वाजपेयीको अन्तिम विदाईपछि भारत शोकमा

वाजपेयीको अन्तिम विदाईपछि भारत शोकमा


भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको राजकीय सम्मानका साथ शुक्रबार अन्त्येष्टि गरिएको छ । केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको राजघाट नजिकै स्मृतिस्थलमा हजारौँको सहभागितामा उनको अन्त्येष्टि गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्वर्गीय बाजपेयीलाई धर्मपुत्री नमिता भट्टाचार्यले दागवत्ती दिएकी हुन् ।

भारतका दशौँ प्रधानमन्त्री वाजपेयीको हिजो विहीबार बेलुका ५ बजेर ५ मिनेट जाँदा देहान्त भएको थियो । झण्डै नौ हप्तादेखि उनको अल इन्डीया इन्ष्टीच्युड अफ मेडिकल साइन्स (एम्स)मा उपचार गरिएको थियो । उपचार सफल नभएपछि विहीबार ९३ वर्षको उमेरमा वाजपेयीको निधन भएको हो ।

अन्त्येष्टि समारोहमा राष्ट्रपति राम नाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्वप्रधानमन्त्री मनमोहन सिंह, उपराष्ट्रपति भेनकाय नाइडु, गृहमन्त्री राजनाथ सिंह, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, रक्षामन्त्री निर्मला सितारमण, विजेपीका वरिष्ठ नेता लालकृष्ण आडवाणी, कङ्ग्रेस अध्यक्ष राहुल गान्धी लगायतका विशिष्ट व्यक्ति तथा नेताहरु सहभागी भएका थिए ।

त्यसैगरी भूटानका राजा जिङमे केसर नाम्गेल वाङचुक, बङ्लादेशका विदेश मन्त्री अबुल असन मोहमुद अली, श्रीलङकाका कार्यबहाक विदेशमन्त्री लक्ष्मण किरएला, नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अफगानिस्तानका पुर्वराष्ट्रपति हमिद कार्जाइ पनि वाजपेयीको अन्त्यष्टी समारोहमा सहभागी हुभएका थिए ।

निधनपछि बिहीबार राती वाजपेजीको शव दिल्लीमा रहेको वाजपेयीको निवासमा राखिएको थियो भने उनलाई श्रद्धाञ्जलि दिन शुक्रबार बिहानबाट मध्याह्न १ः३० बजेसम्म दीनदयाल उपाध्याय मार्गमा रहेको विजेपीको मुख्य कार्यालयमा राखिएको थियो । त्यसपछि शवयात्रा निकालेर अन्त्येष्टी स्थलमा लगिएको थियो । तीन पटक भारतका प्रधानमन्त्री बनेका नेता वाजपेयीको अन्तिम विदाईपछि भारतमा अहिले शोक छाएको छ ।