वैचारिक प्रतिस्पर्धाको अवसान

वैचारिक प्रतिस्पर्धाको अवसान


special-articleमानिसले आफ्नो जीवनशैली र सोचमा ल्याएको परिवर्तनलाई नै संसार परिवर्तन भएको मान्ने हो भने साँच्चै संसार बदलिएको छ र बदलिने क्रम जारी छ । प्राचीनकालमा कौटिल्य, अरिस्टोटल, कन्फ्युसियस र प्लेटोजस्ता विचारकहरूद्वारा निसृत दर्शनबाट निर्देशित या परिचालित मानव समुदाय जिनज्याक रुसो, कान्ट, फायरबाख, माक्र्स र गान्धीलगायतका विचार–दर्शन र आदर्शबाट अभिप्रेरित हुँदै एक्काइसौं शताब्दीको प्रारम्भिक चौथाइ बिताउने क्रममा छ । दोस्रो विश्वयुद्धपछि विश्व राजनीतिमा देखापरेको स्थिरता, भौतिक एवम् वैज्ञानिक विकास र सोचमा आएको परिवर्तनले मानिसलाई पुराना स्थापित विचार आदर्शबाट विस्थापित गराउँदै लगेको छ । विश्वभरि मानिसको चाहना भौतिक सुखसुविधा केन्द्रित बनेको छ । त्यसैले नयाँ विश्व आदर्श होइन अर्थबाट प्रेरित र सञ्चालित बनेको छ भनेर स्पष्ट बुझ्नुपर्दछ । जब धन बोल्न थाल्छ तब अन्य सबै पक्ष गौण र मौन रहन्छ भन्ने उक्तिको चरितार्थ आधुनिक विश्वका ‘सभ्य’ मानवले गरिरहेका छन् । अर्थतन्त्र प्रमुख हो भन्ने तथ्यलाई आत्मसात् गर्दै पश्चिमा मुलुकहरू धेरैअधिदेखि नै त्यसको साधनामा लागेका हुन् । तर, पछिल्लो चार दशकयता ल्याटिन अमेरिकी, अफ्रिकी र एसियाली मुलुकमा समेत अर्थ प्रधान चेतनाको विकास भएको छ । साम्यवादी समाजवादमा विश्वास राख्ने चाइना र भियतनामले समेत पुँजीको विकासलाई प्राथमिकताका साथ महत्व दिने राष्ट्रिय अर्थनीति अवलम्बन गरेपछि समग्र विश्व ‘अर्थतन्त्र’बाट निर्देशित हुने स्थिति सुदृढ बनेको हो । तर, जुन मुलुकमा शान्ति र राजनीतिक स्थिरता छ, जहाँका जनता सुशिक्षित एवम् सभ्य छन् र जुन राज्य आफ्ना नागरिकहरूको हितप्रति संवेदनशील हुँदै स्रोत परिचालन गरी जनताको जीवनस्तर माथि उठाउन प्रतिबद्ध छ त्यहाँ समृद्धि र सुखको उच्चतम नमुना देख्न पाइएको छ । अशिक्षा, गरिबी, दुर्बल चेतनास्तर र राजनीतिक स्थिरताको अभाव भएका मुलुकको व्यथाचाहिँ बेग्लै छ । सञ्चारको विकासका कारण त्यस्ता मुलुकका जनतामा पनि सुख र समृद्धि भनेको के हो भन्ने कुराको जानकारी भइसकेको छ । नेपाल, भुटान, नाइजेरिया या पपुवान्युगिनी जहाँसुकैका जनता हुन् तिनलाई समृद्ध एवम् सुखद जीवनशैलीबारे राम्रो जानकारी छ र आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउने चाहना हरेक विपन्न मुलुकका नागरिकमा पनि देखिन्छ । राजनीतिक अस्थिरता, दूरदर्शी एवम् इमानदार हुन नसकेका राजनीतिकर्मी तथा भ्रष्ट प्रशासनका कारण एक्काइशौं शताब्दीमा पनि मध्ययुगीन जीवन बाँच्न विवश मानिसमा आफ्नै राज्य र देशप्रतिको आस्था विनाश हुँदैछ । त्यस्ता मुलुकहरूमध्ये एउटा नेपाल पनि हो, जहाँका मानिस ‘धनचिन्तन’को उत्कर्षमा पुगेका छन् । पैसाका लागि जेसुकै गर्ने, जस्तोसुकै साधन अपनाएर भए पनि पैसा बनाउन चाहने, पैसाबिनाको जीवन व्यर्थ ठान्ने र हरेक अवसरलाई पैसासँग साट्न खोज्ने नेपाली नागरिक चेतनाले समग्र नेपाली समाजलाई विकृत र भ्रष्ट तुल्याउने खतरा बढाएको छ । संविधानसभा निर्वाचन (२०७०) का क्रममा चुनावी मैदानमा जे–जस्ता दृश्य देखिए त्यसले नेपाली राजनीतिकर्मीहरूको सक्कली तस्बिर मात्र उजागर गरिरहेको छैन, हामी नजताको प्रवृत्ति पनि सतहमा ल्याइदिएको छ । २०५६ सालको संसदीय निर्वाचनमा पाँच लाख रुपैयाँ खर्च गरेर चुनाव जित्ने उम्मेदवारले अहिले कम्तीमा पाँच करोड खर्च गर्नुपर्ने या गरेको स्थिति छ । गाउँगाउँसम्म बाटो पुगेको छ– त्यसकारण किनिएको नभए चोरीकै भए पनि मोटरसाइकलले डाँडाकाँडा ढाकेको छ । मोटरसाइकल खरिद गर्न सक्ने हैसियतका सबैमा मोटरसाइकल पाल्नसक्ने क्षमता देखिन्न र चोरीका ‘बाइक’ चढ्नेहरूमा त झन् त्यस्तो क्षमता हुने कुरै पनि रहेन । जन्मेपछि निश्चित समयमा जवानीको अवसर सबैलाई प्राप्त हुनु स्वाभाविक भए पनि कैयन नेपाली युवाले जवानीको जोस र उमङ्ग मोटरबाइकको कालो धुँवामा उडाएको अस्वाभाविक यथार्थ हामी भोग्दै छौँ । मोटरबाइकलाई इन्धन र बाइकमा साथीसहित चढ्नेलाई स्वादिष्ट भोजन तथा मदिरापानसमेतको व्यवस्था यतिबेला उम्मेदवारले गर्नु परिरहेको छ । महिना दिनसम्म त्यस्ता ‘मसलदार युवा’हरूको लालनपालनमा मात्र उम्मेदवारले लाखौँ–करोडौँ खर्च गर्नुपरेको छ । जसले बढी इन्धन, दैनिक भत्ता र गरिष्ट भोजन दिनसक्छ अधिकांश ‘आजका युवा’ त्यही पार्टीतिर आकर्षित हुन्छन्–भएका छन् । गान्धी, लिङ्कन, लेनिन, माक्र्स या माओलाई त यो ‘युवा शक्तिले’ चिन्ने कुरै भएन, दशरथ चन्द, धर्मभक्त, शुक्रराज शास्त्री, गंगालाल, पृथ्वीनारायण, जंगबहादुर, बीपी, पुष्पलाल आदि कसैलाई पनि आजका युवाले चिन्दा रहेनछन् र चिने पनि सरोकार राख्दा रहेनछन् । आजका युवाको पहिलो चाहना धन, दोस्रो चाहना धन, तेस्रो चाहना धन र चौथो चाहानाचाहिँ त्यही धनको आडमा मस्तीबाहेक अरू केही नभएको तिक्त यथार्थ चुनावी मैदानमा धेरै राम्रोसँग देख्न पाइन्छ । लाखौँ नेपाली युवा मरुभूमिलाई हरियो बनाउन परायाभूमिमा रगत र पसिना बगाउँदै छन्, त्यो एउटा यथार्थ हो । एकथरी युवाचाहिँ भबकथ mयलभथ (बिनाश्रमको धन) का पछाडि यसरी कुदिरहेका छन् जसरी एउटा हरिणका पछाडि चितुवा कुदेको दृश्य टेलिभिजन च्यानलहरूमा देख्न पाइन्छ । युवाशक्तिले आफ्नो आदर्श, सिद्धान्त, लक्ष्य र गन्तव्य नै धनलाई मात्र बनाउँदा उत्पन्न हुने सबै प्रकारका विकृति निर्वाचन मैदानमा पनि देखिएको छ । अहिले चुनावलाई दशैँसरी मनाइरहेकाहरूले चुनावपछि कसरी जीवन निर्वाह गर्लान् एउटा बेग्लै चिन्ता र प्रश्न गर्नुपर्ने अवस्था पैदा भएको छ ।
जनसाधारणले राजनीतिकर्मीहरूमाथि आस्था र विश्वास राख्न छोडेको अर्को रोचक दृश्य पनि चुनावी मैदानमा देखियो–देखिँदै छ । जो–जसले निर्वाचनमा जिते पनि अर्को चुनावयता तिनको मुख दोहो¥याएर देख्न नपाइने निष्कर्षमा जनता पुगेका रहेछन् । त्यसैले कुनै समय उधारो आश्वासनमा चल्ने राजनीति अहिले चल्न छोडेछ । विद्यालयलाई छाना, पिउने पानीको पाइप, निर्माणका लागि सिमेन्टजस्ता सामग्री तत्काल उपलब्ध गराइदिन सक्ने व्यक्तिका प्रति जनताको आकर्षण बढ्न थालेछ । काङ्गे्रस, कम्युनिस्ट या अरू कसैको नीति, विचार बुझेर मतदान गर्नेहरूको सङ्ख्या घट्दा ‘हाताहाती व्यापार’ले चुनावी बजार तातेको छ । बीस–पचास मत आफ्ना पछाडि हुनेले त हाकाहाकी मोलमोलाई गर्दारहेछन् । कसले जित्दा के हुन्छ र कस्तो संविधान बन्दा मुलुक कता पुग्छ भन्ने विषयमा जनसाधारण जानकार नहुनु एउटा पक्ष, जानकारी पाउने चासो पनि धेरै कममा मात्र देखिन्छ । जनसाधारणको सोचमा आएको यस्तो परिवर्तनले चुनाव खर्च अतुलनीय ढङ्गले बढाएको छ– विचार दर्शनको राजनीतिमा गम्भीर क्षति पु¥याएको छ ।
कारणबस मतदातामध्येका धेरैले मूल्य, मान्यता र विचार–दर्शनको राजनीति परित्याग गरे या अपनाउँदै अपनाएनन्, त्यसका अनेक कारण होलान् र मतदाताको सोचमा नकारात्मक प्रवृत्तिको बढोत्तरी हुनुमा राजनीतिकर्मी तथा बौद्धिक समुदाय पनि दोषी रहेको निष्कर्ष निस्कने आधारहरू छन् । यसपटकको निर्वाचनमा आफ्नै पार्टीका कार्यकर्ता र समर्थकहरूको परिचालनको निम्तिसमेत उम्मेदवारले विशेष कोषको व्यवस्था गर्नुप¥यो–परिरहेको छ । प्रजातन्त्र स्थापनाको निम्ति भोकै हिँड्न सक्ने या हिँडेका कार्यकर्ताहरू अब कसैलाई जिताउन या हराउनका निम्ति भोकभोकै हिँड्न तयार हुन छोडेछन् । समर्थक एवम् शुभेच्छुकहरूको भोट पाउन पनि रकमको आवश्यक पर्ने र कार्यकर्ता परिचालन पनि रकमबिना हुँदैनहुने जुन स्थिति निर्वाचन मैदानमा देखिएको छ यसले नेपालबाट विचार–दर्शन र आदर्शको राजनीति विस्थापित गर्दै लगेको पुष्टि गर्दछ । पैसा खोज्ने जनप्रवृत्तिले राजनीतिक नेतृत्वलाई थप भ्रष्टाचारी बन्न पे्ररित गर्ने या देशको राजनीति अन्तत: गुण्डा, तस्कर, व्यापारी र नवधनाढ्यको हातमा पुग्ने स्थिति बनाउने निश्चित छ ।
आदर्शवादी राजनीतिबाट सिङ्गो विश्व नै मुक्त हुँदै गइरहेको सन्दर्भमा नेपाललाई मात्र त्यसबाट अलग राख्न नसकिएला र अलग राख्न प्रत्यत्न गर्नुपर्ने कारण पनि देखिन्न । राजनीतिलाई वस्तुपरक, यथार्थपरक र कार्यपरिणामुखी तुल्याउने हो भने यसको आदर्शवादी प्रवृत्तिमा बन्ध्याकरणको अपरिहार्यता छ । तर, आदर्शवादी राजनीतिलाई विस्थापित गर्नुको अर्थ अराजकतावाद र आत्मकेन्द्रित एवम् नगदकेन्द्रित राजनीतिलाई प्रोत्साहन दिनु अवश्य होइन । तर, हामीकहाँ आदर्शवादी राजनीति विस्थापित हुँदै गर्दा त्यसको ठाउँ एजेण्डा (मुद्दा) मुखी राजनीतिले लिनुपर्नेमा नगदमुखी प्रवृत्तिले लिँदै छ । जनप्रतिनिधि चयनजस्तो पवित्र कार्यमा समेत नगद व्यवहारको प्रभाव बलियो देखिएको विद्यमान परिपे्रक्ष्यमा संविधान निर्माण गर्न सक्ने क्षमता र सामथ्र्य भएका कति इमानदार व्यक्तिहरू संविधानसभामा पुग्न सक्लान् भन्ने चिन्ता पैदा भएको छ । योग्यता, क्षमता र इमानदारी नभई धनबलको आडमा चुनाव जित्ने र जिताउने दुवै प्रवृत्ति देशघातक छ, तर राजनीतिमा घातीहरूकै बाहुल्य भएपछि कसको के लाग्दो रहेछ र ?