वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको निधन

वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको निधन


भारतका वरिष्ठ पत्रकार कुलदीप नायरको ९५ वर्षको उमेरमा नयाँदिल्लीस्थित अस्पतालमा निधन भएको छ । उनको आजै दाहसंस्कार गरिने बताइएको छ ।

सन् १९९० मा बेलायतस्थित भारतीय उच्चायुक्तको कार्यालयमा समेत सेवा गरेका नायर सन् १९९७ मा भारतीय राज्यसभाको सदस्यमा मनोनीत भएका थिए ।

नायरको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उनी महान् बौद्धिक व्यक्तित्व रहेको बताए । ‘कुलदीप नायर हाम्रो समकालीन पुस्ताको भीमकाय बौद्धिक व्यक्तित्व हो । आफ्ना विचारमा स्पष्ट र निडर श्री नायरको कृतित्व दशकौँसम्म सम्झना भइरहनेछ । श्री नायरले आपतकालका विरुद्ध तथा राम्रो भारतका लागि व्यक्त गर्नुभएको प्रतिबद्धता अनन्तकालसम्म स्मरणीय रहनेछ,’ प्रधानमन्त्री मोदीले भनेका छन् ।

सन् २०१५ मा नायरलाई पत्रकारिताका क्षेत्रमा गरेको योगदानको स्मरणमा रामनाथ गोयन्का एक्सिलेन्स अवार्डको अठारौँ संस्करणका अवसरमा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । नायरका समसामयिक राजनीतिक तथा पत्रकारिता विषयमा १५ वटा पुस्तक प्रकाशित छन् ।