अमेरिका–चीन व्यापार विवाद

अमेरिका–चीन व्यापार विवाद


संयुक्त राज्य अमेरिका र चीनले एक–अर्का मुलुकका सवारीसाधन, कारखाना उपकरण तथा अन्य सामग्रीमा बिहीबार अर्बौं डलरको करवृद्धिको घोषणा गरेका छन् ।

दुई महिनाको बीचमा दुवै मुलुकका उच्च अधिकारीको दोस्रो बैठक बसेलगत्तै दुवै मुलुकले करमा २५ प्रतिशत वृद्धि गरेका छन् । बुधबार मात्र आरम्भ भएको दुईदिने वार्ताको विस्तृत विवरण भने प्रकाशमा ल्याइएको छैन ।

सवारीसाधन र धातुजन्य वस्तुसमेतका दुवै मुलुकका १६ अर्ब डलरबराबरका सामग्रीमा दण्डजरिवाना लाग्नेछ । गत महिना पनि दुवै मुलुकले एक–अर्काका ३४ अर्ब डलरका सामानमा करवृद्धि गर्ने घोषणा गरिएको थियो ।

पहिलो चरणको करवृद्धि भनिएको यो घोषणासँगै दुवै मुलुकबीच अब ५० अर्ब डलरबराबरका सामानमा करवृद्धि हुनेछ ।

चीन सरकारले करवृद्धि विश्व व्यापार संगठनका नियमको उल्लंघन रहेको भन्दै अमेरिकाको आलोचना गरिरहेको छ र यसविरुद्ध चीनले कानुनी चुनौती दिने जनाएको छ ।

अमेरिकाले राज्यको अग्रसरतामा प्रविधि विकासका कार्य रोक्न बेइजिङमाथि दबाब दिँदै आएको छ, तर चीनले त्यसलाई अस्वीकार गरिरहेको छ । चीनको यस कदमले बजारमा प्रतिस्पर्धी स्थिति उत्पन्न नहुने अमेरिकाको भनाइ छ ।

तत्काल कुनै सम्झौता नहुने स्थितिप्रति संकेत गर्दै अर्थविज्ञहरूले सन् २०२० सम्म विश्वको आर्थिक वृद्धि ०.५ प्रतिशत बिन्दुको हाराहारीमा मात्र रहने चेतावनी दिएका छन् ।