मालीमा विपक्षीद्वारा निर्वाचन परिणामविरुद्ध प्रदर्शन

मालीमा विपक्षीद्वारा निर्वाचन परिणामविरुद्ध प्रदर्शन


मालीको विपक्षी दलका हजारौँ समर्थकले शनिबार बामाकोमा प्रदर्शन गरेका छन् । हालै भएको निर्वाचनको मत परिणामप्रति असन्तुष्टि व्यक्त गर्दै आफू प्रदर्शनमा उत्रिएको आयोजकले बताएका छन् ।

आन्दोलनकारीले प्रदर्शन गरेको ब्यानरमा ‘हामीलाई घोषित नतिजा स्वीकार्य छैन’ र ‘आईबीके (इब्राहिम बाउबाकर केइटा) ले हाम्रो विजय रोक्न सक्दैन’ नारा लेखिएका थिए ।

राष्ट्रपतिको चयनका लागि यही अगस्ट १२ मा भएको निर्वाचनमा इब्राहिम बाउबाकर केइटाबाट पराजित भएका पूर्वमन्त्री सौमाइला सिस्सेले आन्दोलनको नेतृत्व गरेका छन् ।

दोस्रो कार्यकालका लागि विजयी घोषित केइटाले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै ६८ वर्षीय विपक्षी नेता सिस्सेले पुनः निर्वाचनको माग गरेका छन् ।

केही दिनअगाडि भएको निर्वाचनमा सिस्सेले ३२.८४ प्रतिशत मत ल्याएको घोषणा गरिएको थियो । उनलाई पराजित गरेका केइटाले भने ६७.१६ प्रतिशत मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

‘हामीले शान्त, सुखी र स्थायित्व सहितको देश चाहन्छौँ, तर निर्वाचनमा धाँधली गरेर राष्ट्रपति चयन भएको घोषणा गरिएकाले आन्दोलन गर्न बाध्य भएका हौँ,’ सिस्सेले बामाकोमा आयोजित ¥यालीलाई सम्बोधन गर्दै भने ।