शिक्षा तथा स्वास्थ्य समितिले डा. गोविन्द केसीसँग छलफल गर्ने

शिक्षा तथा स्वास्थ्य समितिले डा. गोविन्द केसीसँग छलफल गर्ने


प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा. गोविन्द केसीसँग छलफल गर्ने भएको छ ।

समितिको आजको बैठकले विधेयकबारे आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डा. केसी, नेपाल चिकित्सक परिषद्का पदाधिकारीलगायत सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले बताए । यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षामा विपन्न तथा गरिबका लागि विशेष व्यवस्था गरेर पहुँचको सुनिश्चित गरिने प्रतिबद्धता जनाए ।

उनले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक कायम गर्ने विषयमा विधेयकमा पर्याप्त ध्यान दिइनेछ, सामाजिक रूपमा पछि परेकालाई न्याय दिने विषयलाई स्थापित गरिनेछ, समाजवादउन्मुख र समावेशीका विषयमा हामी पछि हट्न हुँदैन, सेवा क्षेत्रको रूपमा रहेको शिक्षा र स्वास्थ्यका विषयमा हामीबीच साझा सहमति हुन आवश्यक छ ।’ मौलिक अधिकारका रूपमा रहेको शिक्षा र स्वास्थ्यको विषयलाई अरू उद्योग र कारखानाको रूपमा हेरिन नहुने तर्क गर्दै मन्त्री पोखरेलले विधेयकले प्रदेशको अधिकारलाई खुम्च्याउने काम नगरेको स्पष्ट पारे ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक कायम गर्ने विषयमा विधेयकमा पर्याप्त ध्यान दिइने : शिक्षामन्त्री
शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाएर राज्यले उक्त क्षेत्रको नेतृत्व लिनुपर्ने : प्रेम सुवाल

विधेयक सैद्धान्तिक छफलमा भाग लिँदै सांसद प्रेम सुवालले आगामी पाँच वर्षभित्र शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाएर राज्यले उक्त क्षेत्रको नेतृत्व नै लिनुपर्ने बताए । समितिका सदस्य राजन केसीले राज्य संघीयताको मर्मअनुसार अघि बढ्ने हो भने सातै प्रदेशमा मेडिकल कलेज र ठूला अस्पताल खोल्नेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको धारणा व्यक्त गरे । सांसद सोमप्रसाद पाण्डेले चिकित्सा क्षेत्रको पढाइमा विदेशी विद्यार्थीलाई आकर्षण गरेर मुलुकको स्थायी रूपमा आयआर्जन वृद्धि गर्न मेडिकल कलेजको संख्या बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

सासद वृन्दा पाण्डेले स्वास्थ्य क्षेत्रलाई गैरनाफामूलक बनाउने कुरा विधेयकको प्रस्तावनामै उल्लेख गरेर चिकित्सा क्षेत्रको अध्ययनमा विद्यार्थी भर्नालाई अधिकतम समावेशी गर्न आवश्यक रहेको बताइन् । समितिका सदस्य यशोदा सुवेदी र शशी श्रेष्ठले शिक्षा र स्वास्थ्यलाई नागरिकको नैसर्गिक अधिकारको रूपमा राख्न राज्यलाई बढी उत्तरदायी बनाउनुपर्ने बताए ।

यसैगरी सांसद खगराज अधिकारीले स्वास्थ्य र शिक्षा क्षेत्रलाई निःशुल्क बनाउने सन्दर्भमा भावनामा बग्ने होइन, व्यावहारिक भएर सुझबुझका साथ निर्णयमा पुग्नु बुद्धिमानी हुने सुझाव प्रस्तुत गरे । सांसदद्वय योगेश भट्टराई र उमाकान्त चौधरीले दशकौँसम्म चिकित्सा क्षेत्रको नेतृत्व लिन सक्ने बनाउन विधेयकमाथि सरोकारवालासँग पर्याप्त छलफलको खाँचो औँल्याए ।