बेल्जियममा नेपाली समुदायबीच फुटबल र दौड प्रतियोगिता

बेल्जियममा नेपाली समुदायबीच फुटबल र दौड प्रतियोगिता


डिल्लीराम अम्माई, बेल्जियम

युरो नेपाल खेलकुद संघ बेल्जियमले यही अगस्ट १९ का दिन तिस वर्षभन्दा बढी उमेर समुहका खेलाडीहरु बीच तेश्रो रनिङशिल्ड फुटबल प्रतियोगिताका साथै महिलाहरुको २०० मिटर दौड र बालबालिकाबीच १०० मिटरको दौड प्रतियोगिता सम्पन्न गरेको छ।

बेनेलक्सका लागि नेपाली राजदुत लोकबहादुर थापाले पानसमा बत्ति बाल्दै खेल प्रतियोगिताका संयोजक ज्ञानु थापालाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए भने औपचारिक कार्यक्रमको सभापतित्व युरो नेपाल खेलकुद संघका अध्यक्ष किशन केसीले गरेका थिए।

फुटबल प्रतियागितामा हिमालयन सोसाइटी सेंत्रोदेन, नेपाली समाज ओस्टनडे, अन्नपुर्ण ब्रुसेल्स, तीन पत्ती लुभेन, किराँत समाज बेल्जियम र युरो नेपाल खेलकुद संघबीच प्रतिस्प्रधा भएकोमा किराँत समाज बेल्जियमले प्रथम पुरस्कार जितेको थियो भने दोश्रो पुरस्कार तिन पत्ती लुभेन टिमले जित्न सफल भएको थियो ।

बेष्ट प्लेयर किराँत समाजका सविन लिम्बु भए भने किपरमा तीन पत्तीका देबु श्रेष्ठ उत्कृष्ट भए। रोयल अन्त्वेर्पेन क्लब ‘आ’ समुहमा ११ बर्षे उमेर समूहबाट खेलिरहेका आशादित उज्याला बालखेलाडी गोरख घलेलाई प्रमाण पत्र र ट्रफी दिएर सम्मान गरिएको थियो।

त्यस्तै १२ वर्षे उमेर समुहको १०० मिटरको दौड प्रतियोगितामा गोरख घले प्रथम भए भने कृष्टिना सिंखडाले दोश्रो पुरस्कार हात पारिन् । राजदुत लोकबहादुर थापाले सिठ्ठी बजाएर उद्घाटन गरेको २०० मिटरको दौड प्रतियोगितामा जानुका सिंखडाले पहिलो बाजी मारिन् भने सोफिया महर्जन कार्कीले दोश्रो जित हासिल गरिन्।

खेलाडीहरुलाई पाँचकन्याले फुलका गुच्छा दिएर स्वागत गरेको उद्घाटन सत्रमा राजदुत थापाले शुभकामना दिँदै ‘यो खेलले नेपालीहरुबीच एकता र सदभावको संचार गराएको’ बताएका थिए। पुरस्कार वितरण गर्दै विशेष अतिथिहरु क्रमशः एनआरएनए बेल्जियमका अध्यक्ष लोक दहाल, नेपालबाट आएका पूर्वसभासद तथा आदिवासी जनजाती संघका पूर्व अध्यक्ष नरेन्द्रकुमार कुमाल तथा कार्यक्रमका संयोजक ज्ञानु थापा, खेलकुद संघका सल्लाहकार बालेन्द्र गुरुङ, ब्यवसायी संघका अध्यक्ष सिपी भट्ट, प्रायोजक चिजकुमार श्रेष्ठ सिलु र कृष्ण केसी लगायतले जित्नेहरुलाई हौसला प्रदान गरेका थिए भने सहभागीहरुलाई सहानुभूति दिएका थिए।

आयोजकले पुरस्कारको प्रायोजक लगायत सबै प्रकारको सहयोग गर्ने गैरआवासीय नेपाली संघ, झापाली समाज, क्षेत्री समाजलगायत संघसंस्थाहरुलाई धन्यवाद दिएका छन्।