अब सच्चिने कि मच्चिने ?

अब सच्चिने कि मच्चिने ?


bichar– विनोद नेपाल
भय र त्रासकै बीच पनि आमजनताको उत्साहपूर्ण सहभागिताका साथ संविधानसभाको निर्वाचन सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको निर्वाचनको नतिजा प्राप्त भइसकेको र समानुपातिकतर्फको परिणाम पूर्णतवरले हासिल हुन बाँकी नै रहेको छ । अहिलेसम्म प्राप्त परिणामले नेपाली काङ्ग्रेस पार्टी अग्रपङ्तिमा रहने प्राय: निश्चित देखिएको छ । एमाले पार्टी दोस्रो र यसअघि पहिलो दलका रूपमा रहेको एमाओवादीलाई जनमतले तेस्रो तहमा ओरालिदिएको छ । यसरी अप्रत्यासित रूपमा जनताले तेस्रो तहमा झारिदिँदा लज्जास्पद अवस्थामा पुगेको एमाओवादी नेतृत्वले आफ्ना क्रियाकलाप या कर्महरूको पुनरावलोकन नगरीकन निर्वाचन प्रक्रियाबाट बाहिर निस्कने घुर्कीयुक्त उद्घोष गरेर जग हँसाउने काम गरेको छ, जो हास्यास्पद मात्र नभई निन्दनीय पनि हो ।
नेपाली मतदाताले पूर्ण बहुमत नदिए पनि पहिलो संविधानसभा निर्वाचनमा नयाँ शक्तिको रूपमा एमाओवादीलाई उल्लेख्य मत दिएर ठूलो दल बनाएका थिए भने साढे पाँच वर्षको अन्तरालपछि आफ्नो पूर्वनिर्णयमा परिवर्तन गर्दै लोकतान्त्रिक शक्तिहरूको पक्षमा जनताले मतदान गरेका छन् । गरिबी र अशिक्षाले आमनेपाली आक्रान्त भए पनि राजनीतिक चेतनास्तर निकै माथि रहेको पटक–पटक भएका निर्वाचन परिणामले स्पष्ट गर्दै आएका छन् । यसबाट नेपाली जनता सचेत छन्, राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्दछन् भन्ने पनि प्रमाणित हुँदै आएको छ । पटक–पटकका निर्वाचनमा यस्तो देखिएको छ । यसपटक पनि त्यही भएको छ । र, खुला राजनीतिमा आएको छोटो अवधिमै एमाओवादी जनताबाट दण्डित हुँदै छ ।
यसको कारण हो– एमाओवादीमा रहेको सर्वसत्तावादी सोच । यस्तै विधि, पद्धति र परम्पराविपरीतका क्रियाकलाप अनि आश्वासन र प्रलोभनमा अलमल्याएर राजनीतिमा हाबी हुने उसको सोच जनतालाई स्वीकार्य नहुनु पनि यसको कारण हो । एमाओवादीले भनाइ र गराइमा देखाएको भिन्नता तथा लोकतन्त्रलाई सत्ताको सिँढी उक्लने भ¥याङ मात्र बनाउन खोजेको आशङ्का बढेपछि नेपाली मतदाता उसबाट छरिएका भ्रममा नपरी सच्चा लोकतन्त्रवादी दलहरूलाई मत दिने निर्णयमा पुगेका हुन् । मतपरिणामको प्रारम्भिक सङ्केतले एमाओवादीले जतिसुकै दम्भ र घमण्ड गरे पनि जनताले उसलाई विश्वास नगरेको र उसलाई सही स्थानमा राखिदिएको भन्न करै लाग्छ ।
आफ्नो पराजयपछि एमाओवादीले जुन किसिमको असन्तुष्टि व्यक्त गरेको छ त्यसले एकातिर जनमतको उपेक्षा, अवमूल्यन र अपमान गरेको छ भने अर्कोतिर विधिको उपहास पनि गरेको छ । एमाओवादीको यो नितान्त पराजित मानसिकता हो र यसबाट एमाओवादीको सक्कली अनुहार पनि उदाङ्गो भएको छ । लोकतन्त्रको कुरा गर्ने तर लोकतन्त्रको मुखुण्डो लगाएर सर्वसत्तावाद लाद्ने आफ्नो प्रयत्न असफल र जनताबाट अस्वीकृत हुने सङ्केत प्राप्त भएपछि मतगणना प्रक्रिया नै बहिष्कार गरेर बाहिरिने कुरा गर्नुले एनेकपा माओवादी साँच्चै राजनीतिक दल हो वा कुनै अराजक समूह– छुट्याउन पनि कठिन भएको छ ।
आफ्नो चाहनाविपरीत नेपाली काङ्ग्रेस र एमालेको पक्षमा उर्लेको जनलहर देखेर एमाओवादी अत्तालिएको र उसले मतगणनाका क्रममा देखिएका समस्या जुन–जुन स्थानमा देखिएका छन् त्यहीँत्यहीँ समाधान गर्ने प्रयत्न गरी समस्या चर्काउने होइन साम्य पार्ने दिशातर्फ अग्रसर हुनुपर्नेमा यतिन्जेल आफूलाई मुलुकको ठेकेदार ठानिरहेको दलले लोकतान्त्रिक निर्वाचनको प्रारम्भिक परिणामप्रति असन्तुष्टि जनाउँदै बाहिरिनु उसको सर्वसत्तावादी सोचको उपज मात्र हो । यसले ऊ लोकतन्त्रका प्रति प्रतिबद्ध नरहेको र केवल एकछत्र शासन गर्ने मानसिकताले मात्र ग्रस्त रहेको थप पुष्टि हुन्छ ।
यस घडीमा ‘देशी–विदेशीको एमाओवादीलाई हराउने, परिवर्तन हुन नदिने र नेपाललाई गृहयुद्धमा धकेल्ने षड्यन्त्र’ भन्ने खालको एमाओवादीको प्रतिक्रिया उसको हतास एवम् पराजित मानसिकताको उपज हो नभनीरहन सकिन्न । व्यापक सहभागितामा निर्वाचन सम्पन्न भएको भन्दै खुसी व्यक्त गर्ने र मतदान केन्द्रहरूबाट मतपेटिका गणनास्थलसम्म ल्याई उत्साहका साथ मतगणनामा सरिक भए पनि परिणाम सार्वजनिक हुँदै जाँदा बहाना बनाएर प्रक्रियाबाटै बाहिरिनुले लोकतन्त्रप्रतिको उसको प्रतिबद्धतामाथि नै प्रश्न उठेको छ । मतपरिणामको प्रारम्भिक सङ्केतले जनताले एमाओवादीको लोकतन्त्रप्रतिको प्रतिबद्धतामा नै आशङ्का व्यक्त गरेको देखिन्छ । यस्तो आशङ्काको अन्त्य गर्न एमाओवादीले यसलाई सुध्रने मौकाको रूपमा लिई हालसम्मका दम्भ र घमण्ड परित्याग गरी जनमतलाई सहर्ष स्वीकार गर्दै आफ्नो हैसियतअनुसारको भूमिका निर्वाह गर्ने गरी लोकतान्त्रिक प्रक्रिया र पद्धतिमा इमानदारका साथ सरिक हुनु नै उसको हितमा हुनेछ । यो कसैको षड्यन्त्रको कारण नभई एमाओवादीको सर्वसत्तावादी सोचको कारण उत्पन्न भएको परिस्थिति भएकाले एमाओवादीले यसलाई त्यसै रूपमा स्वीकार गर्नैपर्छ । जनताले यति स्पष्टसँग पाठ सिकाउँदा पनि सिकेर सच्चिँदै अघि बढ्ने प्रयत्न नगरे अब कहिले सिक्ने ? कहिले सच्चिने ? छातीमा हात राखेर एमाओवादी नेतृत्वले सोच्नैपर्छ– अब मौका ठानेर सच्चिने कि विनाश निम्त्याउँदै मच्चिने ?
कठिन अवस्थामा नै नेतृत्वको क्षमताको परीक्षण हुन्छ । आक्रोश, आवेश र उत्तेजनाले गलत बाटोतर्फ लैजाने हुँदा नेतृत्वमा सधैँ नै धैर्य, संयम र सहिष्णुता आवश्यक हुन्छ । यसमा पनि राजनीतिक नेतृत्वमा त झन् यो गुण अनिवार्य नै हुन्छ । विजयमा अरूलाई ‘हरुवा’ भन्न गर्व गर्नेहरूले पराजय स्वीकार गर्न पनि सिक्नुपर्छ, किनकि समय र परिस्थिति सधैँ उस्तै रहँदैन । यस्तै, राजनीतिक नेताले दम्भ र घमण्ड त्याग्नुपर्छ । जे–जस्तो परिस्थिति आए पनि त्यसलाई सहजै स्वीकार्ने क्षमता मूलत: राजनीतिक नेतृत्वमा हुनुपर्छ । ‘बहुदल कि निर्दल ?’ भन्ने विषयमा ०३७ सालमा भएको जनमतसङ्ग्रहमा पञ्चायती व्यवस्थाको विजयलाई स्वर्गीय बीपी कोइरालाले र आफ्नै नेतृत्वमा ०६४ सालमा सम्पन्न प्रथम संविधानसभा निर्वाचनको परिणाम आफ्नो पक्षमा नरहँदा पनि त्यसलाई सहजै स्वीकार गरेर स्वर्गीय गिरिजाप्रसाद कोइरालाले देखाएको महानता यहाँनेर स्मरणीय हुन आउँछ । एमाओवादी नेतृत्वलाई हेक्का रहोस् ।