स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री

स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री


सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिएका छन् । विगत एघार वर्षको अवधिमा सातौँ प्रधानमन्त्रीका रूपमा उनले पदभार ग्रहण गर्न लागेका हुन् । औसतमा सुधारवादी ठानिएका म्याल्कम टर्नबुललाई उहाँकै लिबरल पार्टीका कट्टरपन्थीहरूले पदबाट हटाएका हुन् ।

पूर्वगृहमन्त्री एवं सत्तारुढ लिबरल पार्टीभित्र दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने पिटर डटनका कारण टर्नबुलको पद गुमेको हो । डटनले टर्नबुलका सुधारवादी कदमहरूको विरोध गर्दै आएका थिए ।

अस्ट्रेलियाको राजधानी सहर क्यानबेरामा भएको पार्टी संसदीय दलको निर्वाचनमा अर्थमन्त्रीको भूमिकामा रहेका मरिसनले टर्नबुललाई ४५–४० मतान्तरले पराजित गरेपछि उनी प्रधानमन्त्री बनेका हुन् ।
चुनावमा टर्नबुलका सहयोगी विदेशमन्त्री जुली बिसप पनि चुनावी मैदानमा थिए, तर उनी पहिलो चरणमै पराजित बने ।

‘मेरो सम्पूर्ण सहयोग स्कट मरिसनलाई हुनेछ,’ प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै डटनले भने । तर, टर्नबुलले भने साथीहरूबाट आफूमाथि धोखाधडी भएको र पिठ्युँमा छुरा हानिएको प्रतिक्रिया दिए ।

तीन वर्षदेखि सत्ताको वागडोर सम्हाल्दै आएका टर्नबुलमाथि पार्टीभित्र पहिलो संकट गत मंगलबार नै आइपरेको थियो, तर त्यतिबेला उनी अविश्वासको प्रस्ताव पारित हुनबाट जोगिएका थिए । तर, रहस्यमय तरिकाबाट मन्त्रिपरिषद्बाट केही मन्त्रीहरूले एकपछि अर्को गर्दै राजीनामा दिए, र सरकारमाथि नै संकट आइलाग्यो ।

राजनीतिबाट अवकाश लिएसँगै टर्नबुलको सिड्नी संसदीय क्षेत्रमा उपचुनाव हुनेछ ।

टर्नबुलले अब गभर्नर–जनरलसमक्ष सत्तारुढ दलभित्रको घटनाक्रमबारे जानकारी गराउनेछन् र गभर्नरले नयाँ सरकार गठन गर्नका लागि आह्वान गर्नेछन् ।

पूर्वआप्रवासनमन्त्रीको कार्यभारसमेत सम्हालेका मरिसन आप्रवासी नीति कडा बनाउनुपर्ने पक्षधर नेता मानिन्छन् ।