पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री बाटोमै अलपत्र

पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री बाटोमै अलपत्र


बाढीले पुल भत्काएपछि जनैपूर्णिमामा गोसाइँकुण्डमा लाग्ने मेला भर्न जाने तीर्थयात्री प्रभावित भएका छन् ।

पासाङल्हामु राजमार्गमा पर्ने त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका १ र १० जोड्ने सिमुटारस्थित गेर्खुखोलाको पुल गएराति आएको बाढीले भत्काएको हो । पुल भत्काएपछि तीर्थयात्री बाटोमै अलपत्र परेका छन् । पुल बगाएपछि रसुवासँगको यातायात सम्पर्क टुटेको छ । बाढीले पुलको रसुवापट्टिको सडक १० मिटर बगाएको छ ।

अहिले गोसाइँकुण्डमा जनैपूर्णिमा मेला लागेको छ । मुलुकका विभिन्न ठाउँबाट तीर्थयात्री मेला भर्न यहाँ आएका छन् । सडक सञ्चालनमा ल्याउने तयारी भइरहे पनि अहिले त्यो सम्भव भएको छैन । रसुवा जाने वैकल्पिक सडक त्रिशूली–तुप्चे–मनकामना–पैरेबेँशीसमेत पहिरोले बगाएपछि अवरुद्ध छ । गेर्खु खोलाको बाढीले सयौँ रोपनी खेत कटान गरेको छ । बाढीका कारण सयौँ परिवार जोखिममा परेका छन् ।