका कमजोरी भएको कुरा घामजस्तै छर्लङ्ग भइसक्यो ।

अब यस्तो अवस्थामा वैकल्पिक राजनीतिक शक्तिको दाबा गर्ने रविको ‘निधारमा कालो धब्बा’ लागिसक्यो । जति नै ‘उर्दी’ लगाएर जुलुस लगाएर पनि, जति युट्युबर लगाएर रविको पक्षमा जनता उर्लेको देखाइएपनि र जनता रविका पक्षमा छन् भन्ने भ्रम छर्ने कोसिस गरेपनि अनेकौँ तथ्य, प्रमाण र ‘आपराधिक साइकल’बाट रविको दोष प्रस्ट देखिइएको छ । यस्तो अवस्थामा विधिको शासनमाथि अविश्वास पैदा गर्न ‘सस्तो प्रतिरोध’को नाममा भइरहेका हर्कत ‘कर्कलाको पातको पानी’ जस्तो मात्र हुनेछ । जसको कुनै अर्थ छैन । गल्ती गरेपछि कोही बच्न सक्दैन । बच्न दिनु पनि हुँदैन । राजनीतिलाई सेवा होइन ‘मौसमी व्यापार’ र ‘भाग्यचिट्टा’ ठान्ने सोचबाट ‘नेता’ हुन आएपछि हुनेचाहिँ यस्तै हो । त्यस्ता सोच र प्रवृत्तिकालाई ‘नेता’ मान्दै भोट हालेपछि दुःख पाउने भनेको मतदाताले हो ।