पुल बगाएपछि बजार बगरमा परिणत

पुल बगाएपछि बजार बगरमा परिणत


गएराति परेको मुसलधारे वर्षापछि आएको बाढीेले बाह्रबिसे बजारको पक्की पुल बगाएको छ । पुलमा ढुंगा थुप्रिएपछि पानी थुनिएर बजारमा पसेपछि बजार बगरमा परिणत भएको छ ।

बाढीले बाह्रबिसे नगरपालिका ३ र ४ को बीचमा रहेको साँदी खोलाको पुल बगाएको हो । पुल बगाएपछि उक्त क्षेत्रमा आवागमन ठप्प भएको छ । बजार क्षेत्रका २२ घरमा बाढी पसेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापाले जानकारी दिए ।

अरनिको राजमार्गमा पर्ने ४० फिट लामो सो पुल चीन सरकारले २०२४ सालमा निर्माण गरेको हो । बाढीका कारण सडक सतहभन्दा करिब पाँच फिटसम्म ढुंगा र माटो थुप्रिएको छ । खोलाको पानी घरभित्र पस्न थालेको छ । स्थानीय बाढीका कारण त्रसित छन् ।

पहिरो पन्छाउन तीन स्काभेटर प्रयोग गरिएको छ । ‘पहिरो पन्छाउन समय लाग्छ,’ प्रहरी निरीक्षक थापाले भने । पुलको ठाउँमा बेलिब्रिज राख्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन इन्जिनियर अशोक तिवारीले बताए । पुल बगाएपछि खोर्लानीबारीका बासिन्दालाई दैनिक किनमेल गर्न बाधा पुगेको छ । पुल बगेपछि बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका बासिन्दा प्रभावित बनेका छन् ।