राज्यले बेवास्ता गरेको भन्दै ४० हजार राहत शिक्षक सडकमा उत्रिने तयारी

राज्यले बेवास्ता गरेको भन्दै ४० हजार राहत शिक्षक सडकमा उत्रिने तयारी


पूर्व शिक्षामन्त्री एवम् उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य धनीराम पौडेलले राहत शिक्षकका मागहरु पूरा गर्नको लागि आफु प्रयत्नशील रहेको बताएका छन् । राहत शिक्षक केन्द्रीय समितिले आयोजना गरेको राहत शिक्षकको पेशागत हकहित एवम् नीतिगत व्यवस्थापन विषयक सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले भने, ‘राज्यबाट शिक्षकले आफू अनुकुलको सेवा सुविधा पाउँदै गर्दा राज्यको दायित्व र विद्यार्थीको भविष्यलाई ध्यानमा राख्नुपर्छ, योग्य र दक्ष शिक्षकलेमात्रै दक्ष शिक्षा हाँसिल हुनुसक्छ, म राहत शिक्षकले सूरु गरेको आन्दोलनको मोर्चा मै छु, तपाईहरुले उठाएका मागहरु जायज छन्, मुलुकलाई शिक्षकको दरबन्दी आवश्यक छ, आन्दोलन सहमति, सहकार्य र कार्यान्वयनलाई मध्यनजर गर्दै आन्दोलनमा होमिन पनि आग्रह गर्दछु ।’
नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक दरबन्दी पुनःवितरण कार्यदलका संयोजक एवम् पूर्व शिक्षा सचिव महाश्रम शर्माले राहत शिक्षकहरुको आन्दोलनले नीतिगत आकार लिनुपर्ने बताए ।

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले राहत शिक्षकले उठाएका मागहरुका बारेमा महासंघ सकारात्मक रहेको बताउँदै जिम्मेवार ढंगले अघि बढ्ने बताए । राहत शिक्षक र अस्थायी शिक्षकको पनि शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताउँदै उनले शिक्षाको क्षेत्रमा राहत शिक्षकले आफ्नो ऊर्जाशील समय बिताएकाले राहत शिक्षकको उचित व्यवस्थापन हुनुपर्ने बताए ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकहरुले उठाएका मागहरु पूरा नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले भने, ‘हामीले यही भदौ २३ गतेसम्म सरकारलाई हाम्रो अवस्था र मागहरुका बारेमा जानकारी गराएका छौं, यदि सरकारले भदौ २३ गतेभित्र हाम्रा मागहरु पूरा गरेन भने आन्दोलनले बिशाल रुप लिन्छ ।’

उनले अघि थपे, ‘सरकार मुलुकलाई समृद्ध भएको हेर्न चाहन्छ, मुलुक विकसित हुनुपर्छ भनिरहेको छ, मुखले भनेर मात्रै समृद्धि आउँदैन, मुलुक विकसित हुँदैन, समृद्ध नागरिकबिना समृद्धि सम्भव छैन्, समृद्ध नागरिक जन्माउने शिक्षक हो, जुन शिक्षकका सामान्य माग, न्यूनतम आवश्यकत्ता र सुविधाको ग्यारेण्टी गर्न सक्दैन भने सरकारले भनेको समृद्धि कसरी सम्भव हुन्छ ?’

उनले अघि थपे, ‘प्रधानमन्त्रीले आईसिटी कार्यक्रम ल्याउनुभयो, त्यो पनि हामीजस्ता राहत शिक्षकले पढाईरहेका छौं, ४० हजार संख्यामा रहेका राहत शिक्षकहरुले गणित, विज्ञान, अंग्रेजी र कम्प्युटरलगायतका महत्वपूर्ण विषयहरु मल्टी मिडियाद्धारा पढाईरहेका छौं ।’