संघीयता कार्यान्वयनमा सञ्चारकर्मीको ठूलो भूमिका : प्रदेश प्रमुख प्राडा तुम्बाहाङ

संघीयता कार्यान्वयनमा सञ्चारकर्मीको ठूलो भूमिका : प्रदेश प्रमुख प्राडा तुम्बाहाङ


प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले लोकतन्त्रको संस्थागत, गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयनमा सञ्चारकर्मीको ठूलो भूमिका रहेको बताएका छन् ।

स्थानीय उद्घोष दैनिकको १४ औँ वार्षिकोत्सव समारोहमा उनले भने, “नेपाल एक बहुजातीय, बहुभाषिक र बहुधार्मिक देश भएकाले सामाजिक सद्भाव राख्ने कार्यमा पत्रकारिता क्षेत्रले गहन जिम्मेवारी निर्वाह गर्नुपर्दछ ।”

प्रमुख प्राडा तुम्बाहाङले नेपालको संविधानले जनतालाई सूचनाको हकको ग्यारेण्टी गरेको उल्लेख गर्दै जनताको अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्ने दायित्व सञ्चारकर्मीको काँधमा आएको छ भने ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले पत्रपत्रिकाहरु समय सापेक्ष परिवर्तित हुनुपर्ने आवश्यकतामाथि जोड दिदैं व्यवसायिक पत्रकारिता गर्नुपर्ने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले लोकतन्त्र प्राप्तिका लागि सञ्चारकर्मीको ठूलो भूमिका रहेकाले यसको संस्थागत विकासमा त्यसैखालको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

नेपाली काङ्ग्रेस प्रदेश नं १ का प्रमुख सचेतक केदार कार्कीले निष्पक्ष र स्वतन्त्र पत्रकारितामा जोड दिन आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विनोद ढकालले सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने धारणा व्यक्त गरे ।