नगरपालिकामा पहिलोपटक टेलिफोन सेवा

नगरपालिकामा पहिलोपटक टेलिफोन सेवा


पर्वतको दोस्रो नगरपालिका फलेवासमा ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न थालिएको छ ।

सदरमुकामबाट नजिकै रहेर पनि ओझेलमा परेको फलेवासमा नेपाल टेलिकम पर्वत शाखाले पहिलो पटक ल्याण्डलाइन टेलिफोन र इन्टरनेट विस्तार गर्न थालेको हो । अहिलेसम्म सिङ्गो नगरपालिकाका बासिन्दा मोवाइल फोनको भर पर्दै आएका थिए ।

टेलिफोन सेवा नहुँदा एडिएसएल र विभिन्न निजी कम्पनीको इन्टरनेट सेवा प्रयोग हुँदै आएको थियो । स्थानीय व्यवसायीले केही वर्षअघिदेखि ल्याण्डलाइन फोन माग गर्दै आएकामा बल्ल उक्त शाखाले सेवा विस्तारका लागि सबैजसो तयारी पूरा गरिसकेको जनाएको छ ।

अहिले टावर निर्माण तथा तार बिच्छ्याउने काम भइरहेको र असोजभित्रै सेवा शुरु गरिने शाखाका निमित्त कार्यालय प्रमुख केशवप्रसाद भुसालले जानकारी दिए ।

यसअघि नेपाल टेलिकमले कुश्मा, पातीचौर, हुवास र जलजलाका बजार क्षेत्रमा ल्याण्डलाइन सेवा विस्तार गरेकामा महाशिला र विहादी गाउँपालिकामा पनि सेवा विस्तार गर्ने योजना रहेको बताइएको छ । पछिल्लो समय एउटै व्यक्तिको हातमा दुईसम्म मोबाइल भए पनि ल्याण्डलाइन नै बढी प्रभावकारी हुने भएकाले स्थानीयबासी, सङ्घसंस्था र नगरपालिकाको समेत मागका आधारमा टेलिफोन विस्तार गर्न थालिएको हो ।