आध्यात्मिकताको तेस्रो आँखा

आध्यात्मिकताको तेस्रो आँखा


bichar– ब्रह्माकुमार रामसिंह ऐर
भौतिक विज्ञानको आँखाले अनेकौँ लुकेका रहस्यमय कुरालाई देख्न र जान्नमा सफलता पाएको छ, परिणामस्वरूप आजको संसारले थुप्रै क्षेत्रमा सफलताको शिखर नाघेको छ । धेरै क्षेत्रमा खोज–अनुसन्धान गरी उपलब्धि हासिल गरेको छ । विज्ञानको विद्याबाट जीवन अति तीव्रगामी साथै सुखसुविधाभोगी बनेको छ । मानिसले कार्यकुशलता र दक्षका साथै थोरै समयमा धेरै कुरा गर्न सक्ने सामथ्र्य पनि प्राप्त गरेको छ । विज्ञानका सबै उपलब्धिहरू भौतिक उन्नतिसँग मात्रै सरोकार राख्छन् । तर, उपल्लो चेतनाका लागि भने मानव समाजले पुन: आध्यात्मिक विज्ञानको ज्ञानबाट आँखा खोल्नुपर्ने आवश्यकता छ । आध्यात्मिक विज्ञानले खोल्ने आँखालाई तेस्रो नेत्र भन्ने गरिन्छ । यो आँखा ‘सेन्स अर्गान’को नभएर आन्तरिक चेतनाको आँखा हो । यसको प्रयोगबाट मात्रै मानिसले स्वयम्लाई सत्य जीवन शक्तिका रूपमा जान्न र अनुभव गर्न सक्दछ । स्वयम्लाई एक चैतन्य सत्ता आत्मा–परमात्माको आत्मिक सन्तानका रूपमा चिन्न सक्दछ । साथै स्वयम्लाई उमेररहित, समयको रेखारहित र कहिल्यै पनि अन्त नहुने, ननासिने शक्तिका रूपमा स्वीकार गर्न सक्दछ । मानिसको विश्वास छ कि मृत्यु जीवनको अन्त्य हो तर यो मान्यता असत्य र भ्रम हो । बरु मृत्यु भनेको जीवनको नयाँ सहरका लागि अर्को यात्रा हो । यस शाश्वत सत्यलाई छर्लङ्गसँग बुझ्न आध्यात्मिक ज्ञानको आँखाको नै जरूरत पर्छ ।
वास्तवमा जीवन शक्ति आत्मा कहिल्यै पनि बूढो हुने वा बच्चा हुने होइन । यसको न त जन्म नै हुन्छ न मृत्यु नै । यसले केवल पोसाक परिवर्तन गर्ने कार्य मात्र गर्छ । पञ्च महातŒवबाट निर्मित शरीरको नै मृत्यु र जन्म हुन्छ । यसको माध्यमबाट जीवनशक्ति आफ्नो भूमिका निर्वाह गरी यस जगत्मा अभिनय गर्ने गर्दछ । आत्माले गर्भमा प्रवेश गरी कर्मजन्य शरीर प्राप्त हुनुलाई जन्म र अभिनयको पार्ट समाप्तिपछि शरीर छोड्ने अवस्थालाई मृत्यु भनिएको हो । चेतन सत्ता आफैँमा सातवटा उच्च शाश्वत मूल्यहरूको अथाह भण्डार हो । जसमा ज्ञान, शान्ति, प्रेम, खुसी, पवित्रता, शक्ति र आनन्दजस्ता गुणहरू पर्दछन् । यिनीहरूलाई कहिल्यै पनि बुढ्यौली लाग्ने कुरा हुँदैन । यदि जीवनपर्यन्त यी शाश्वत मूल्यलाई धारण गरी अभ्यासमा ल्याइराख्ने हो भने जीवन जहिले पनि युवा अर्थात् जाँगरिलो, क्रियाशील र गतिशील बनिरहन्छ । शरीरको गुण, धर्मअनुसार त्यसमा फेरबदल भइरहन्छ । शरीरको जैविक, रासायनिक प्रक्रियाअनुसार यसका सम्पूर्ण पुराना कोषहरू प्रत्येक ११ महिनामा मर्ने र नयाँ जन्म लिने गर्छन् तर यसको सञ्चालक शक्ति भने ज्युँका त्युँ रहिरहन्छ । यस चेतना र जागृतिबाट मानिसलाई कहिल्यै पनि जीवनमा बूढोपन र मृत्युको भय हुँदैन । व्यक्ति जीवनको प्रत्येक अवस्थालाई सहर्ष स्वीकार गर्दछ र त्यसको आनन्द लिन सक्दछ । यस्तो मनस्थिति दिगो र दृढ राख्नका लागि मानिसले आध्यात्मिक विज्ञानको आँखा तीक्ष्ण र तेज बनाउनुपर्छ ।
जीवन एक आध्यात्मिक यात्रा र नित्य प्रक्रिया हो । यसप्रति कुनै पनि अवस्थामा नैराश्यता हुनुहुँदैन । एकपटकको कुरा हो बिजुलीबत्तीको अनुसन्धान गर्ने प्रसिद्ध वैज्ञानिक थोमस अल्बा एडिसनसँग एक महिलाले प्रश्न गर्नुभएको थियो कि थोमस बिजुलीबत्ती भनेको के हो । उत्तरमा थोमसले जवाफ दिएका थिए, मेडम बिजुली बत्ती के हो भन्ने कुरा जान्न यसलाई प्रयोग गर्नुस् थाहा पाउनुहुनेछ । ठीक त्यस्तै हाम्रो जीवन पनि हो जसको सुन्दरता र भव्यतालाई प्रदर्शन गर्न हामीहरू यस भौतिक जगत्मा व्यक्त, अवतरित भएका छौँ । जीवन आफैैँमा स्वस्फूर्त रूपमा पुनर्उत्थान हुन पुग्दछ । तर, भौतिक रूपमा हेर्दा बालक भएर जन्मिन्छ, जवान हुन्छ, प्रौढ र बूढोपन हुँदै मृत्युलाई प्राप्त गरी अन्त हुन्छ । खेल समाप्ति नै जीवनको वास्तविकता हो । यो भौतिक ज्ञानको मात्रै सत्यता हो, पूर्ण सत्यता होइन । सम्पूर्ण सत्यका लागि हामीले आध्यात्मिक ज्ञानको आँखाले हेर्नुपर्छ । भौतिक तहसम्मको जानकारीमा मात्रै विश्वास गर्ने मानिसलाई जीवनप्रति भय उत्पन्न हुन्छ र जीवनमा नैराश्यता, उदासीनता, दिक्दारी, जडता र हीनताको बोध हुने गर्छ । जब कि आध्यात्मिक आँखा प्रयोग गरी हेर्ने व्यक्ति जीवनलाई अति मूल्यवान, एक उत्कृष्ट उपहार, सुवर्ण अवसरको रूपमा सम्झन्छ । जीवनमा अनन्त आध्यात्मिक ऊर्जाको प्रवाह भएको अनुभव गर्छ । किनकि जीवन स्नेह, प्यार र खुसीको सुन्दर यात्रा हो । यो सडेर वा गलेर जाने कुरा होइन, यस सत्य सकारात्मक चिन्तनमा जीवन्त रहने गर्छ । यो कुरा केवल मान्यता, विश्वास र आदर्श मात्रै नभएर सत्य, तथ्य र जीवन दर्शन हो । यो दृढता र सत्य बोध आध्यात्मिक विज्ञानको प्रयोगले मात्रै जीवनमा स्थायी रहने गर्छ ।
खासगरी मानिस आफ्नो जीवनको वृद्ध कालखण्डका लागि खेद प्रकट गर्दै चिन्तित रहन्छन् । उनीहरूले चिन्ता गर्छन् कि अब हामी कसैको प्रयोग हुन योग्य रहेनौँ । हामी सबैको हेलाको पात्र हुन लाग्यौँ । यसप्रकारको निराशावादी, सीमित र सङ्कुचित सोचबाट पीडा थप्ने कामसिवाय अरू केही हुँदैन । वास्तवमा जीवनको प्रत्येक कालखण्ड अनेक अवसर र विशेषताको सुयोगका रूपमा प्राप्त हुने गर्छ जसलाई सहर्ष र सहृदय स्वीकार गर्न जान्नुपर्छ । साँच्चै भन्नुहुन्छ भने बुढेसकालबराबरको महान् अवसर अरू हुन सक्दैन । किनकि भौतिक शरीरको पाको उमेरसँगै आन्तरिक जीवनशक्तिले गहन अनुभव, परिपक्वता, धैर्यतालाई बोकेर ल्याएको हुन्छ । जीवन आफैँमा आन्तरिक शक्तिद्वारा पुनर्निर्माण भइरहन्छ, शरीर केवल ११ महिनाले मात्र बूढो हुन्छ त्यसपछि पुन: नयाँ सेलहरूको जन्म हुन्छ जसलाई हाम्रो स्थायी स्मृतिको शक्तिले जीर्णोद्धार गरिरहन्छ ।
वृद्ध अवस्था पाकेका सेता कपालको बेचबिखन गर्नका लागि होइन, बरु व्यक्तिले जीवनमा आर्जन गरेको बुद्धि, विवेक, अनुभव, सीप, कला र योग्यताको साटासाटका लागि हो । वृद्धकाल खण्डको फल भनेकै शान्ति, धैर्यता, एक–अर्कालाई प्यार गर्ने र मधुरता, निर्माता र स्वनियन्त्रण स्थिति प्राप्त हुनु हो । इन्द्रिय, कर्मेन्द्रियहरूमा आएको शीतलता र मनमा भएको धैर्यताले योग ध्यानको चिन्तनमा प्रशस्त सहयोग मिल्ने गर्दछ तथा वृद्धावस्थामा परमात्मा शक्तिलाई ग्रहण गर्न एकाग्रताको बल प्रदान हुन्छ । यदि मनलाई स्थिर, धीर र शालीनतामा राख्ने हो भने बूढोपनमा समेत अनेक रचनात्मक कार्य गर्न सकिन्छ । प्रसिद्ध ग्रिसका दार्शनिक सोक्रातले ८० वर्षको उमेरमा सङ्गीतबादन गर्ने हार्मोनी बाजा बजाउन सिकेका थिए । त्यस्तै गरी मिकेल एगेल्कोले ८० वर्षको उमेरमा नै कपडामा सुन्दर पेन्टिङ गरी तस्बिर बनाउन जानेका थिए । यस्तै अन्य उदाहरण पनि हुन सक्दछन् ।
वास्तवमा आध्यात्मिक विज्ञानको विधिवत् अध्ययन, चिन्तन, चेतना र जीवनमा कार्यान्वयन गर्नाले जीवन निरन्तर उत्साह, उमङ्ग, हौसला र खुसीमा रहने गर्दछ । जीवनयात्राका प्रत्येक अवस्था, कालखण्ड सबै सुखद र शुभ अवसरका रूपमा अनुभव हुने गर्छन् । व्यक्ति आफ्नो अनन्त अस्तित्वबोधमा रहनुका अतिरिक्त शाश्वत मूल्य, मान्यता र गुणले स्वयम्लाई परिमार्जन गर्न सफल हुन्छ तथा एक सुन्दर संसारको निर्माण गर्न सक्छ । यो सबै कुराको पूर्णता र उज्ज्वलीकरणका लागि आध्यात्म र विज्ञानबीच सुन्दर सेतु तयार गरी सन्तुलित जीवन पद्धतिका आधारमा सबैको स्नेह र आशीर्वाद प्राप्त गर्दै आनन्दमय जिन्दगी जिउन सकिन्छ ।