इतिहासको अँध्यारो गर्तमा उभिएको युगपुरुष

इतिहासको अँध्यारो गर्तमा उभिएको युगपुरुष


bichar– अधिवक्ता जीबी आचार्य
भनिन्छ इतिहास बन्दैन, बनाइन्छ । इतिहासविद् प्रोफेसर आइकोन्सिस इतिहासलाई म्यानुप्युलेटिड फ्याक्ट अर्थात् बङ्ग्याइएको तथ्य भनी स्वीकार्छन् । उनको प्रसिद्ध कृति ‘द हिस्ट्री मेकर्स’मा उनले इतिहासका यही बङ्ग्याइएको तथ्यलाई प्रस्तुत गरेका छन् । नेपाली राजनीतिमा पनि थुपै तथ्य बङ्ग्याइएका छन्, अतिरञ्जित गरिएका छन् । यसरी तथ्यहरूलाई बङ्ग्याइनुको सोझो अर्थ कुनै पात्रलाई अतिशय उच्च मूल्याङ्कन गरिनु हो । यसरी कुनै पात्रलाई अतिशय रूपमा उच्च मूल्याङ्कन गरी देवत्वकरण गरिँदा उसकै समकालीन सहकर्मीमाथि घोर अन्याय हुनसक्छ भन्ने कटुयथार्थलाई पटक्कै ख्याल गरिएको पाइँदैन । त्यसैले थुपै्र इमानदार कर्मठ युगवेत्ताहरू इतिहासको अँध्यारो गर्ततिर धकेलिएका हुन्छन् । प्रजातान्त्रिक आन्दोलनका बहुआयामिक व्यक्तित्व सूर्यप्रसाद उपाध्याय यस्तै इतिहासको अँध्यारो गर्तमा उभिएका एकजना युगपुरुष हुन् ।
राजनीति नेपाली समाजमा आममानिसको चासो र क्षमताभन्दा बाहिरको विषय थियो । मध्यमवर्गका युवाहरू मात्र राजनीति कर्ममा आकर्षित भए पनि अधिकांश गरिब मानिस राजनीतिको कर्मबाट टाढै थिए । बनिबुतो गरेर जीविकोपार्जन गर्नुपर्ने उनीहरूमा न त त्यो उच्च कोटिको चेत नै पलाइसकेको थियो न त आवश्यकता महसुस नै, भने उच्च वर्गका युवाहरू त राजनीतिबाट निस्पृह रहनु स्वाभाविकै थियो । जीवनको भौतिकताका सम्पूर्ण सुखसयल प्राप्त यो वर्गका युवाहरूमा मोजमस्तीबाहेक अन्य कुराका लागि फुर्सद थिएन । तर सूर्यप्रसाद उपाध्याय अपवाद पो हुनुभयो । उहाँ उच्च घरानीया धनीघरको सदस्य हुनुहुन्थ्यो । उच्च शिक्षा हासिल गर्नुभएको थियो । कानुनमा पनि डिग्री हासिल थियो । शिक्षाको इन्स्पेक्टरजस्तो उच्च पदमा आसीन हुनुहुन्थ्यो । तर, यी सबै सरसुविधालाई एकातिर पन्छाएर उहाँ राजनीतिको कठिनतम् मार्गमा अग्रसर हुनुभयो । राजनीति उहाँका लागि कमाइखाने भाँडो थिएन बरु आस्थाको अविचलन सगरमाथा पो थियो । आफ्नो सम्पूर्ण जीवन प्रजातन्त्र आस्थाका लागि अर्पण गर्नुहुने सूर्यप्रसाद उपाध्याय आफैँमा एउटा युग हो, आदर्श हो, मूल्य र मान्यता हो, दर्शन हो ।
मानिसको जीवन अवसर र चुनौतीले भरिएको हुन्छ र राजनीतिकर्मी मानिसको जीवनमा यी दुवै अधिक बढी हुन्छन् । अवसरको सही उपयोग र चुनौतीको सही समाधान नगरी आममानिस पनि आफ्नो जीवनमा सफल हुन सक्दैन भने राजनीतिकर्मी मानिस पनि यी दुईको सफल समायोजनबिना किमार्थ लक्ष्यमा पुग्न सक्दैन । सूर्यप्रसाद उपाध्याय यी दुवैको कुशल संयोजक हुनुहुन्थ्यो । दरबार र भारत दुवैसँग सन्तुलित सम्बन्ध राख्न सफल उहाँको जीवनकालमा कैयौँ अवसर आए । पटकपटक दरबारले उहाँलाई प्रधानमन्त्री बन्न आग्रह ग-यो, तर उहाँले साथीहरू (खासगरी बीपी) लाई जेलमा छोडेर प्रधानमन्त्री बन्न अस्वीकार गर्नुभयो । सत्ताकै लागि जेसुकै हत्कण्डा अपनाउन र जस्तोसुकै अप्रिय निर्णय लिन सदा तम्तयार आजको नेपाली राजनीतिका खेलाडीले सूर्यबाबुले जत्तिकै इमानदारिता देखाएको भए आज नेपाली राजनीति यतिबिघ्न अस्थिर र फोहोर हुँदैन थियो होला ।
विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशमशेर, गणेशमान सिंहका समकालीन राजनीतिज्ञ सूर्यबाबु नेपाली राजनीतिका एक हस्ती हुनुहुन्थ्यो । बीपीको दाहिने हातको रूपमा क्रियाशील प्रखर बौद्धिक नेतामा हुनुपर्ने सर्वगुणसम्पन्न सूर्यबाबुलाई आज किन इतिहासले अँध्यारो पाटोमा उभिन बाध्य पारियो, यो प्रश्नको सही उत्तर आजको नेपाली राजनीतिको वस्तुगत मूल्याङ्कनमा कोसेढुङ्गा सावित हुनसक्छ । मुलुकमा प्रजातन्त्र÷लोकतन्त्रका लागि लडेको, सर्वाधिक लामो इतिहास बोकेको नेपाली काङ्गे्रस पार्टीमा सूर्यबाबुजस्तो इमानदार, कर्मनिष्ठ व्यक्तिको ठोस निष्पक्ष मूल्याङ्कन हुन सकेन भने त्यो स्वयम् नेपाली काङ्गे्रसकै लागि दुर्भाग्यपूर्ण हुन्छ । एउटा राजनीतिक पार्टी जहाँ एकजना व्यक्तिले प्रजातन्त्र आदर्शका लागि तीन दशकभन्दा बढी तन, मन र धन दिएर योगदान पु-यायो, यदि उसैमाथि न्याय हुन सकेन भने त्यस्तो पार्टीले आमजनतालाई न्याय दिन सक्छ भनेर कसरी विश्वास गर्न सकिन्छ ।
अवसरवाद नेपाली राजनीतिको आमरोग हो । समाजलाई नभई आफूलाई केन्द्रमा राखेर सोच्ने नेपाली राजनीतिको साझा प्रवृत्ति हो । के कम्युनिस्ट के लोकतान्त्रिक प्रत्येक पार्टीमा यो प्रवृत्ति हावी छ । सत्ता र कुर्सीका लागि जस्तासुकै फोहोरी र अप्राकृतिक गठबन्धन बनाउन पछि नपर्ने नेपाली राजनीतिमा आस्थाको स्निग्न शिखर सूर्यबाबुलाई आधार र कारणबिना जसरी भारतको मान्छे वा दरबारको मान्छे भनेर आरोप लगाइयो त्यसपछाडिको कुत्सित मनसाय भनेको सूर्यबाबुको तेजोबध गरेर नेपाली काङ्गे्रसलाई कोइरालाहरूको बपौती बनाउने षड्यन्त्र त थिएन– आज आमजनमानसको तीखो प्रश्न हो यो नेपाली काङ्गे्रसलाई । नेपाली काङ्ग्रेस पार्टीलाई जसरी कोइरालाहरूको पार्टीमा रूपान्तरण गरियो त्यसले स्वयम् काङ्गे्रसलाई त क्षति पु-यायो नै नेपालको लोकतान्त्रिक आन्दोलनलाई पनि फाइदा गरेन ।
सूर्यबाबुलाई स्मरण गर्ने उनका समकक्षी राजनीतिज्ञहरू चाहे ती अविराम काङ्गे्रसमै राजनीति गरिरहेका हुन् वा काङ्गे्रसइतर, कसैले पनि सूर्यबाबुको आस्थाप्रति प्रश्न उठाउन सकेका छैनन् । २०१७ सालको सेरोफेरोको सन्दर्भ यहाँ उदाहरणीय छ । वि.सं. २०१५ सालको निर्वाचनपछि नेपाली काङ्गे्रसको एकमना सरकार बन्यो र त्यसको नेतृत्व बीपी कोइरालाले गर्नुभयो तर सरकार गठनपश्चात् भारत र दरबारसँग काङ्गे्रसको खासगरी बीपीको सम्बन्ध सुमधुर हुन सकेन । प्रखर वक्ता बीपीले मुखवैरी पाउनु स्वाभाविकै थियो फलत: दरबार बीपीसँग नराम्ररी चिढियो । यस्तो अवस्थामा स्वयम् प्रजातन्त्र खतरामा पर्नु स्वाभाविक थियो । सूर्यबाबुले बीपीलाई राजीनामा गराएर सुवर्णशमशेरलाई प्रधानमनत्री बनाउँदा दरबारको रोष पनि कम हुने र प्रजातन्त्र जोगिने मध्यमार्गी समाधानका लागि पहल गर्नुभयो । यो कुरामा स्वयम् दरबार पनि सहमत थियो तर बीपी मान्नुभएन र १७ सालको घटना घट्यो । त्यसले मुलुकको प्रजातान्त्रिक अभ्यासलाई थप ३० वर्ष पछाडि धकेल्यो । यसरी आफूलाई सदा केन्द्रमा राख्ने बीपी र प्रजातन्त्र आदर्शलाई केन्द्रमा राख्ने सूर्यबाबु यी दुवैको वस्तुनिष्ठ मूल्याङ्कन गरिनुपर्दैन ?
त्यतिबेला नेपाली राजनीतिमा तीनवटा विधारधाराहरू क्रियाशील थिए । पहिलो विचारधारा तत्कालीन राजा महेन्द्रले लिएको राजनीतिक लाइन थियो– निर्बिकल्प निर्दलीय पञ्चायती व्यवस्थासँग जोडिएको विचारधारा र यसको पक्षमा क्रियाशील थिए दरबार, काङ्गे्रसभित्रका केही मानिस र कम्युनिस्ट पार्टीका तत्कालीन महासचिवसहितका केही मानिस । दोस्रो धार राजासहितको प्रजातन्त्रको पक्षमा थियो । नेपाली काङ्गे्रसले यो धारको नेतृत्व गर्दथ्यो । राजाको अभिभावकीय भूमिका मात्र हुने र जनताद्वारा निर्वाचित सदनले चुनेको प्रधानमन्त्रीले कार्यकारी भएर देश सञ्चालन गर्ने विधि मान्य हुने यो धारको आर्थिक–राजनीतिक आधार समन्वयवादी विचार नै हो । सूर्यबाबुले नेपाली काङ्गे्रसको यो राजनीतिक यथार्थलाई राम्ररी बुझ्नुभएको थियो । बरु यस मामलामा बीपी चुक्नुभएको देखिन्छ । बीपीको चिन्तन समाजवादी देखिन्छ भने राजनीतिक रणनीति राजतन्त्रात्मक बहुदलीय प्रजातन्त्र । अब यी दुईबीचमा समायोजन हुनसक्छ कि सक्दैन ? अवश्य सक्दैन । समाजवादमा राजतन्त्र अटाउन सक्दैन । त्यसो भए बीपीले किन त्यसो भन्नुभयो ? उत्तर सजिलो छ । सोभियत क्रान्तिपछि पूर्वीयुरोपलगायतका देशमा आएको आन्दोलनले समाजवादी क्रान्तिलाई विश्वभर प्रसिद्ध बनायो । त्यसैले बीपीले समाजवादलाई नेपाली काङ्गे्रसको राजनीतिक लक्ष्यको रूपमा स्वीकार त गर्नुभयो तर त्यसलाई प्राप्त गर्न, संस्थागत गर्न र विकास गर्न कुनै व्याख्या, विश्लेषण वा संश्लेषण गर्नुभएन । या त यो बीपीको राजनीतिक अल्पज्ञता थियो वा बेइमानी । तर, सूर्यबाबु राजनीतिक आधारले पनि एकदम स्पष्ट हुनुहुन्थ्यो । नेपाली काङ्गे्रसको राजनीतिक चरित्र भनेको मध्यमार्गी धार नै हो त्यसका लागि राजासहितको प्रजातन्त्र नेपाली काङ्गे्रसको राजनीतिक कार्यनीति सही थियो । यो कुरा सूर्यबाबुले राम्ररी बुझ्नुभएको थियो । तर, सूर्यबाबुले २० को दशकमै बुझेर व्याख्यासमेत गरेको कार्यनीतिलाई बुझ्न बीपीलाई थप एकदशक लाग्यो अर्थात् २०३३ सालमा बीपीले अगाडि ल्याएको राष्ट्रिय मेलमिलाप नीति कुनै मौलिक नीति नभएर सूर्यबाबुले ०२४÷२५ सालमा अगाडि सारेको नीति नै थियो ।
नेपाली राजनीतिको अर्को विडम्बनापूर्ण पाटो के छ भने नेपाली राजनीति पराधीन, परनिर्देशित रहिआएको देखिन्छ । काङ्गे्रस र कम्युनिस्ट पार्टीहरूको संस्थापन नेपालमा नहुनु, अधिकांश नेपाली नेताले सङ्घर्षकालमा अधिकतम् समय प्रवास (भारत) मा बिताउनु आमप्रवृत्ति देखिन्छ । सूर्यबाबु यो प्रवृत्तिको घोर विरोधी हुनुहुन्थ्यो । हुन पनि २००७ सालदेखि २०४६ साल र २०६३ सालका सबै राजनीतिक आन्दोलन र सहमतिहरूमा भएको भारतीय संलग्नताले सूर्यबाबु र डा. केआई सिंहजस्ता नेपालआमाका सच्चा सपुतहरूको सम्झनालाई सार्थक बनाउँछ किनभने प्रत्येकपटक विदेशी भूमिमा भएको सहमतिले नेपाल र नेपालीलाई फाइदा कम र बेफाइदा बढी नै पु-याएको छ । सूर्यबाबु विदेशी भूमिमा बसेर नेपालमा राजनीति गर्ने परम्पराको विरोधी हुनुहुन्थ्यो । ०१७ सालको राजनीतिक परिवेशलाई अपवादमा राख्ने हो भने उहाँले आफ्नो राजनीतिक जीवनको अधिकांश समय नेपालमै बिताउनुभयो ।
राजनीति पेसा होइन र बन्नु पनि हुँदैन । राजनीति धनलाभको लागि गरिने खेती पनि होइन । नेपाली काङ्गे्रसको इतिहासको अध्ययन गर्दा देखिने एउटा मीठो तथ्य भनेको पार्टीप्रतिको र जनताप्रतिको समर्पण हो । प्रजातन्त्र आदर्शका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी र कार्यकर्तालाई आदर्शका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी र कार्यकर्तालाई सक्दो सहयोग गर्ने नेतृत्वको रूपमा सूर्यबाबु हुनुहुन्थ्यो । कार्यकर्ताका लागि उहाँको घर मन्दिरजस्तो पवित्र थियो । उहाँका हात सेवा र सहयोगका लागि सदा खुला थिए । नेता भएपछि पार्टी कार्यकर्ताको संरक्षण गर्न सक्नुपर्दछ । सूर्यबाबुले त्यही गर्नुभयो । उहाँ पार्टी कार्यकर्ताका लागि अभिभावकसरह हुनुहुन्थ्यो । आर्थिक सहयोग गर्नुहुन्थ्यो । ०१७ सालको राजनीतिक ‘कू’पछाडिको समय स्वयम् उहाँका लागि समेत प्रतिकूल थियो भने त्यस्तो बेलामा कार्यकर्तालाई संरक्षण गर्नु कम चुनौतीपूर्ण थिएन । तर, सूर्यबाबुले त्यस्तो प्रतिकूल समयमा पनि कार्यकर्तालाई जसरी संरक्षण गर्न सक्नुभयो त्यो कार्य उदाहरणीय छ । उहाँ कार्यकर्ताको सुखदु:खको साथी हुनुहुन्थ्यो । आज नेपाली राजनीतिमा पार्टीहरू विघटित भइरहेका छन् । पार्टीहरू पार्टी कम र गुट–उपगुटका समूह ज्यादा भएका छन् । नेताहरू पनि नेता कम र कुनै गुट–उपगुटका टाउकेमा बदलिएका छन् । मूल्य र मान्यता खस्कँदो छ । यस्तो बेलामा सूर्यबाबुको स्मरण निस्वार्थी, त्यागी, पारदर्शी, सदाचारी, दानी नेताको स्मरण पनि हो ।
सूर्यबाबु आजको नेपाली राजनीतिको मूल प्रवृत्तिको अपवाद हुनुहुन्थ्यो । आजको नेपाली राजनीतिको मूल प्रवृत्ति अवसरवाद हो त्याग होइन, सत्ता स्वार्थ हो, बलिदान होइन । हरेक पार्टीमा देखिएको मूल प्रवृत्ति यही हो । राजनीतिको आधार हो– सामाजिक विश्लेषण, सामाजिक रूपान्तरण, आर्थिक कार्यक्रम, भूमिमाथि स्वामित्व, उत्पादनका साधन र स्रोतको वितरण, समाजमा रहेका तमाम दलित, मजदुर, किसान, युवा, बेरोजगारी, महिला आदिका समस्याको समाधानको मार्गचित्र र सामाजिक न्याय । सूर्यबाबु यी मुद्दाहरूमा विशेष चिन्तनशील हुनुहुन्थ्यो । स्वाभाविकै रूपमा उहाँ एक उच्चकोटिको राजनेता भएकाले उहाँले समाजवादी कार्यक्रमका लागि बीपीसँग पनि छलफल गर्नुभएको देखिन्छ । अत्यन्त शालीन, दूरदर्शी, अध्ययनशील, त्यागी, दानी यस्ता राजनेता आज अँध्यारो छायामा पर्नु नेपालीका लागि पीडाको विषय बनेको छ । इतिहासबाट सकारात्मक शिक्षा लिँदै हामीले सत्ताको फोहोरी दुन्दुभीबाट टाढा रहन चाहने यस्ता राजनेताहरूलाई सच्चा सम्मान अर्पण गर्न फोहोरी खेल बनेको अहिलेको राजनीतिलाई आदर्शमय अभ्यासमा परिणत गर्नु जरुरी छ ।