‘सौर्य’को सम्पादकमा युवा पत्रकार त्रिपाठी

‘सौर्य’को सम्पादकमा युवा पत्रकार त्रिपाठी


जुझारु युवा पत्रकार विनोद त्रिपाठी सौर्य दैनिक पत्रिकामा सम्पादक नियुक्त भएका छन् । गत शुक्रबार नियुक्त भएका उनले पदबहालीसमेत गरिसकेका छन् ।

पत्रकार त्रिपाठीसँग पत्रकारितामा स्थलगत रिपोर्टिङको डेढ दशकभन्दा लामो अनुभव छ । खासगरी माओवादी द्वन्द्वकालमा उक्त आन्दोलनभित्रका बेथितिबारे उनले गरेका सशक्त समाचार सम्प्रेषण अझै पनि सम्बन्धित तह–तप्कामा चर्चाको विषय बन्ने गरेको छ । बागलुङ खटिएर काम गर्दा तत्कालीन माओवादीले वेनी सदरमुकाम आक्रमण गर्दादेखि विभिन्न घटनामा प्रत्यक्ष रुपले जोखिम मोलेर प्रभावकारी रिपोर्टिङ गरेवापत उनी प्रशंसित भएका थिए ।

उनले बागलुङ, कास्की, चितवन, मुस्ताङलगायतका जिल्लामा बसेर खोजमुलक सामग्री समाचारको रूपमा सार्वजनिक गरे । ०६२ सालमा तत्कालिन माओवादीले ज्यान लिने धम्की दिएपछि उनि केही दिन काठमाडौं पलायन हुन बाध्य भए । त्यतिबेलाको अन्तर्राष्ट्रिय रेडक्रस संस्था आइसिआरसी, संयुुक्त राष्ट्रसंघको अनमिन, नेपाल पत्रकार महासंघ, मानवअधिकार तथा शान्ति समाज, इन्सेक, एम्नेस्टिी इन्टरनेशनल नेपाल लगायतका निकायले तत्कालीन माओवादीले त्रिपाठीसँग माफी माग्नुपर्ने र धम्की दिने ब्यक्तिलाई कारवाही गर्नुपर्ने आवाज उठाएका थिए । माओवादीले माफी माग्दै तत्कालीन चितवन जिल्ला इन्चार्ज घनश्याम दाहाललाई ६ महिना निलम्बन गरेको थियो । उनै दाहालले सञ्चारकर्मी त्रिपाठीलाई फोन गरेर ५ दिनभित्र मारिदिने धम्की दिएको प्रसङ्गले उतिबेला सचेत तप्कामा सनसनी फैलाएको थियो ।

युवा पत्रकार त्रिपाठीले तराईदेखि हिमालसम्मको पत्रकारिताको अनुभव सँगालेका छन् । उनले पछिल्ला दिनमा मुस्ताङ बसेर कोरला नाका र कालीगण्डकी करिडोर सडकको विषयमा समाचारको माध्यमबाट जोडदार उठान गरे । कास्की पोखरा महानगरपालिका कालिकामा जन्मेका उनी पछिल्लो पटक कान्तिपुरमा उपसम्पादक पदमा कार्यरत थिए भने फिचरलेखनमा रुचि राख्ने उनी घटना र विचार साप्ताहिकसँग समेत विशेष जिम्मेवारीका साथ आवद्धता जनाइसकेका सञ्चारकर्मी हुन् । उनले घटना र विचारमा लेख्दै आएको सोझो कुरा स्तम्भ चर्चामा छ । प्रजातन्त्रका लागि पत्रकारितामार्फत सशक्त आवाज बन्दै आएका पत्रकार त्रिपाठीलाई सौर्य दैनिकको सम्पादकको जिम्मेवारी हासिल भएकोमा घटना र विचार परिवार सफलताको शुभकामना ब्यक्त गर्दछ ।