कोफीअन्नानलाई यसरी सम्झिए विश्वका नेताले

कोफीअन्नानलाई यसरी सम्झिए विश्वका नेताले


राष्ट्रसङ्घका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान भएको निधनप्रति विश्वभरबाट दुःख व्यक्त गरिएका शोक सन्देशहरू प्राप्त भएका कोफी अन्नान फाउण्डेसनले जानकारी गराएको छ । ८० वर्षीय अन्नानको शनिबार विहान निधन भएको हो ।

संयुक्त राष्ट्रसङ्घ प्रमुख एन्टोनियो गुटेर्रेसले शनिवार एक विज्ञप्ति जारी गरी राष्ट्रसङ्घका पूर्वमहासचिव अन्नानप्रति गहिरो दुःख व्यक्त गर्दै अन्नान एक असल परिणामका लागि जीवनभर प्रतिवद्ध रहँदै समानताका लागि निरन्तर काम गरेको स्मरण गरेका छन् ।

गुटेर्रेसले भनेका छन्, “धेरै रूपबाट कोफी अन्नान संयुक्त राष्ट्रसङ्घ हुनुहुन्थ्यो । उहाँले राष्ट्रसङ्घलाई नयाँ सहस्राव्दीमा अतुलनीय उचाइमा पु¥याउनुभएको थियो । अन्य साथीहरूलाई जस्तै मैले कोफी अन्नानलाई एक असल साथी भन्न पाउँदा मलाई गर्वको महशुस हुन्छ ।”

यसैबीच घानाका राष्ट्रपति नाना आकुफो अड्डाले अन्नानको मृत्युले घाना स्तब्ध भएको भन्दै उनको सम्मानमा घाना तथा यसका कुटनीतिक नियोगहरूमा हक हप्ता आधा झण्डा झुकाएर शोक मनाउने बताएका छन् ।

अमेरिकामा भएको सेप्टेम्बर ११ को घटनाले विश्व विक्षिप्त बनेका समय राष्ट्रसङ्घको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका अन्नानले विश्वलाई शान्तिका लागि एक सक्षम नेतृत्व प्रदान गरेका सन्दर्भ राष्ट्रपति नानाले स्मरण गरेका छन् ।
अन्नानले केन्यामा निर्वाचनपछि देखिएको राजनीतिक सङ्कटलाई सन् २००७ मा सफलतासाथ सम्पन्न गरेका थिए ।

फाउण्डेसनका उप प्रमुख, नर्वेका पूर्व प्रधानमन्त्री तथा विश्व स्वास्थ्य सङ्गठनका पूर्व प्रमुख ग्रो हार्लेम ब्रन्टल्याण्डले अन्नानको मृत्युपछि एक विज्ञप्ति जारी गरी कोफीले विश्वका लाखौँलाख मानिसको जीवन सुधारका लागि काम गरेका बताएका छन्।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)प्रमुख तथा अर्का नर्वेली पूर्व प्रधानमन्त्री जेन्स स्टोलटेनबर्गले पनि अन्नानले कुनै व्यक्ति एकै समयमा ठूलो मानवीय सहयोगी र बलियो नेता बन्नसक्छ भन्ने देखाएर हामीबाट विदा हुनुभएको बताए । ‘शनिबार राष्ट्रसङ्घ र विश्वले आफ्नो महान व्यक्तिलाई गुमाएको छ,’ स्टोलटेनबर्गको भनाई छ ।

राष्ट्रसङ्घका मानबअधिकार मामिला हेर्ने उच्च नियोगका जेयद राद अल हुसेनले पनि अन्नानको निधनबाट आफु स्तब्ध भएको बताएका छन् । ‘कोफी मानवीयता, इमान्दारिता र दयाका उत्कृष्ट उदाहरण हुनुहुन्थ्यो । विश्व उहाँको निधनबाट विश्वलाई अपुरणीय क्षति पुगेको छ । उहाँ हजारौँको साथी र लाखौँको नेता हुनुहुन्थ्यो’, उनले थप भनेका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि शनिबार नै पूर्व राष्ट्रसंघ प्रमुख अन्नानको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रसंघ प्रमुख गुटेर्रेसलाई एक शोक सन्देश पठाएका छन् । पुटिनले सन्देशमा लेखेका छन्, “मैले यस घडीमा अन्नानकोे विवेक र शाहस र एकदम जटील अवस्थामा पनि सहज निर्णय दिनसक्ने क्षमताको प्रशंसा गर्न चाहन्छु ।”

बेलायती प्रधानमन्त्री टरिजा मेले अन्नान एक विशिष्ठ विश्वनेता तथा राष्ट्रसङ्घका सुधारक रहेको भन्दै अन्नानको स्मरण गरेका छन् । त्यस्तै पूर्व प्रधानमन्त्री टोनी ब्लेयले अन्नान आफ्नो ‘एउटा असल’ साथी भएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत अन्नानको निधनप्रति दुःख व्यक्त गर्दै लेखेका छन्, ‘नोबेल पुरस्कार विजेता व्यक्तित्व तथा राष्ट्रसङ्घका पूर्वमहासचिव कोफी अन्नानको निधनबाट हामी अत्यन्त मर्माहित भएका छौँ । विश्वले एक उत्कृष्ठ अफ्रिकी कूटनीतिज्ञ र मानव कल्याणका लागि काम गर्ने विश्व नेता मात्र होइन अन्तराष्ट्रिय शान्ति र सुरक्षाका लागि विवेकको नेतृत्वलाई पनि गुमाएका छौँ ।’

घानामा जन्मिएका अन्नान पछिल्लो समय स्वीट्जरल्याण्डमा बसोबास गर्दै आएका थिए । अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसङ्घको प्रमुखका रूपमा दुई कार्यकाललाई सफलतापूर्वक पूरा गरेका थिए ।

उनले जीवनभर मानव समानता तथा शान्तिपूर्ण विश्वका लागि कटिबद्ध रहेर मृत्युपर्यन्त काम गरेका थिए ।

संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने अन्नान पहिलो अश्वेत अफ्रिकी नागरिक थिए । सन् २००१ मा अन्नानलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी अन्नान पछिल्ला दिनहरूमा श्रीमती नेन र तीन सन्तान अमा, काजो र नीनासहित स्वीट्जरल्याण्डमा बस्दै आएका थिए । अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।