इरानले सार्वजनिक गऱ्यो आफ्नो पहिलो लडाकु विमान

इरानले सार्वजनिक गऱ्यो आफ्नो पहिलो लडाकु विमान


इरानले तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा मंगलबार पहिलो घरेलु लडाकु विमान सार्वजनिक गरेको छ ।

राज्य नियन्त्रित टेलिभिजनले इरानी राष्ट्रपति हस्सन रौहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा राखिएको नयाँ ‘कौसार’ विमानको ककपिटमा बसेको देखाएको छ । यो चौथो पुस्ताको लडाकु विमान हो । यस विमानमा अत्याधुनिक उपकरणहरू र बहुउद्देश्यीय राडार जडान गरिएको छ । यो विमान सतप्रशित इरानी प्रविधिबाट उत्पादन गरिएको हो ।

राज्य नियन्त्रित टेलिभिजनले यो विमानको सफलतापूर्वक परीक्षण गरिएको र सार्वजनिक उडानका लागि धावनमार्गमा राखिएको जनाएको छ । यो विमानबारे शनिबार मात्र रक्षामन्त्री अमिर हतामीले जानकारी दिए । उनले यस परियोजनबारे ज्यादै कम विवरण सार्वजनिक गरेका छन् ।

रक्षामन्त्री हतामीले इरानको प्रतिरक्षा कार्यक्रम सन् १९८० को दशकमा इराकबाट आठ वर्षसम्म लगातार आक्रमण भएदेखि नै आरम्भ गरिएको बताए । इजरायल र संयुक्त राज्य अमेरिकाले बारम्बार चेतावनी दिएपछि इस्लामिक गणतन्त्रले आफ्ना सबै विकल्प खुला राख्नुपर्दछ भन्ने मान्यताबाट अघि बढेको पनि उनले स्पष्ट गरे ।

‘हामीले इरान–इराक युद्धबाट परनिर्भर होइन आफैँ सक्षम हुनुपर्दछ भन्ने कुरा सिक्यौँ । हामीसँग स्रोत सीमित छ र न्यून लागतमै सुरक्षा प्रणालीलाई मजबुत बनाउन हामी प्रतिबद्ध छौँ,’ उनले भने ।

अमेरिकाले अर्बौं डलरका हातहतियार इरानका क्षेत्रीय प्रतिद्वन्द्वी राष्ट्रहरूलाई बेचेको छ, तर इरानमाथि प्रतिरक्षा कार्यक्रमलाई नियन्त्रण गर्न आग्रह गरिआएको छ । इरानमाथि दबाब सिर्जना गर्न अमेरिकाले आर्थिक नाकाबन्दी लगाइरहेको छ ।