राजकुमारीसँग वाजपेयीको ‘अटल-सम्बन्ध’ !

राजकुमारीसँग वाजपेयीको ‘अटल-सम्बन्ध’ !


गत साता बिहीबार निधन भएका भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको भोलिपल्ट शुक्रबार अन्तिम संस्कार गरियो । वाजपेयीको अन्तिम यात्रामा सडकमा मानवसागर नै उर्लियो । देशका भीआईपीदेखि आमनागरिकसम्म आफ्ना प्रिय नेतालाई अन्तिम बिदाइ दिन लाखौँ सङ्ख्यामा सडकमा ओर्लिए । तर, स्वर्गीय वाजपेयीलाई मुखाग्नि दिने पात्र एक महिला थिइन्, नमिता भट्टाचार्य !

आखिर को हुन् त नमिता ? धेरै भारतीय नै यो नामसँग परिचित थिएनन् । वाजपेयी आफ्ना कविता तथा कविता पाठ गर्ने शैलीका लागि जति परिचित थिए, राजनीतिमार्फत भारत राष्ट्रलाई उनले पुऱ्याएको योगदानले उनलाई जति लोकप्रिय तुल्याएको थियो, उनको व्यक्तिगत जीवनबारे चाहिँ आमनगारिक उत्तिकै ओझेलमा थिए ।

अन्तिम संस्कारको बेला मुखाग्नि दिन प्रकट भएपछि मात्र सर्वसाधारणमा जिज्ञासा जाग्न पुग्यो– ‘जीवनभर अविवाहित रहेका स्वर्गीय वाजपेयीलाई मुखाग्नि दिने यी महिला आखिर को हुन् ?’

वास्तवमा नमिता अटलबिहारी वाजपेयीकी धर्मपुत्री हुन् । राजकुमारी कौल र प्रोफेसर बीएन कौलकी छोरी नमितालाई वाजपेयीले धर्मपुत्री बनाएर पालेका थिए । वाजपेयीको प्रधानमन्त्रीत्वकालमा यिनै नमिताका श्रीमान् रञ्जन भट्टाचार्य ओएसडी (अफिसर अफ स्पेसल ड्युटी)को रूपमा प्रधानमन्त्रीको कार्यालय र निवासमा सक्रिय रहेका थिए भने त्यसबेला छोरी नमिताको पनि बोलवाला निकै चलेको थियो । प्रधानमन्त्रीबाट ठूला काम लिन चाहनेहरूले नमितालाई उपेक्षा गरेर सफलता पाउन सक्दैनथे ।

यसरी नमिता र रञ्जन हाबी हुनुको एकै मात्र कारण थियो– वाजपेयी आफ्नी छोरी र ज्वाइँमाथि अत्यन्त विश्वास एवम् भरोसा गर्दथे । यो विश्वासअनुसारकै धर्म नमिताले पनि निर्वाह गरेकी थिइन् । सत्ताशक्तिको दुरुपयोग गरी वाजपेयीलाई विवादमा पार्ने या छवि धमिल्याउने काम उनबाट भएन ।

आजीवन अविवाहित रहेका अटलबिहारी वाजपेयी र नमिताकी आमा राजकुमारी कौलबीचको ‘सम्बन्ध’ एक खास तप्कामा हरदम चासो र चर्चामा रह्यो । तर, वाजपेयीले उक्त सम्बन्धबारे कहिल्यै केही बोलेनन्् । भारतका एक वरिष्ठ पत्रकार विनोद मेहताले लेखेअनुसार जब वाजपेयी प्रधानमन्त्री थिए, तब राजकुमारी कौल, छोरी नमिता र ज्वाइँ रञ्जन वाजपेयीसँग प्रधानमन्त्री–क्वार्टरमै बस्दथे ।

अटलबिहारी वाजपेयी आफ्नो राजनीतिक जीवनमा हमेसा खुल्ला पुस्तकजस्तै थिए, जसका कारण उनका विरोधीले पनि उनलाई प्रेमपूर्ण नजर र अत्यन्त सम्मानका साथ हेर्दथे । यसरी खुला जीवन बाँचेका पात्रको निजी जिन्दगीमा प्रेमरूपी खुसीहरू आउने–जाने सिलसिलाचाहिँ उत्तिकै गुप्त रह्यो ।

जब कसैले वाजपेयीलाई विवाहसम्बन्धी प्रश्न गर्थे, उनको जवाफ हुन्थ्यो– ‘म अवश्य अविवाहित हुँ, तर ब्रह्मचारी भने होइन ।’

एक ओजश्वी वक्ता, कवि, स्वतन्त्र भारतका एक ठूला नेता एवम् तीनपटक भारतजस्तो मुलुकको प्रधानमन्त्री बनेका व्यक्ति, के वास्तवमै उनी जीवनभर ‘एक्ला’ थिए ? यस प्रश्नको पेरिफेरीमा अटलबिहारी वाजपेयीको ‘परिवार’बारे कानेखुसीको हिसाबले एउटा खास तप्कामा हरदम केही न केही चर्चा चलि नै रह्यो, तर यसको असर उनको राजनीतिक जीवनमाथि भने कहिल्यै परेको पाइएन ।

कलेजका दिनको साथी राजकुमारी कौलसँग वाजपेयीको सम्बन्ध लगातार जोडिँदै आयो । दुवै ग्वालियरको प्रसिद्ध भिक्टोरिया कलेज (रानी लक्ष्मीबाई कलेज)मा सँगै पढ्थे । राजकुमारी कौलले दिल्ली विश्वविद्यालयका प्रोफेसर बीएन कौलसँग विवाह गरिन्, र पनि अटल र राजकुमारीबीच सम्बन्धको प्रगाढता कायम नै रह्यो । राजकुमारीका साथसाथै उनका श्रीमान् बीएनसँग पनि वाजपेयीको सम्बन्ध उत्तिकै गहिरो थियो ।

राजकुमारी कौल अत्यन्त सुन्दरी कश्मिरी महिला थिइन् । उनको व्यक्तित्व ओजिलो थियो भने बोली अति मधुर र मिठासयुक्त । प्रधानमन्त्री निवासमा भेट गर्न पुग्नेहरू उनलाई माताजी भनेर सम्बोधन गर्दथे । अटलबिहारीको निकै ख्याल राख्दथिन् उनी । भान्सामा अटलका लागि के–कसरी पाक्दै छ भन्नेमा स्वयम् निगरानी राख्थिन् । टेलिभिजन हेर्ने उनको शोख थियो ।

जब प्रोफेसर कौल अमेरिका गए, श्रीमती कौल अटल निवासमा ढुक्कैले बस्न पुगिन् । राजकुमारीका दुई छोरीमध्ये कान्छी नमितालाई अटलले धर्मपुत्री बनाएको घोषणा गरे ।

अटल र राजकुमारीले आफ्नो सम्बन्धलाई कहिल्यै कुनै नाम दिएनन् । उहिल्यै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा राजकुमारी कौलले भनेकी थिइन्, ‘म र अटलबिहारीजी दुवैले कहिल्यै पनि हामीबीचको सम्बन्धबारे स्पष्टीकरण दिइरहनुपर्छ भन्ने महसुस नै गरेनौँ ।’

अटलको जीवनमा राजकुमारीको असर कति गहिरो थियो भने कसैले वाजपेयीसँग अन्तर्वार्ताका लागि समय लिनुपर्दा राजकुमारी कौलसँग गरे पुग्थ्यो । उनले स्वीकृति दिएपछि यदि अटललाई मन नपर्ने व्यक्ति नै भए पनि उनी अन्तर्वार्ता दिन बाध्य हुन्थे, राजकुमारीको वचन खेर जान दिँदैनथे । यी दुईको सम्बन्धको प्रगाढता बुझेकै कारण, जब सन् २०१४ मा राजकुमारी कौलको निधन भयो, उनको अन्तिम संस्कारमा लालकृष्ण आडवानी, राजनाथ सिंह, सुषमा स्वराज, अरुण जेटलीजस्ता भाजपाका हस्तीहरू सरिक भएका थिए । (एजेन्सीको सहयोगमा)